खोलो नै नभएका ठाउँमा पुल हाल्नेदेखि हेलिकोप्टरबाटै सिँचाइ गर्नेसम्मका फन्टुस आश्वासन

खोलो नै नभएका ठाउँमा पुल हाल्नेदेखि हेलिकोप्टरबाटै सिँचाइ गर्नेसम्मका फन्टुस आश्वासन

अनुरोध शर्मा  |  दृष्टिकोण  |  बैशाख २२, २०७९

देश चुनावमय बनेको छ । नयाँ संविधान जारी भएपछिको दोस्रो स्थानीय निर्वाचनले आमजनमा छुट्टै उत्साह जगाएको छ । गाउँ-टोल जताततै निर्वाचनका प्रत्यासी लावा-लस्कर समर्थकसहित चुनाव प्रचारमा, घरदैलोमा व्यस्त छन् ।

एक प्रकारले हेर्दा चुनाव साँच्चै उत्सव बनेर आएको छ । आमजन उत्सवलाई महोत्सव बनाउने तयारीमा छ । यो नै लोकतन्त्रको खास सुन्दरता हो । स्वस्थ प्रतिस्पर्धा र स्वच्छ, निष्पक्ष अनि भयरहित निर्वाचनबाट चुनिएर आएका प्रतिनिधिले शासन गर्ने उत्तम प्रणाली हो लोकतन्त्र ।

हामीकहाँ यही अभ्यास भइरहेको छ । यसकै लागि संविधानले व्यवस्था गरेअनुसार ३ वटा तह, स्थानीय, प्रदेश र संघका दोस्रो अवधिका लागि निर्वाचन हुँदै छन् । पहिला स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदै छ ।

आवधिक निर्वाचन उत्तम प्रक्रिया त हुँदै हो लोकतान्त्रिक नेतृत्व छनोटका लागि, विश्वासिलो र भरपर्दो पद्धतिसमेत हो । तर, यसका विकृत पक्ष पनि उत्तिकै छन्, जसले गर्दा समग्र लोकतान्त्रिक पद्धतिमाथि नै अनेक प्रश्न पनि उठ्ने गरेका छन् ।

खासगरी निष्पक्षता, स्वच्छता र अहिंसा निर्वाचनमा देखिने सबैभन्दा सवालयोग्य कुरा हुन् । यदि यी कमजोरीहरूलाई सच्याएर निर्वाचन गराउन सकिएमा भने साँच्चै लोकतन्त्रको मर्म र मान्उता स्थापित हुन सक्छ । तर, विश्वभर जहाँ पनि यिनै ३ वटा कुराले लोकतन्त्रको सौन्दर्यमा दाग पनि लगाइरहेका छन् ।

हामीकहाँ पनि विगत ७० वर्षयता पटकपटक लोकतन्त्रको अभ्यास नभएको होइन । तर, लोकतन्त्रभित्र नै लोकतान्त्रिक मर्म, मूल्य र मान्यताको सही प्रयोग र अभ्यास नहुनाले लोकतन्त्रमाथि नै पटकपटक आक्रमण पनि भइरहेकै छ ।

जे जसो भए तापनि लोकतन्त्रको विकल्प लोकतन्त्र नै मानिँदै आएको छ आजसम्म विश्व राजनीतिमा । यही लोकतन्त्रलाई कसरी अझ उन्नत र प्रभावकारी अनि विश्वसनीय बनाउने भन्ने सवाल मात्र छ । यही सवालको जबाफ दिन अब जिम्मेवार राजनीतिक दल र तिनका नेता तयार हुनुपर्ने बेला आएको छ ।

हुनत समाजको बनोट, समुदाय र त्यहाँका मतदाता (नागरिक)को सामाजिक, शैक्षिक र राजनीतिक चेतनाको स्तरले यस्ता कुरामा असर गर्छ । तर, पद्धतिका कुरा गर्दा अथवा प्रणालीको सुदृढीकरण र व्यवस्थापनको विषयमा चर्चा गर्दा, समाजको यो सबै खालको अवस्था र सामाजिक मनोविज्ञानसमेतलाई ध्यान दिएर समाजका अगुवा ठानिएका राजनीतिक-सामाजिक नेतृत्वले काम गर्नुपर्छ । सोहीअनुसारका योजना बनाई कार्यान्वयन गर्नुपर्छ ।

आखिर यिनको उद्देश्य नै सामाजिक हित, देशको विकास र जनताको सर्वोपरि सुख र समृद्धि हुनुपर्छ भने यस्ता सवाललाई निमिट्यान्न पार्न नेतृत्वकै जिम्मेवारी र भूमिका हुनुपर्छ, हुन्छ ।

सन्दर्भमा यति कुरा गरेपछि अब चुनाव र आश्वासनका विषयमा छिरौँ ।

चुनाव प्रतिस्पर्धात्मक खेल हो । यहाँ हार्ने र जित्ने हुन्छन् । यो प्रतिस्पर्धात्मक खेल भए पनि कुस्ती वा कराते जस्तो भने होइन । भन्न त ‘राजनीतिमा बुद्धि र बलको समान प्रयोग गर्नुपर्छ’ भनिन्छ । यसो भन्नुको आशय राजनीति माङ्ग्रेमुङ्ग्रे जातको खेल पनि हो है भनिएको होला ।

र, हामीकहाँ वर्षौंदेखिको राजनीतिक अभ्यासले पनि राजनीतिमा बुद्धिसँगै बलको पनि व्यापक दुरूपयोग भएको पाइन्छ । बलको दुरूपयोग त्यहाँ हुन्छ, जहाँ बुद्धिले ‘काम गर्दैन ।’ यसो भन्नुको अर्थ हो- कमजोर शैक्षिक अवस्था, सामाजिक-राजनीतिक चेतनाको स्तर कमजोर भएका समाजमा बुद्धिका ठाउँमा बल वा धाक-धम्कीको प्रयोग हुने गर्छ ।

यस्तो धाक-धम्की वा बलको दुरूपयोगले जन्माउने शासक वा नेतृत्व भनेको फटाहा, जाली, तस्कर, गुण्डा मात्र हो । असल नेता असल मतदाताले मात्र जन्माउन सक्छन् । असल नेतृत्व असल कार्यकर्ताको विवेकका उपज हुन् भने खराब नेतृत्व खराब कार्यकर्ताका उपज हुन् ।

यस कारण पनि मतदाता/कार्यकर्ता विवेकी हुन जरुरी छ । कुनै अमूक व्यक्तिको धाक-धम्की, गलत आश्वासन, झूठा कुरा र बेइमानीका पछि लाग्नु वा त्यस्तालाई मत दिएर विजयी बनाउनुको दुष्परिणाम तुरुन्त भोग्नुपर्छ आमजनले ।

सीमित व्यक्तिका स्वार्थ सिद्धिका लागि आमजन प्रयोग हुने प्रचलन पनि हामीकहाँ प्रशस्तै छ । विगतका निर्वाचनहरूमा सोझा सिधा मतदातालाई केही नगद, रक्सी, मासु, लुगा, कपडा आदिको प्रलोभनमा पारेर मत लिने गरिन्थ्यो । आज पनि केही यस्ता पिछडा, विपन्न, निरक्षर र गरिब बस्ती र समुदायमा यस किसिमका हथकण्डा अपनाइँदै आएको पाइन्छ ।

यस्ता बस्ती र समुदायमा गएर तर्साउने, धम्क्याउने, अनेक किसिमका डर र त्रासमा पार्ने वा नचाहिँदा र पूरा गर्नै नसक्ने आश्वासन दिने अनि मत लिने काम जारी छ । यस्तो विकृत र बेइमानीपूर्ण अभ्यासबाट अब राजनीतिलाई मुक्त गर्न आवश्यक छ ।

यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकै सन्दर्भमा पनि यस्तो भइरहेको समाचार बाहिर आइरहेका छन् । केही राजनीतिक दलका र उम्मेदवारका घोषणापत्र हेर्दा पनि यी कुरा पाइन्छ । विगतमा उनीहरूले नै गरेका सामान्य बाचासमेत ५ वर्षमा पूरा नगरिरहेका बेला तीभन्दा असंभव सपना देखाएर मतदातालाई भुलभुलैयामा पार्ने यिनको नियत देखिन्छ ।

खोलो नै नभएका ठाउँमा पुल हाल्नेदेखि हेलिकोप्टरबाटै बिउ रोप्ने र सिँचाइ गर्नेसम्मका आश्वासनसमेत कति हास्यास्पद र फन्टुस छन् ? यस्ता बकम्फुसे कुराका पछि पनि लागिरहेकै छन् सर्वसाधारण । मानौँ कि नेता भनेको भगवान् हो, जसले सोचेको सबै कुरा फु मन्तर गरेर पूरा गरिदिन्छ । यस्तो भ्रममा जबसम्म सर्वसाधारण मतदाता परिरहन्छ, तबसम्म न नेतृत्व सुध्रिन्छ, न समाज विकास हुन्छ वा न त आमजनकै भविष्य उज्ज्वल र समृद्ध बन्छ ।

यसर्थ, हरेक निर्वाचनका समयमा यस्ता सबै पक्षबाट राम्ररी केलाएर मात्र मतदान गर्न र असल, इमान्दार अनि विवेकशील नेतृत्व चयन गर्न आवश्यक हुन्छ ।