लोकसभा चुनावबारे ज्योतिषीको भविष्यवाणी : आउन सक्छ अप्रत्यासित नतिजा

लोकसभा चुनावबारे ज्योतिषीको भविष्यवाणी : आउन सक्छ अप्रत्यासित नतिजा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७६

काठमाडौं । गत आइतबार सम्पन्न लोकसभा चुनाव २०१९ को मतपरिणाम मे २३ मा सार्वजनिक हुँदैछ । तर, त्यसअघि नै चुनावी मतपरिणामबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । भारतका अधिकांश टेलिभिजन च्यानलले गरेको मत–सर्वेक्षण प्रक्षेपणमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याउने देखाएको छ ।

चुनावी मत परिणामबारे ज्योतिषीका धारणा पनि फरक-फरक छन् । केहीले मोदी फेरि सत्तामा पुग्ने भविष्यवाणी गरिरहेका छन् भने केहीले नपुग्ने दाबी गरिरहेका छन् ।

के प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक सत्ताको बागडोर सम्हाल्लान् त ?

ज्योतिषविद् पण्डित राजेश तिवारीका अनुसार यसका लागि अहिलेको ग्रहको स्थिति तथा मोदीको जन्म कुण्डली र गोचरको विचार गर्नुपर्छ । उनका अनुसार जन्म कुण्डली अनुसार मोदीको जन्म लग्न र राशि वृश्चिक हो । अहिले राशि र लग्नको स्वामी मंगल लग्नमा भाग्येश चन्द्रमासँग बसेको छ, यसले केन्द्र-त्रिकोणको युति बनाउनुसँगै शशि मंगला नामक राजयोग सृजना गरेको छ । यही राजयोगकै कारण मोदीले अहिलेसम्मको सफलता पाएका हुन् । तर, उनले अहिलेको पूरै चुनाव अवधिमा चन्द्रमामा केतुको अन्तर्दशा भोग गर्दैछन् । अर्थात्, उनले फेबु्रअरी २८ देखि चुनावसम्म पाप समय भोग गरिरहेका छन् ।

चन्द्रमामा केतुको यो दशाका कारण नकारात्मक परिणाम आउनेछ । किनकि पूरै चुनाव अवधिभर केतुले राशिबाट द्वितीयमा भोग गर्नेछ, यसले मोदीमा डर पैदा गराउनेछ । मोदीको यो नकारात्मक दशा उनलाई विशिष्ट स्थान दिलाउनमा बाधक बन्नेछ । यस्तै, उनलाई संगठनात्मक रूपमा पनि दुर्बल बनाउनेछ ।

तर, पण्डित कृष्ण गोपाल मिश्रले फेरि मोदी सत्तामा आउने भविष्यवाणी गरेका छन् । उनका अनुसार भाजपाले लोकसभा चुनाव प्रधानमन्त्री मोदीलाई केन्द्रमा राखेर लडेको हो । यस्तोमा मोदीको जन्म कुण्डलीका अनुसार अप्रिल २३, मे ६ र १९ मा भएका चुनावमा भाजपाको पक्षमा अनुकूल परिणाम देखिँदैन । तर, बाँकी चार चरणमा भएका चुनावमा भाजपा भारी मतले धेरै सिटमा विजयी हुनेछ । मोदीको जन्मकुण्डलीका अनुसार चार चरणको दैनिक चक्र मोदीको कारक ग्रहको अनुकूल छन् । त्यसकारण मोदी पूर्ण बहुमतको सरकार बनाउन सफल हुनेछन् ।

के देखाउँछ भाजपाको कुण्डली ?

ज्योतिष विधाबारे करिव १२ वर्षदेखि शोध गरिरहेका आचार्य राजीव नारायण वर्माका अनुसार वर्तमान समयमा सत्तारुढ दल भाजपा (१९८०–४–६) को कुण्डली मिथुन लग्न तथा ज्येष्ठा नक्षत्रको हो । चुनावको सययमा यिनको दशा चन्द्र/मंगल/गुरु–शनिको हुनेछ । महादशाका स्वामी चन्द्र केमदु्रम योग तथा नीचको राशि संकटको छैठौं भावमा थियो, वक्री मंगल शनि तथा राहु–केतुबाट पीडित तेस्रो भावमा थियो । यसले कुनै पनि बलियो राजयोगको संकेत दिँदैन ।

आचार्य शर्माका अनुसार भाजपाले सूर्यको दशाकाल (२०१२–४–५ देखि २०१८–४–५) मा ठूलो सफलता पाएको थियो । सो समयमा भाजपा २१ राज्यमा सत्तासीन थियो । तर, १० वर्ष चल्ने चन्द्र दशा २०१८–४–६ मा सुरु भएपछि सबै राज्यका विधानसभा चुनावमा पराजय भोग्नुपर्यो । यसकारण भाजपाको पक्षमा नतिजा आउने नसक्ने उनको भनाइ छ ।

कांग्रेसको कुण्डलीमा के छ ?

आचार्य शर्माका अनुसार भारतको दोस्रो प्रमुख पार्टी कांग्रेस (आई) (१९७८–१–२) को कुण्डली मीन लग्न तथा हस्ता नक्षत्रको हो । अहिले यो पार्टीको दशा गुरु/शुक्रको चलिरहेको छ, जो चतुर्थ (सिंहासन) तथा दसम (शक्तिशाली) भावमा छ । २०१८ अक्टुबरदेखि गुरु वृश्चिक राशिमा छन्, यो कांग्रेसको भाग्य स्थान हो । यसपछि कांग्रेसको राजयोग सुरु भयो । अतः काल गणनाका अनुसार कांग्रेस पछिल्लो चुनावको तुलनामा अप्रत्याशित रूपले सफलता पाउन सक्छ ।

यसबारे कुन ज्योतिषीको भविष्यवाणी सही हुन्छ, त्यो भोलि साँझसम्म स्पष्ट हुनेछ ।

- अमर उजालाको सहयोगमा