सम्झनामा निर्वाचन: सिन्धुलीको ग्वाल्टार ऊबेला र योबेला, कसरी तुलना होला र ?
फर्कलान् र ती दिनहरू
बैशाख २४, २०७९

निर्वाचन ! ७ फागुन २०१५ देखि सुरु भएको पहिलो आमनिर्वाचनका बारेमा सुनियो मात्र, भोगिएन, किनभने त्यसबेला म मात्र ५ वर्षको थिएँ । तर, जेहेनमा कतैकतै त्यो बेलाको केही केही सम्झनामा आउँछ । के भन्ने खुट्याउन सक्ने अवस्था थिएन, छैन ।

घरमा रहेका पार्टीका झन्डा भने अझै स्मृतिमा छ । किन ? के ? कसरी ? भन्ने थाहा नभए पनि एउटा कुनै अमीट छाप जो बस्यो जेहेनमा, जुन अझै बाँकी छ । पंचायती व्यवस्थामा निर्वाचन हुन्थ्यो, प्रयोग जस्तै थियो किनभने नेपालमा प्रजातन्त्र अफापसिद्ध भएको भनेर घोकाइन्थ्यो विद्यार्थीहरअंलाई सानै कक्षादेखि । सायद त्यो प्रणाली भनेको निर्देशित प्रजातन्त्रको पाटो थियो- पंचायती व्यवस्थाको सूत्रपात गर्ने गराउनेहरूका लागि ।

प्रजातन्त्रको विरुद्धमा, बहुदलीय व्यवस्था र स्वस्थ प्रतिस्पर्धाबाट जनताले आफ्ना प्रतिनिधि छानेर राज्य गर्ने कामको विरुद्ध ल्याइएको व्यवस्थामा पनि प्रजातन्त्र छ भनेर देखाउन निर्वाचन गरिन्थ्यो । गाउँ पञ्चायत, जिल्ला पञ्चायत, अञ्चल पञ्चायत र राष्ट्रिय पञ्चायत नामकरण गरेर निर्वाचनका विभिन्न मोडेललाई प्रयोग गरेर, जसरी पनि माथिबाट चिताएको व्यक्तिलाई पदमा पुर्‍याउने तिकडम हुन्थ्यो । पछि अञ्चल पञ्चायत हट्यो ।

जे भए पनि निर्वाचन भनेपछि जस्तोसुकै अप्रत्यक्ष निर्वाचन भए पनि व्यक्तिमा रहने आकांक्षा र जोगी हुन राजनीति गरेको होइन भन्ने भावना जहिले पनि राजनीतिको सामान्य चाहना राख्नेमा हुने नै भयो ।

मेरो गाउँ भएको ग्वाल्टारमा  बितिजोर र ग्वाल्टारको एउटै पञ्चायत थियो पहिले । पछि त्यो टुक्रेर एउटा बितिजोर गाउँ पञ्चायत भयो, हाम्रो चाहिँ भुवनेश्वरी गाउँ पञ्चायत भयो । मेरो बाको एउटा अचम्मको समन्वय गर्ने कला थियो, सबैलाई खुसी पार्दै । बालाई कसैले भनेको थियो- 'बीपीको समाजवादलाई राजा महेन्द्रले अर्को नाममा प्रयोग गरेका हुन् ।' बाको दृष्टिमा बीपीका अत्यन्त विश्वासपात्र विश्वबन्धु थापा, डाक्टर तुलसी गिरीहरू पञ्चायतका हर्ताकर्ता थिए । बा नै निर्विकल्प नेता हुनुहुन्थ्यो बितिजोर, ग्वाल्टार र लेखतिरसम्मको पनि । लेख भन्नाले कुभिन्डे, रानीखोला, खोक्लिङ्, धारापानी, भदौरे, टाढी मूलडाँडासम्मको । धामचौकीसम्मको ।

तर, बितिजोर र ग्वाल्टारको एउटै पञ्चायत हुँदा हर्कपुरकी तारादेवी दिदीले बाका लागि मात्र एउटै पञ्चायत गर्न सकिने, तीनमानेमा पञ्चायतको कार्यालय राख्ने, सुलीभन्ज्याङमा बैठक गर्ने आदि व्यवस्था गर्नुभएको थियो । तारादेवी दिदी भनेको निःस्वार्थी समाजसेवी हुनुहुन्थ्यो- राजनीतिक चेतनाले भरिएकी दिदी । उहाँकै भदै हो अहिलेकी प्रतिनिधिसभाकी सदस्य तथा एमालेकी नेत्री गोमा देवकोटा ।

गोमा दिदीको बिहे ऋषि देवकोटासँग भयो र पछि उहाँले सहादत वरण गर्नुभयो । बालाई निर्विरोध प्रधानपञ्च दिइन्थ्यो । त्यति मात्र होइन, हाम्रो गाउँ पञ्चायतमा सल्लाहले निर्वाचन हुन्थ्यो । हुन्थ्यो त निर्विरोध तर गाउँमा सबै भेला हुन्थे राति विद्यालयमा । लाल्टिनको उज्यालोमा बसेर बा, जिम्मल जिबा पुण्यप्रसाद बराल, डिट्ठा जिबा गुणराज बराल, भोजराज पोखरेल भानिजबा, बखतबहादुर थापा ठूलाबा आदि हाम्रो गाउँबाट, बसेरीबाट बेगबहादुर घिमिरे, रामबहादुर घिमिरे, तारादेवी दिदी, थाक्लेका विष्णुबहादुर कार्की, भदौरेका लक्ष्मीप्रसाद पौडेल आदि बसेर कसलाई कुन वडामा के बनाउने भन्ने निधो गर्थे । 

एउटा आदर्शको भेला हुन्थ्यो र निर्विरोेध चयन गर्ने काम हुन्थ्यो । निर्वाचन गर्ने डोर आउँथ्यो । नाम टिपेर निर्विरोध भएको घोषणा गरिन्थ्यो । मैले कसरी थाहा पाएको थिएँ भने, म धेरैजसो बासँग हुन्थेँ र चासो राख्थेँ यस्ता कुरामा । 
पछि बितिजोर बेग्लै पञ्चायत भयो, भुवनृेश्वरी बेग्लै पञ्चायत भयो । भुवनेश्वरी भन्ने नाम कसरी राखियो भने ग्वाल्टारको टुप्पोमा महाभारतको बराबरीमा कोट छ । कोट सायद सेनवंशी राजाको हो ।

रणनीतिक रूपमा शत्रुसँग लुकेर लडाइँ गर्ने गरी पनि तयार गरेको होला पहाडको टुप्पोमा । भाविनी थान भनिन्थ्यो कोटकी देवीलाई । उनैको नाममा भुवनेश्वरी नामकरण गरिएको भनिए पनि मेरो आमाको नाम भुवनेश्वरी भएकाले पनि र ग्वाल्टारको भावी विकासका लागि नाम जुराएर बाले राख्नुभयो भुवनेश्वरी गाउँ पञ्चायत भनेर । गोलन्जोर गाउँपालिका भन्ने नामकरण नहुँदासम्म ग्वाल्टारको नाम भुवनेश्वरी गाउँ विकास समिति नै थियो । त्यसबेला ९ वटा वडा हुन्थे । ग्वाल्टारमा नै ३ वटा वडा, च्याङ्ल्रुङ र तल्लो कात्तिके ४ नंबर वडा, सान्ने, तमौरे, धेद्रे, ओख्ले, भदौरे, मुर्की, बसेरी गरी अरू वडामा बाँडिएको थियो ।

राजनीतिक दल प्रतिबन्ध भए पनि हामी प्रतिबन्धित नेपाली कांग्रेस पार्टीप्रति आस्थावान् भएकाले स्थानीय प्रशासनको निगरानी बढ्यो । हामीले शहीद क्लब गठन गरेका थियौँ खेलकुद र पुस्तकालयका लागि भनेर त्यसलाई दर्ता गर्न भनियो तर दर्ता गरिएन । तैपनि, हामीले पुस्तकालय तयार गरेका थियौँ- विद्यालयको एउटा दराजमा ।

अत्यन्त न्यून जनसंख्या, विद्यालय पनि ग्वाल्टारमा मात्र थियो । तर, विकासको गति भने यति तीब्र थियो कि ग्वाल्टार मुख्य बस्तीमा ९० प्रतिशत जमिन सिँचाइ गरिएकाले खान नपुग्ने कोही पनि भएन । बालाई पञ्चायतमा कांग्रेसको कुनै योगदान पनि छैन, समर्थन पनि छैन भन्ने थाहा भएपछि उहाँले राजनीति चटक्क छाडेर आध्यात्मिक बाटो रोज्नुभयो र घरमा १८ पुराण लगाएर आफूलाई राजनीति प्रतिको विमोहको धारणा व्यक्त गर्नुभयो तर गाउँमा निर्विरोध गराउन भने उहाँको सहयोग सबैले माग्थे किनभने बाले भनेको सबैले मान्थे ।

आखिर ग्वाल्टारमा निर्वाचन पञ्चायतको हुन्थ्यो र पनि गाउँमा सल्लाह गरेर समावेशी तरिकाले वडा अध्यक्ष छानिन्थ्यो, प्रधानपञ्च र उपप्रधानपन्च बेग्लै गाउँबाट छानिन्थ्यो तर हुन्थ्यो निर्विरोध र विकासप्रति लाग्ने मानिस नै । डिट्ठा जिबा गुणराज बराल जिल्ला पञ्चायतको सदस्य हुनुहुन्थ्यो र गाउँमा सिँचाइका लागि, बाटोका लागि बजेट पार्नुहुन्थ्यो । गाउँमा हेल्थ पोस्ट, हुलाक, सहकारीको कृषि पसल आदि राखियो । जो प्रधानपन्च भए पनि सल्लाहले हुन्थ्यो र जेजे छलफल गरिन्थ्यो राति विद्यालयमा जम्मा भएर गाउँका समस्याको समाधान गरिन्थ्यो ।

अपवादमा बाहेक गाउँको कुनै पनि विवाद प्रहरी र अदालतमा पुग्दैन थियो । गाउँमा प्रहरी थाना राखिएको थिएन किनभने त्यसले असहिष्णुताका झोकमा गाउँमा मुद्दा सुरु हुनेछ र आपसमा झैझगडा बढ्नेछ भन्ने दर्शन देखिन्थ्यो । सबै मानिसहरू आफ्नो खेती गरेर खान्थे । मट्टीतेल, नुन, कपडाबाहेक गाउँमा बाहिरबाट केही किनिएको देखिँदैनथ्यो । परम्परागत रूपमा आफ्नाआफ्ना पेसा गर्ने चलन थियो र सबै जात, भाषीका बीचमा मिलेर बस्ने चलन थियो, जुन अहिले पनि यथावत् छ ।

अहिले स्थानीय सरकारको अवधारणामा निर्वाचन हुन थालेको छ । हाम्रो गाउँमा त्यो अभ्यास पहिले पनि गरिएको थियो । मुद्दा गाउँमा हेरिन्थ्यो र त्यसको छिनोफानो समन्वय र समझदारीमा हुन्थ्यो । दौडमा भन्दा मिलेर बस्नेमा जोड दिइन्थ्यो । कुनै प्रकारको दण्ड गर्नुपरे विद्यालयका लागि चन्दाको रुपमा त्यसलाई प्रयोग गरिन्थ्यो ताकि विद्यालयमा फर्निचर बनाउन, ढोका बनाउन त्यसको उपयोग गर्न सकियोस् ।

एकै पटक जुवाडे पक्राउमा परे, चोर फेला परे, एउटाकी श्रीमतीलाई अर्कोले पेट बोकाएको मुद्दा पनि पर्‍यो तर गाउँमा कुनै पनि प्रकारको हल्ला नगरी सबै समस्याहरूको चित्तबुझ्दो समाधान गरियो, जुन कुरा अर्को गाउँकाले समेत थाहा पाएनन् । यस्तो अभ्यास थियो हाम्रो गाउँमा पहिले । 

एउटा बेला आउँदो रहेछ, त्यो आदर्श समाजमा हामीले राजनीतिलाई प्रवेश गराएर पढेलेखेका, देश खाएर शेष भएका युवालाई नेतृत्वमा ल्याउन खोज्दा पाकाहरूले मान्नुभएन र पछि हामीले विद्रोह गर्ने विचार गर्‍यौँ । हामीले भनेको जस्तो हुन्छ भने ठिकै छ, होइन भने तपाईंहरूले जसलाई उठाउने भन्नुहुन्छ,लहामी उसैको विरुद्धमा आफ्नो उम्मेदवार उठाउँछौँ ।

यसो भनेर भारतको मुम्बईमा बसेर आउनुभएका नीलहरि बराल काकालाई हामीले गाउँको प्रधानपञ्चमा उठायौँ । सहमति भयो । काकालाई प्रमुख र पाकाहरूले भनेको मानिसलाई उपप्रमुख बनाइयो ।

त्यसबेला राजनीतिक दल प्रतिबन्ध भए पनि हामी प्रतिबन्धित नेपाली कांग्रेस पार्टीप्रति आस्थावान् भएकाले स्थानीय प्रशासनको निगरानी बढ्यो । हामीले शहीद क्लब गठन गरेका थियौँ खेलकुद र पुस्तकालयका लागि भनेर त्यसलाई दर्ता गर्न भनियो तर दर्ता गरिएन । तैपनि, हामीले पुस्तकालय तयार गरेका थियौँ- विद्यालयको एउटा दराजमा । पछि त्यहाँका पुस्तकहरू सबै माओवादी जनयुद्धमा गाविस भवनमा आगो लगाउँदा डढेर गए । 

बहुदलीय व्यवस्था आएपछि निर्विरोध हुन छाड्यो, स्वाभाविकै हो । दलहरूले आफ्नाआफ्ना उम्मेदवार उठाउन थाले । खासमा मुख्य प्रतिस्पर्धा त कांग्रेस र एमालेका बीचमा नै भयो । कतै जनमोर्चाको उग्रतासँग भिड्नु पनि परेको थियो । पछि माओवादी जनयुद्धको केन्द्रविन्दुको रूपमा सिन्धुली पनि परेको थियो र पनि ग्वाल्टारमा कांग्रेसकै बाहुल्य छ भनेर मानिन्थ्यो ।

पछि गोलन्जोर गाउँपालिका भयो अहिले, जसमा साबिकका डुडभन्ज्याङ, बितिजोर, तीनकन्या, भुवनेश्वरी, वाशेश्वर, रतनचुरा र भीमेश्वर मिलेर ७ वटा वडा छन् । २०७४ सालको निर्वाचनमा गोलन्जोर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत गाउँसभाका  सदस्यहरू नेपाली कांग्रेसले जितेको थियो । अहिलेको जुनारको केन्द्र मानिने खनियाँ खर्क, तीनकन्या गोलन्जोरमा नै पर्छन् ।

प्रसंग निर्वाचनको थियो । २०१५ सालपछि बालिग मताधिकारको आधारमा संसदको निर्वाचन त २०३८ र २०४३ सालमा भयो राष्ट्रिय पञ्चायतको तर निर्देशित तरिकाले भएको थियो । त्यसमा पनि पञ्चहरूको आन्तरिक द्वन्द्वमा भने निर्वाचन प्रवेश गरेको थियो । पहिले अप्रत्यक्ष निर्वाचनद्वारा विश्वलाई देखाउन र पञ्चायतलाई बलियो बनाउन भनेर निर्वाचन गरिन्थ्यो र जसलाई राष्ट्रिय पंचायतमा लानु हुन्थ्यो, उसलाई जसरी पनि लगिन्थ्यो । 

उदाहरणका लागि डाक्टर तुलसी गिरी आफूलाई पञ्चायतको प्रवर्तक भन्नसम्म नहिच्किचाउने मान्छेलाई पनि निर्वाचनमा मनोनयनपत्र दाखिला गर्नसमेत दिइएको थिएन- आन्तरिक विवादको घेराभित्र परेर । खासगरी २०३८ सालमा बालिग मताधिकारको आधारमा निर्वाचन गर्ने घोषणा गरिएको थियो । त्यसबेला पञ्चायतलाई सुधारिएको व्यवस्थाको रूपमा विकसित गर्ने राजाको दृष्टिकोण भएकाले बीपी कोइरालाले राजासँग माग गर्नुभएको थियो- दलहरूको इच्छाबमोजिमको चिह्न मुलुकभर राखेर निर्वाचनमा जाओँ । नेपालमा कि कांग्रेस छन्, कि कम्युनिस्ट छन्, कि  पञ्च छन्, जसले बहुमत ल्याउँछ, त्यसले सरकार बनाऔँ । बहुदलीय पक्षले बहुमत ल्याएमा संसदबाटै बहुदल घोषणा गरौँ ।

त्यसको कारण थियो, जनमतसंग्रहमा दलीय अभ्यास सुरु भइसकेको थियो, चाहे भन्न त प्रतिबन्धित भनिएको होस् पञ्चायतकै हिसाबले पनि ४५ प्रतिशत जनता बहुदलीय पक्षधर थिए । तर, राजाले त्यसको वास्ता गरेनन् र भनेछन्- जनमतसंग्रहबाट जितेको पक्षलाई त्यसो भनेर न्यूनीकरण गर्न पाइँदैन, निर्वाचन लड्ने भए पञ्चायतको वर्गीय संगठनको सदस्यता लिएर पञ्च भएर मात्र उठ्न पाइन्छ । 

बीपीले मान्नुभएन र नेपाली कांग्रेसले निर्वाचनमा भाग लिएन । तर, तत्काली मालेले जनपक्षीय भन्ने नारामा निर्वाचनको प्रयोग गरेको थियो र नेपाली कांग्रेसले उम्मेदवार नउठाएकाले बहुदलीय मत प्राप्त गरे केही ठाउँमा रापंस जितेको थियो । त्यसपछि नेपाली कांग्रेसले २०४४ सालको स्थानीय निर्वाचनमा प्रयोगका लागि भाग लियो र जितेको ठाउँमा पनि १ पुसको दिन कालो दिन भनेर विरोध गरेकाले सबैलाई निकालेर सहवरण गरी अरूलाई जिम्मा दिइयो ।

जस्तो कि काठमाडौंमा मेयर हरिबोल भट्टराई, उपमेयर तीर्थराम डंगोलले जिते पनि १ पुसमा संविधान दिवस बहिष्कार गरेकाले निकालिएको थियो । त्यस्तै, अरू जितेका पदहरूमा पनि त्यसैगरी निकालिएको थियो । त्यसबेला पदको भन्दा सिद्धान्तको अर्थ राखिन्थ्यो र नगर पालिकामा मेयर भएकाहरूले पनि ती सुविधाहरू सिद्धान्तका अघिल्तिर तिलाञ्जलि दिएका थिए । 

बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि २०४८ वैशाखमा दोस्रो आमनिर्वाचन सम्पन्न भयो- नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा । त्यस निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएको थियो ।

क्रमशः 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।