पाथीभरा : धार्मिक महिमा, आकर्षक भौगोलिक आकृति र प्राकृतिक सौन्दर्यको अनुपम त्रिवेणी
बैशाख २३, २०७९

कोरोना माहामारीले आक्रान्त पारेर कोमामा गएको घुमफिर गर्ने रहर बौरिएर आएपछि नयाँ वर्ष २०७९ को पहिलो दिन पारिवारिक यात्राको योजना बन्यो । आ-आफ्नो पेसा तथा अध्ययनमा व्यस्त हुनुपर्ने हुँदा परिवारका चारै जनाको एकैचोटि समय निकाल्न सजिलो थिएन । तथापि, विघ्नबाधालाई पर्गेल्दै पाथीभरा यात्राको आरम्भ भयो ।

गाडी आइपुगेपछि सहयात्री जोडी रामेश्वर र चण्डिका तथा ड्राइभर समीरसँग चिनापर्ची गरेर बिहान ६:५० बजे स्युचाटार शालिक चोकबाट प्रस्थान गरियो ।

बिहान सबेरैको यात्रा भएकाले हामीलाई ग्वार्को, कोटेश्वर, जगाती तथा साँगामा हुने जामले दुःख दिएन । पौने घण्टामै साँगा भन्ज्याङ काट्न पाउँदा सबै जना दंग भयौँ ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय जाने बाटोमा पुगेपछि एक जना इलामका साथीको सम्झना आयो । खासमा उहाँलाई इलाम पुगेपछि फोन गर्ने सोचाइ राखेको थिएँ । पाथीभराबारे जानकारी प्राप्त हुन सक्ने अभिप्रायले त्यतिबेलासम्म पर्खिने धैर्य राख्न सकिएन र फोन गरेँ ।  

‘पाथीभरा त गएको छु तर इलामको सानो पाथिभरा मात्र’, मेरो जिज्ञासा मेटाउने आशयसहित प्रा.डा. बालचन्द्र लुइँटेलले भन्नुभयो । नयाँ वर्षको शुभकामना साटासाटसहित एकछिन रमाइलो कुराकानी भयो ।  
आकाशमा बादल मडारिएको थियो । हावा पनि अलिक बेग्लै किसिमले चलिरहेको थियो । पानी पनि पर्न थाल्यो । कथाले तातो पदार्थको माग गरेपछि हामीले धुलिखेलमा चिया ब्रेक लियौँ । चियाको चुस्कीले निकै स्फुर्ती दिएको जस्तो अनुभूति भयो ।  

काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित मंगलटार पुगेपछि मैले मेरा साथीहरू डा. कमल फुयाँल र महन्तबाबु महर्जनलाई सम्झेँ । उहाँहरू आफू पनि बारम्बार मंगलटार धाइरहनुहुन्छ र मलाई पनि ‘मंगलटार जाने हो ?’, भनेर सोध्ने गर्नुहुन्छ ।

कमलजीले फोनमा ‘आफू पाथीभरा नगएको तर छिट्टै जाने योजना भएको’ बताउनुभयो ।

अढाइ घण्टामा हामी सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकास्थित नेपालथोक पुग्यौँ । एउटा साइनबोर्डमा ‘नेपालथोक, दुम्जा’ लेखिएको देखेपछि मेरो दिमागमा झिलिक्क भयो । मैले सम्झेँ शिक्षा तथा समाजसेवी कृष्णप्रसाद कोइराला र उहाँका प्रधानमन्त्री भएका ३ भाइ छोराहरूलाई ।

साथै, ३३ वर्षदेखि चिनापर्ची भएका सुप्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालालाई पनि किनकि उहाँहरूको पुख्र्यौली थलो हो दुम्जा । विद्यासरलाई फोन गरेर भनेँ, ‘दुम्जाको माटोमा टेकेपछि सरको अत्यन्तै सम्झना आएकाले फोन गरेको हुँ । नववर्ष २०७९ को हार्दिक शुभकामना !’

‘दुम्जा गाउँमै पुग्नुभएको हो र ?’, उहाँको यस्तो प्रश्नको उत्तरमा मैले भनेँ, ‘हामी सपरिवार पाथीभरा जान लागेको, नेपालथोकमा पुग्दा एउटा साइनबोर्डमा ‘दुम्जा’ पनि लेखिएको देखेर फोन नगरी बस्न सकिनँ ।’

उहाँले एकदम खुसी हुँदै भन्नुभयो, ‘तपाईंको सपरिवारलाई नयाँ वर्षको शुभकामना ! म त धनकुटाको सानो पाथीभरा मात्र गएको छु । पाथीभरा देवीलाई मेरो पनि नमस्कार भनिदिनुहोला । तपाईंको यात्रा संस्मरण पढ्ने गरेको छु । पाथीभराको पनि लेख्नुहोला । म पढ़नेछु ।’

मेरो नियात्रा प्रतिको उहाँको रुचिले मलाई औधी नै हौसला प्रदान गर्‍यो ।  

मूलकोटबाट नागबेली सडक उक्लिँदै हामी ऐना डाँडामा पुग्यौँ । २ वर्षअघि हलेसी जाँदा यति धेरै ऐनाहरू थिएनन् । अहिले त व्यापक ढंगले बिस्तार भएर भित्तैभरि ऐनाले ढाकिएको रहेछ । सेतीदेवीमाई मन्दिर नजिकै एक हुल केटीहरू सामूहिक टिकटक बनाउनमा व्यस्त देखिन्थे ।  

सिन्धुलीगढीको उकालो चढिरहँदा जहिले पनि सानैदेखि सुनेको एउटा कालजयी गीतको स्मरण हुने गर्छ, ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमै कति पो राम्रो दरबार ...।’ सिन्धुलीबासी यसका गीतकार, सङ्गीतकार तथा गायक स्वर्गीय कृष्णविक्रम थापाप्रति मनमनै श्रद्धासुमन व्यक्त गरे ।   

सुन्दर तथा ऐतिहासिक ठाउँले गीत जन्माइदिने रहेछ भने गीतले ठाउँलाई पनि चर्चित बनाइदिने रहेछ । ‘जोमसोमै बजारमा १२ बजे हावा सरर’, ‘माझी दाइ पोखरा फेवातालको’, ‘सुर्खेत बुलबुल ताल’, ‘इलामे शहर चियाबारी राम्रो’, ‘बन्दीपुरैमा’, ‘गोरखा मनकामना’, ‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफे’, ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको’, ‘धनकुटा हिले दिल-चित्त मिले’, ‘दिक्तेल बजार’, ‘बेनीको बजार’, ‘धादिङ गजुरी’, ‘गौरादहको बजारैमा’ आदि यसका दृष्टान्त हुन् ।        

सिन्धुलीगढीको फेदीदेखि चुरे पर्वतसम्म फैलिएको भित्री मधेसको सिन्धुलीमाढी हुँदै कमलामाई नदीको पुल पार गर्दै हाम्रो यात्रा अगाडि बढ्यो ।

आफू अस्ट्रेलियाली दूतावासमा कार्यरत रहँदा भूकम्पपश्चात अस्ट्रेलियाली सरकारको सहयोगमा निर्माण भइरहेका सिन्धुलीका केही विद्यालयहरूको अवलोकन गरी साझेदार संस्था प्लान इन्टरनेसनलको सिन्धुलीस्थित कार्यालयमा रोचक छलफल गरेको कुरा सहयात्रीहरूलाई सुनाएँ ।

सवा १२ बजे हामी भिमान खोला पुलमा पुग्यौँ । महोत्तरीको बर्दिबास हुँदै इटहरी जाने बाटोलाई छाडेर हामी नयाँ रुटबाट अघि बढ्यौँ । भिमानबाट धरानको दूरी १७५ किलोमिटर रहेछ ।

सिन्धुलीकै दुधौली नगरपालिका प्रवेश गरेपछि मैले मेरो विद्यार्थी जीवनका साथी तथा राजनीतिज्ञ गंगाप्रसाद नेपाललाई फोन गरेँ । दुधौली निवासी गंगाजी धेरै नै खुसी हुनुभयो ।  

कटारी बजार नजिकैबाट छाउरीखोला तथा डाङडुङखोला पुल हुँदै नेपालटार पुगियो । त्यसपछि चुरे पहाडमा अवस्थित जंगलमा रहेको बाघखोर उक्लेर फेरि तल ओर्लियौँ ।  

दिनको २ बजे उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकाको सुन्दर शहर गाईघाट पुगियो । गाईघाटको शहरी योजना एवं सडकको बीच तथा छेउछेउमा लगाइएका आकर्षक रूखहरूले हरियालीशून्य बनेपा शहरलाई गिज्याइरहेजस्तो लाग्यो ।     

कीर्तिपुरमा सँगै पढ्दाका साथी तथा राजनीतिज्ञ जगन्नाथ खतिवडा र पेसागत साथी छिङलमु शेर्पालाई पनि फोन गरेँ । उहाँहरूको गृहजिल्लामा पुगेर सम्झेकोमा दुवै जना अघोरै खुसी हुनुभयो । बिहानै फोन गरेको भए उदयपुरबाट काठमाडौं जाँदै गर्नुभएका जगन्नाथजीसँग बाटैमा भेट हुने रहेछ ।  

काठमाडौंबाट हिँडेको सवा ८ घण्टापश्चात् हामी सप्तकोसी पुलमा पुग्यौँ । २६१ मिटर लम्बाइ भएको यस पुलले उदयपुर जिल्लाको बेलका नगरपालिका र सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकालाई जोड्ने रहेछ ।  

अनगिन्ती स-साना खोलाहरूमा पक्की पुल बन्दै गरेकाले डाइभर्सन हुँदै यात्रा गर्दा अलिक अलमल भएजस्तो लाग्ने भए तापनि एकदम राम्रोसँग कालोपत्रे गरिएको सडक भएकाले यस रुटबाट यात्रा गर्दा एकदमै मज्जा आयो । गाडीको भिडभाड पनि कम रहेछ । कोसी नदीको तीरमा मोटर बोट देख्दा त्यसमा बोटिङ गर्ने क्षण कहिले आउला ? भन्ने लागिरह्यो मनमा ।  

कोसीको पुलमा फोटो खिच्ने, सेल्फी खिच्ने तथा टिकटक बनाउनेहरूको हुल थियो । हामीले कोसी तरेर चतराको कटुवाल होटलमा एक बोतल जम्बो ड्यु र चिया खायौँ ।  

ठ्याक्कै ४ बजे इटहरी पुगेपछि पूर्वपरिचित सहृदयी मनहरूलाई फोनमार्फत सम्झिन मन लाग्यो । भोजपुरमा जन्मेर हाल विराटनगरमै स्थायी बसोबास गर्नुहुने कालभान राईले एक वर्षअघिको आफ्नो भ्रमण स्मरण गर्दै पाथीभराको उकालो चढ्नका लागि केही रोचक टिप्स दिनुभयो ।   

४ दशकअघिदेखिका धरान घर हुने साथी अर्थात् गायक ओम श्रेष्ठले फोनमा भन्नुभयो, ‘म त कहिल्यै पाथीभरा गएको छैन । मेरो पनि दर्शन भन्दिनुहोला ।’

गाडी एकतमासले गुडिरहेको थियो । यात्रुहरू पनि थाकेजस्ता देखिन्थे । इटहरीबाट हिँडेको केही घण्टापछि एउटा शहर देखापर्‍यो । अनुष्माले सोधिन्, ‘बिर्तामोड आइपुगेको हो कि !’

मैले तत्काल एउटा घरमा भएको साइनबोर्ड हेरेर भनेँ, ‘हैन, यो त मोरङ जिल्लाको उर्लाबारी हो । प्लान इन्टरनेसल राष्ट्रिय कार्यालयमा कार्यरत रहँदा म यहाँ पटकपटक आएको छु- शिक्षा कार्यक्रम अवलोकन गर्नका लागि ।’

मोबाइलमा बिहान २ बजेको अलार्म सेट गरेर ११ बजे सुत्ने कोसिस गरियो- खुट्टा तथा शरीरमा दर्द कम गर्नका लागि स्प्रे गरेर । १२ बजेसम्म बाहिरबाट होटलमा मान्छे आइरहेका थिए । १ बजेपछि यात्रुहरू पाथीभरा जान निस्किन लागेका सजिलै लख काटियो, किनकि एक तलामाथि काठको फलेक छापेको भुइँमा मान्छे हिँड्दा भुइँचालो आएजस्तो हुन्थ्यो

झापा जिल्ला प्रवेश गरेपछि मेरा झापाली मित्र ओमप्रकाश उप्रेतीलाई फोनमा सम्पर्क गरेँ । उहाँले ललितपुरबाट नै आफ्नो पुख्र्यौली थातथलो झापामा स्वागत गर्नुभयो । परिवारका अधिकांश सदस्यहरू पाथीभरा पुगिसकेका भए पनि उहाँचाहिँ अझसम्म जान भ्याउनुभएको रहेनछ ।  

साँझ ६.०८ बजे झापाको चारआलीबाट उँभो लाग्न थाल्दा अजालियाले सोधिन्, ‘हामी ३ वर्षअघि सिक्किम र दार्जिलिङ जाँदा यहीँबाट पूर्वतिर गएका हौँ नि, हैन र ?’

‘यही बाटो गएर काँकडभिट्टामा बसेको त हो नि !’, इन्दिराले सही थापिन् ।  

चारआलीबाट इलाम ७५ किलोमिटर र ताप्लेजुङ २२८ किलोमिटरको दूरीमा रहेको तथ्यबारे जानकारी सडकमा रहेको बोर्डबाट पाइयो ।

इलाम जिल्ला प्रवेश गरेपछि अँध्यारो हुँदै गएकाले बाहिरको दृश्य देख्न सकिएन । ७:३० बजे हामीले इलाम जिल्लाको सूर्योदय नगरपालिका स्थित कन्यामको शेर्पा होटलमा विश्राम लियौँ ।

दोस्रो दिन चियाबारीमा नै गएर चिया पिउँदै फोटो सेसन गर्दै सुरु गरियो । होटलका भाइले भन्नुभयो, ‘तपाईंहरू भाग्यमानी हुनुहुँदो रहेछ । केही दिनअघिदेखि मौसम बिग्रेको थियो तर आज बिहानैदेखि घाम लागेर राम्रो भयो ।’

ब्रेकफास्ट गरेर हामी अगाडि बढ्यौँ । म कन्याम नपुगेको १२ वर्ष नाघिसकेछ । ‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भनेझैँ कन्याममा धेरै परिवर्तन आइसकेको महसुस भयो ।  

सडकमा छेउछाउमा ‘कन्याम’ लेखिएका फोटो सेसन गर्ने ठाउँहरू, कन्यामको शिखरमा जाने रेलिङसहितको सिँढीको बाटो, डाँडाको थाप्लोमा फहराइरहेको विशाल नेपाली झण्डा, घोडचढीको व्यवस्था, सडक पेटीमा अनगिन्ती स-साना पसलहरू, नेपाली संस्कृति झल्काउने पोसाक लगाएर फोटो खिच्न पाइने प्रबन्ध आदिले गर्दा गज्जबको आकर्षण थपिएको रहेछ कन्याममा ।    

चिया बगानको मनोरम सौन्दर्यबीच डाँडाको शिखरमा स्वाभिमान र पहिचानको सन्देशसहित सगौरव फहराइरहेको झण्डामुनि उभिएर चारैतिर हेर्दा मेरा आँखाहरूले दिमागलाई अनुरोध गरीरहेका थिए- ‘हृदयको पानामा नेपालका प्रलय नै मनपर्ने ठाउँहरूको सूचीमा कन्यामलाई पनि समावेश गर ।’

बिहान ९ बजे कन्यामबाट प्रस्थान गरेपछि फिक्कल हुँदै माईखोला पुल तरेर डेढ घण्टापछि जिल्लाको सदरमुकाम इलाम शहरमा पुगियो । पेट्रोल पम्पमा फुल ट्याङ्की डिजेल धोकेपछि हाम्रो स्कर्पियोले निकै स्फूर्ती झिक्यो र एकैछिनमा ५ किलोमिटर पर रहेको बिब्ल्याँटे बजार पुर्‍याइदियो ।   

त्यहाँ पुगेपछि मलाई सन् २०१० मा अमेरिकाको वासिंगटन डीसीस्थित ब्रुकिंग्स इन्स्टिच्युसन र युनिसेफका तर्फबाट प्रारम्भिक बालविकास स्केलिंग अप स्टडीको क्रममा व्यापारिक केन्द्र बिब्ल्याँटे नजिकै साविक बरबोटे गाविसको मेहेलबोटे बालविकास केन्द्रमा अनुसन्धानका लागि गएको याद भयो ।  

मलाई अग्रज नियात्राकार डा. तारानाथ शर्माको पनि सम्झना आयो किनकि उहाँको जन्मथलो हो बरबोटे । उहाँकै यात्रा निबन्ध ‘घनाघस्याको उकालो’ फेरि पढेर नै मैले नियात्रा लेख्न थालेकाले आफ्ना गुरुप्रति मनमनै श्रद्धासुमन व्यक्त गरेँ ।    

त्यसपछि फनक्क घुमेको पुवाखोला बजार, नेपालटार, भालुपानी बजार, बाघखोर बजार, भदौरे हुँदै अगाडि बढ्दा सडकको आसपासमा चिया बगान, अम्रिसो र अलैँचीका झ्याङहरू देखिए । मैले इलाम ६ ‘अ’- अलैँची, अम्रिसो, आलु, अदुवा, ओलन (दूध) र अंगोरा (खरायो)का लागि प्रख्यात भएको कुरा सुनाएँ ।  

पौने १२ बजे इलामकै राँके पुग्यौँ । भित्ता खनेर बनाइएको ४ तले होटल चमुमा स्वादिलो खाना खान पाइयो । त्यसपछि ३ मिनेटमै पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाले हामीलाई स्वागत गर्‍यो । वडा- ४ राँकेमा रहेको सुरक्षा जाँच पोस्टमा एकछिन रोकिएर गाडी अगाडि बढ्यो । राँके त २ जिल्लामा पो पर्ने रहेछ !

गज्जब राम्रो पिच सडकमा हुइँकिइरहेको गाडीमा गीत बजेको थिएन । रामेश्वरजीले गीत बजाउन खोज्नुभयो तर बज्न सकेन । ‘अगाडी बस्ने मान्छेले त्यति मिलाउन पनि नजान्ने ?’ भनेर चण्डिकाजीले हल्का व्यंग्य पस्किनुभयो ।  

उखान-टुक्का जोड्न सिपालु रामेश्वरजीले भन्नुभयो, ‘जसको बाँदर, उसैले नचाउँछ ।’ समीरले हल्का मिलाएपछि गीत बज्यो, ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो ।’

‘आहा, बल्ल हाम्रो पालाको गीत बज्यो !’, रामेश्वरजीको प्रतिक्रिया थियो त्यो ।

आकाश सफा भएकाले डाँडाको सडकबाट तलतिर हेर्दा अत्यन्तै मज्जा आइरहेको थियो । झन् पौवा भन्ज्याङ पुगेपछि त ८ हजार २०० फिटको उचाइबाट पूर्व र पश्चिम दुवैतिरको सुन्दर प्राकृतिक दृश्य देखिने हुँदा खुसियालीले पराकाष्ठा नाघेको थियो ।

धार्मिक महिमा, आकर्षक भौगोलिक बनोट तथा मनोहर प्राकृतिक दृश्यको त्रिवेणीको रूपमा रहेको पाथीभरा जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ रहेछ । परिवारका चारै जना सँगै गएर अतुलनीय आनन्दानुभूति महसुस गर्न पाएकामा उल्कै खुसी लाग्यो ।

सवा १ बजे गाडीको झ्यालबाट झ्याप्पै आँखा पर्‍यो- दुइटा डाँडाको बीचमा रहेको गहिरो भूभागमा कचौरा जस्तो देखिने आकर्षक फिदिम बजारमा । ‘आँखा जुध्यो, दिल मिल्यो’ भन्ने उखानझैँ पहिलो नजरमै बिछट्टै मनपर्‍यो फिदिम । २०४५ सालमा रारा ताल छेउको ताल्चे एयरपोर्ट बनाउँदै गरेको ठाउँबाट तलतिर मुगुको गमगढी बजार पहिलो पटक देख्दा यस्तै अनुभूति भएको थियो मलाई ।  

फिदिम बजार छेउमा भएको बाँसका ठूलाठूला झाङ भएको ठाउँबाट आगाडि बढ्यौँ । आफ्नै बारीमा बाँसको झाङ भए तापनि मैले यति ठूलाठूला बाँसका झाङहरू यसअघि देखेकै थिइनँ ।   

दिउँसो २ बजे हेवाखोला पुल तरेपछि फेरि उकालो सुरु भयो । त्यसपछि चतुरे बजार, जोरपोखरी, गोपेटार हुँदै भालुचोक बजार प्रवेश गरियो ।  
पाँचथरको हिलिहाङ गाउँपालिको सिंहपुर बजार पनि बाटैमा रहेछ । कावेली बजारबाट ओरालो झरेर कावेली खोलाको पुलमा पुग्दा साढे ३ बजेको थियो । पुल तरेपछि ताप्लेजुङ जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका सुरु हुने रहेछ ।  

ताप्लेजुङ पुग्न २२ किलोमिटर मात्र बाँकी रहेको जानकारी पाउँदा रमाइलो लाग्यो । उकालोबाट गाडी उत्तर-पश्चिमतिर अघि बढिरहेको थियो । फिदिमबाट उत्तर-पूर्वी दिशातिर आगाडि बढ्छ होला भन्ने मेरो अनुमानले फेल खायो ।  

अपराह्न ४ बज्न लाग्दा फुङलिङ नगरपालिकाले पनि स्वागत गरेपछि अब नजिकै पुग्न लागिएछ भनेर सबै जना खुसी हुनु स्वाभाविकै थियो । साढे ४ बजे फुङलिङ बजारमा रहेको ‘ताप्लेजुङ जिल्लामा स्वागत’ लेखिएको अग्लो प्रवेशद्वारबाट हामी भित्र पस्यौँ ।  

बाहिरबाट आएका गाडीहरू सुकेटारभन्दा माथि जान नसक्ने रहेछन् । फुङलिङ बजारको पाथीभरा होटलमा स्कर्पियोलाई छाडेर २ घण्टाभन्दा बढी अर्को गाडी पर्खिनुपर्ने अवस्थाले अलिक दिक्दारी थपिदियो ।  

झन्डै ६ हजार फिटको उचाइमा रहेको फुङलिङबाट ८ किलोमिटर माथि रहेको सुकेटार एयरपोर्ट छेउसम्म एउटा गाडीले छाडिदियो । त्यसपछि फेरि अर्को बोलेरोमा ११ किलोमिटर दूरीमा रहेको तल्लो फेदी (सानो फेदी)तर्फ प्रस्थान गरियो ।  

गाडीमा अन्य ३ जना सिक्किमका तीर्थयात्रीहरू पनि थपिनुभयो । ६५ वर्षकी एउटी हँसिली, रसिली र फरासिली दिदीले आफू सुगर, प्रेसर, थाइराइडको समस्यासहित मुटुको शल्यक्रिया गरेको व्यक्ति भए पनि जीवनमा कुनै गुनासो नगर्ने र हिँड्न गाह्रो भए पनि बर्सेनि पाथिभरा जाने कुरो बताउनुभयो । ‘पाथीभरा माताले तान्ने हुँदा गाह्रो हुँदैन’, उहाँको भनाइ थियो ।

इन्दिराले पनि ३ वर्षअघि सपरिवार नै सिक्किम गएको र १७ वर्षअघिचाहिँ जोडी मात्र गएको कुरा बताइन् । १३ हजार फिटमा रहेको छोंगो ताल वरपर हिउँ खेल्दै चीनको बोर्डरसम्म पुग्दा लेक लागेकाले अप्ठ्यारो भएको अनुभव सुनाइन् । सिक्किमका दिदीहरू ज्यादै नै खुसी हुनुभयो ।    

फुङलिङ बजारदेखि ८ किलोमिटर पिच बाटो गुडेर २१ मिनेटमै सुकेटार पुगेका हामीलाई सुकेटारबाट देउराली, छातेढुंगा हुँदै ८ किलोमिटर लामो अप्ठ्यारो कच्ची सडक पार गरेर भालुगौडे अर्थात् तल्लो फेदी वा सानो फेदी पुग्न १ घण्टा ९ मिनेट लाग्यो ।  

आ-आफ्नो रुकस्याक, झोला र लट्ठी तयार गरेर झमक्कै साँझ परिसकेपछि ८ बजे ठूलो फेदीको गन्तव्यतर्फ अघि बढ्यौँ । काठमाडौंबाट हिँडेको २ दिन भएकाले थाकेर लखतरान पर्नु स्वाभाविकै थियो, तथापि हाम्रो आत्मबल र इच्छाशक्तिले गर्दा कुनै अप्ठ्यारो महसुस गर्नुपरेन ।

बाटोमा ठूलो फेदी जानेहरूको लर्को थियो । टहटह जून लागिरहेको समयमा उकालो चढ्नुको मज्जा छुट्टै थियो । गाडीमा खुट्टा कुँजिएकाले हिँड्दा त झन् सजिलो भएको जस्तो भयो । फलस्वरूप खासै कठिनाइ महसुस गर्नुपरेन ।

सानो फेदीबाट काफ्ले पाटी, बलु डाँडा र गुराँसे डाँडा हुँदै ५ किलोमिटर उकालो बाटो हिँडेर राती ९ः०७ बजे ठूलो फेदीमा अवस्थित न्यु झापाली होटलमा पुगियो ।  

पहिले नै बुक गरेको कोठामा सामान छाडेर खानपिनमा सरिक भयौँ । बुकिङ नगरी आउँदा निकै गाह्रो हुने रहेछ ठूलो फेदीमा कोठा पाउन । थकाइ र भोकले गर्दा एकदम मिठो भयो रात्रि खाना । होटलका संचालक सीता भट्टराई (कार्की) र भीम कार्कीको आतिथ्य राम्रो थियो ।  

मोबाइलमा बिहान २ बजेको अलार्म सेट गरेर ११ बजे सुत्ने कोसिस गरियो- खुट्टा तथा शरीरमा दर्द कम गर्नका लागि स्प्रे गरेर । १२ बजेसम्म बाहिरबाट होटलमा मान्छे आइरहेका थिए । १ बजेपछि यात्रुहरू पाथीभरा जान निस्किन लागेका सजिलै लख काटियो, किनकि एक तलामाथि काठको फलेक छापेको भुइँमा मान्छे हिँड्दा भुइँचालो आएजस्तो हुन्थ्यो । आवाज आउने र हल्लिने पनि ।  

त्यसैले ब्युँझिनका लागि अलार्मको आवाज पर्खिने जरुरत नै परेन । २ बजे उठेर बिहानको नित्य कर्म सकेर चियाको खोजीमा बाहिर निस्केँ । अलिक तलको एउटा सानो होटलमा चिया पिउने र भीमकाय डेक्चीमा तताइएको तातो पानी पिउने मान्छेहरूको भिड थियो । कालो चिया ठूलै भाँडोमा पकाइएको भए तापनि गिलासको अभावले पालो पर्खिनुपर्‍यो ।

बिहान २ः३० बजे सिरेटोले हानेर कठ्यांग्रिने आवस्था थियो । एउटा पुन्टे शिशाको गिलासमा कालो चिया समातेर चुस्की लगाउँदा धुनधानको सन्तुष्टि मिल्यो । चियाकै गिलासमा पौडी खेलेर जीउ तताउनु जस्तो पागल विचार पो आयो मनमा ।
 
टोलीका सबै जना तयार भएपछि बिहान ३ बजे समुद्री सतहबाट ३ हजार १९० मिटर अर्थात् १० हजार ४६३ फिटको उचाइमा रहेको ठूलो फेदीबाट हामी उकालो लाग्यौँ । त्यहाँ नेपाल भ्रमण वर्ष, २०२० को अवसरमा पाथीभरा मन्दिरमा संकलित तामालाई पुन प्रयोग गरेर एउटा आकर्षक तामाको प्रवेशद्वार बनाइएको रहेछ । हामीभन्दा अगाडि तीर्थालुहरूको ताँती देखेर छक्कै परियो ।

पूर्णिमाको रात भएकाले चन्द्रमाको उज्यालोले हाम्रो बाटो देखाइरहेको थियो । मसँग त २ वर्षअघि कर्णाली प्रदेशमा रिसर्च गर्दा किनिएको लामो र छोटो गर्न मिल्ने लचकदार विकासे लट्ठी छँदै थियो । टोलीका अन्य सदस्यहरूले पनि फर्के पनि त्यहीँ छाड्ने शर्तमा लौरो लिनुभयो ।

‘तपाईंलाई ट्याक्सी चाहिन्छ ?’, उकालोमा एक जना मझौला कदका भाइले प्रश्न गरे । हामीलाई ट्याक्सी चाहिने अवस्था त थिएन तथापि ‘सडक नै नभएको ठाउँमा कस्तो ट्याक्सी होला ?’ भन्ने कौतूहलले गर्दा सोधपुछ गरेँ । मान्छेलाई कपडाको नाम्लोले बुइमा बोकेर पाथीभरा लैजाने मान्छेलाई नै ट्याक्सी भनिएको रहेछ । जोखेर दर भाउ तोकिने रहेछ- १ किलोको २०० रुपैयाँ ।

अलिक माथि गएपछि मान्छे बोकेका ट्याक्सीहरू पनि देखापरे । मोबाइलमा गीत बजाउँदै संगीतको तालमा उकालो चढ्ने रहेछन् ‘ट्याक्सीहरू’ले । आहा ! कस्तो संयोग ! एउटा मिठो गीत बज्यो, ‘उकाली-ओरालीहरूमा भञ्ज्याङ अनि चौतारीहरूमा जहाँजहाँ जान्छौ तिमी ।’ यो गीतको तालमा हिँड्दा मलाई पनि मज्जा आयो ।

हिँड्दै जाँदा उकालोमा एउटा बोर्डमा सूचना देखापर्‍यो- ठाडो बाटोको दूरी १५० मिटर र तेर्सो बाटोको २७० मिटर । कठिन भए पनि ठाडो र छोटो बाटो नै रोज्यौँ हामीले ।

तीर्थालुहरू दर्शन गरेर फर्किन थालिसकेका थिए । कसैले भन्थे, ‘चिन्ता नगर्नुहोस्, अब आधा घन्टामा पुग्नुहुन्छ ।’

त्यसपछि फेरि कसैले भन्थे, ‘अझै डेढ घन्टा लाग्छ ।’ उनीहरूले आफूलाई लागेको समयको आधारमा भनेका रहेछन् ।

नाक ठोक्किने अर्थात् टोपी खस्ने उकालोमा हिरिक्कै हुनेगरी स्वासप्रस्वास बढिरहेको थियो । घरिघरि डाँडोलाई नै चोइट्याएर लैजाला जस्तो हुरी आइरहेको थियो । हात कठ्यांग्रिएर फोटो खिच्न नसक्ने बनाइदिएको थियो । वैशाख महिना लागिसकेको र हिउँ पग्लिसकेको भए तापनि ज्याकेट, कानेटोपी र पन्जा लैजान बिर्सिन नहुने रहेछ ।

ढुंगा छापेर बनाइएको बाटो तथा सिँढीको दायाँ वा बायाँतिरका पाटीघर तथा विश्रामस्थलमा बस्ने ठाउँ नभेटिएपछि जुन ढुंगा अलिक मिलेको देखियो, त्यसैमा थ्याच्चै बस्न मन लाग्थ्यो । ‘उकालोमा लेक लागेका बेला तल हेर्दा स्वास फेर्न सजिलो हुन्छ’ भन्ने कुरा हामीले त्यहाँ नै सिक्न पायौँ ।

केही प्रौढहरूले ‘उभिएर मात्र थकाइ मार्नुपर्छ, बस्नुहुँदैन । बसेमा झन् हिँड्न गाह्रो हुन्छ’ भन्दै हुनुहुन्थ्यो । तर, मलाई त बसेर नै सजिलो लाग्यो ।

अनुष्मा, अजालिया र मैले लेक लाग्नबाट बच्नका लागि ल्वाङ, लसुन, अदुवा, क्याडबरी र चकलेटको भरपूर प्रयोग गर्‍यौँ । तर, इन्दिराले भने देवीको दर्शन नगरी केही नखाने अठोटलाई पूरा गरेरै छाडिन् ।

धेरैले अनुहारमा सातु दलेको तथा भुटेको मकै खाइरहेका पनि देखियो । त्यसो गर्दा सजिलो हुने र लेक लाग्नबाट बचिन्छ अरे !

‘पाथीभरा माताको- जय’ भनेर नारा लगाउँदै हिँड्ने पनि चलन रहेछ । नारा लागेपछि म त २०३६ सालको आन्दोलन सम्झिन्छु अनि जोश भरिएर आउँछ । त्यसो गर्दा हिँड्न सजिलो भएको महसुस भयो मलाई पनि ।

उकालो सकिनै लाग्दा ट्याक्सीमाथिकी एक दिदीले लेक लागेर बमन गर्न थालेपछि बोक्ने भाइलाई भुइँमा उतार्न हम्मेहम्मे परेको देखियो । अर्कातिर एउटा साना भाइ बमिट गरेर आलसतालस परिरहेका थिए । त्यस्तै आमाको बुइमा भएकी सानी नानी लल्याक-लुलुक परेकी थिइन् । भाकल भएकाले उनलाई ल्याइएको रहेछ । हामीले क्याडबरी दियौँ नानीलाई ।    

ठूलो फेदीबाट २ दशमलब ५ किलोमिटरको ठाडो उकालो ३ घन्टामा चढेर बिहान ६ बजे समुद्र सतहबाट ३ हजार ७९४ मिटर अर्थात् १२ हजार ४४८ फिट उचाइमा रहेको पाथीभरा देवीको मन्दिरसम्म पुग्दा अचाक्ली खुसी लाग्यो । यो मन्दिर मुक्तिनाथ मन्दिरभन्दा ४४ मिटर अग्लो र गोसाइँकुण्डभन्दा ५८६ मिटर होचो स्थानमा अवस्थित रहेछ ।

मैले पाथीभराका बारेमा ताप्लेजुङ निवासी लेखक मित्र रमेश भट्टराईसँग लिएको जानकारीले गर्दा यात्रा सजिलो भएको थियो ।

पाथीभरा माताको दर्शन गर्ने ठाउँसम्म पुग्नका लागि साढे २ घन्टा लाइनमा बस्नुपर्‍यो । धर्म गर्न गएका तीर्थालुहरूले पनि अनुशासनको हेक्का नराखी लाइन मिचेको तथा झेली गरेको देख्दा भने नमिठो लाग्यो । केही प्रहरीहरू तथा स्वयंसेवकहरूको प्रयास सहजै देख्न सकिन्थ्यो तथापि पूजा गर्ने स्थानको व्यवस्थापन भने भद्रगोल थियो ।

लाइनमा बसिरहेको बेलामा पल्लोपट्टि कलेज पढ्दाकी साथी देवा धिताल र उहाँको श्रीमान् एवं पेसागत साथी पशुपति सापकोटालाई भेट्दा रमाइलो लाग्यो ।

अन्न भरिएको पाथी जस्तो आकारमा ठिंग उभिएको डाँडामा देवीको मन्दिर स्थापना भएकाले नै ‘पाथीभरा’ नामकरण गरिएको भन्ने किम्बदन्ती रहेछ । पाथीभरालाई लिम्बू भाषामा ‘मुक्कुमलुङ’ भनिँदो रहेछ ।

ढुंगाको गारो लगाएर बनाइएको मन्दिरको होचो घेराबार पर्खाल रहेछ । त्यसभित्र शिवजी, गणेश, भैरव, हनुमानजी, कालिका देवी, नागकन्या, गरुड आदिका मूर्तिहरू लहरै रहेछन् । एकापट्टि लाख बत्ती बाल्ने ठाउँको व्यवस्था थियो भने अर्कोपट्टि बलि दिने स्थान । बलि दिनका लागि सिक्किमदेखि पेरुंगोमा परेवा लिएर आएका तीर्थालु पनि भेटिए ।

तीर्थालुहरूले त्रिशूल र घन्टा चढाउने प्रचलन रहेछ । घन्टैघन्टको तरेली र त्रिशूल फिँजाइएको ठाउँ आकर्षक थियो- फोटो खिचूँखिचूँ लाग्ने । पाथीभरा माताको दर्शन गरे मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास रहिआएकाले यसलाई यदाकदा पूर्वको मनकामना पनि भनिँदो रहेछ ।

भरेको पाथी जस्तो ठडिएको पाथीभरा ३ पालिकाहरू (फुङलिङ नपा, पाथीभरा याङ्वरक गापा र फक्ताङलुङ गापा)को संगम स्थल रहेछ, जहाँबाट चारैतिर तल हेर्न सकिने हुँदा गज्जबको अनुभूति हुने रहेछ ।

पाथीभराभन्दा फुच्चे डाँडाहरू मात्र तल देखिने नभई हिमशृंखला पनि नजिकै र तल जस्तो देखिँदा चौपट्टै रमाइलो हुँदो रहेछ । नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कंचनजंघा, मकालु, कुम्भकर्ण, ल्होत्से तथा काङबाचेन जस्ता हिमालहरू आँखा अगाडि नै टल्किरहेको मनमोहक दृश्यले मोहनी लगाउने रहेछ ।

थाप्लोको एक छेउबाट ठूलो फेदी, सानो फेदी, सुकेटार विमानस्थल तथा फुङलिङ बजार देख्दा पनि धुन्धान रमाइलो लाग्यो ।

धार्मिक महिमा, आकर्षक भौगोलिक बनोट तथा मनोहर प्राकृतिक दृश्यको त्रिवेणीको रूपमा रहेको पाथीभरा जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ रहेछ । परिवारका चारै जना सँगै गएर अतुलनीय आनन्दानुभूति महसुस गर्न पाएकामा उल्कै खुसी लाग्यो ।

पाथीभरा देवीको दर्शन तथा अवलोकन कार्य सकेर हामीले कंचनजंघा तथा हिमालको अनुपम दृश्यलाई नजर गर्दै फलफूल, बिस्कुट, मुङको दालमोठ तथा लेज खाएर तल झर्न थाल्यौँ ।

पाथीभरामा पानी र शौचालयको अभाव खट्कियो । अँध्यारोमा उकालो चढ्दा नदेखिएका लालीगुराँस, सेतो गुराँस तथा चिमलका बोटहरू राम्रोसँग देखियो ।

मानिसहरूको दोहोरो ताँती देखिन्थ्यो । ट्याक्सीको संख्या पनि बढेको थियो । ओरालोमा लट्ठी अलिक छोटो भएको महसुस भयो । झर्न सजिलो भए पनि तौल बढी भएकाले घुँडामा चाप परेर तकलिफ हुनु स्वाभाविक थियो ।  

जताबाट कोसी आएको छ, त्यतैतिर, अर्को शब्दमा भन्दा उल्टो दिशातिर डुंगामा सयर गर्दा उत्पातै मस्ती भयो । मैले चालकभन्दा पछिको सिटमा बसेर छोटोछोटो सेल्फी भिडियो पनि बनाएँ । बराह क्षेत्रभन्दा अलिक तलसम्म पुगेर मोटर बोट फर्कियो । फर्किने बेलामा बेजोड रमाइलो भयो ।

   

ठूलो फेदीको न्यु झापाली होटलमा खानपिन गर्‍यौँ । उकालोमा आफैँले बोकेर ल्याएको झोलाहरूका लागि ओरालोमा भरिया खोज्नुपर्ने अवस्था सिर्जना भयो । रामेश्वरजी त चप्पल किनेर जुत्तालाई विस्थापित गर्न बाध्य हुनुभयो ।

एउटा खांग्रे डोकोमा घाच्घुच बनाएर झोलाहरू हालेर कसकास् पार्नुभयो एक जना भरिया भाइले । दिउँसो १ बजे ठूलो फेदीबाट हिँडेका हामी साँझ फिदिमको आदर्श सरगम होटलमा बास बस्न पुग्यौँ । भोलिपल्ट ब्रेकफास्ट गरेर बजारको मुख्य चोकमा रहेको फाल्गुनन्दको शालिक अगाडि फोटो खिचेर हामी इलामतर्फ हानियौँ ।

इलामको होटल ग्रिन भ्युमा खानाको अर्डर गरेर चिया बगानमा घुम्न गयौँ । इलाम बजार नजिकैको चिया बगान छेउमा हत्केला आकारको भ्यु प्वाइन्ट बनेको रहेछ । घुमफिर, फोटो सेसन तथा सामूहिक टिकटक बनाएर रमाउने काम गरियो, त्यो मेरो पहिलो टिकटक थियो ।

खाना खाएर २:३० बजे हिँडेका हामी इटहरीको दियालो होटल पुग्दा झमक्कै साँझ परिसकेको थियो ।

पाँचौँ दिन बिहान सबेरै सार्वजनिक बस चढेर हामी धरान शहर गयौँ र बूढासुब्बा मन्दिर क्षेत्रको अवलोकन गर्‍यौँ ।

धरानबाट फर्किंदा बाटोमा तरहरा पुगेपछि मैले एमफिल अध्ययनको क्रममा अनुसन्धान गरेको साविकको हासपोसा गाविस देखाएँ । अर्कोचाहिँ सुनसरी जिल्लाकै सिमरिया गाविस भएको कुरा बताएँ । साथै, इटहरीमा आफ्नो कोठा भएको ठाउँ पनि देखाएँ । छोरीहरूले यसबारेमा ज्यादै नै चासो देखाएकाले अत्यन्तै खुसी लाग्यो ।

होटलमा ब्रेकफास्ट गरेर ९ बजे पुनः चतराको बाटो हुँदै काठमाडौंका लागि प्रस्थान गर्‍यौँ । कोसी पुलमा गाडी रोकेर मोटर बोटको टिकट लियौँ । एक जनाको ५०० रुपैयाँ पर्ने रहेछ । हाम्रो ६ जनाको टोलीलाई लाइफ ज्याकेट लगाउन दिएर चालकले मोटर बोट अघि बढाए ।

जताबाट कोसी आएको छ, त्यतैतिर, अर्को शब्दमा भन्दा उल्टो दिशातिर डुंगामा सयर गर्दा उत्पातै मस्ती भयो । मैले चालकभन्दा पछिको सिटमा बसेर छोटोछोटो सेल्फी भिडियो पनि बनाएँ । बराह क्षेत्रभन्दा अलिक तलसम्म पुगेर मोटर बोट फर्कियो । फर्किने बेलामा बेजोड रमाइलो भयो ।

२१ वर्ष पहिले विराटनगर-भोजपुरको फ्लाइट क्यान्सिल भएपछि डा. केदार बराल, उद्धव राई, हेम पौड्याल र मधुवन्ती तुलाधरसँगै मैले बराहक्षेत्र हुँदै पैदल यात्रा गरी सिम्लेमा बास बसेर दोस्रो दिन घोरेटार पुगेको कुराको स्मरण गरेँ । त्यतिबेला बाँसका ठूलाठूला बिटा बाँधेर डुंगा जस्तै गरी त्यसैमाथि मान्छे बसेर तलतिर आएको देख्दा अचम्म लागेको थियो ।

फर्किंदा डुंगाले उछिट्याएको पानीलाई बेस्सरी आएको हावाले हामीमाथि पो पुर्याइदियो । मोबाइल नै पुछ्नुपर्ने अवस्था आयो । १६ मिनेटको डुंगा यात्रा एकैछिनमा सकिएको महसुस भयो । फेरि दोहोर्‍याएर जाऊँजाऊँ जस्तो पो लागिरहेको थियो मलाई त !

दुधौलीमा खाना खाने बेला मैले सप्तकोसी नदीको रोमान्चकारी बोटिङका फोटाहरू तथा भिडियोलाई फेसबुकमा पोस्ट गरिदिएँ । यात्राको समीक्षा गर्दै हामी काठमाडौं फर्कियौँ ।


डा. कडेल शैक्षिक अनुसन्धाता तथा नीति विश्लेषक हुनुहुन्छ ।