जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य

जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २३, २०७९

एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बे ‘ए’लाई नेपालले १३७ रनको सामान्य  लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्‍याे ।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले २ चौका र १ छक्का प्रहार गरे । 

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

गत साता शनिबार नै नेपाल र जिम्बाब्वेबीचको ३ एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर, लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । 

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला ३ टी- २० शृंखला आयोजना गरेको थियो ।

३ टी- २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिकाअनुसार शुक्रबारदेखि ३ एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।