अनुभूतिको उत्कृष्ट सँगालो ‘मालामा नउनिएका फूलहरू
पुस्तक चर्चा
बैशाख २३, २०७९

नेपाल सरकारको निजामती तर्फको शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा सेवा प्रवेश गरी सचिव पदमा पुग्न सफल व्यक्तित्वका साथै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पनि उत्ति नै परिचित नाम हो, डा। खगराज बराल । बराल नेपाली साहित्यमा विभिन्न विधामा सिद्धहस्त लेखक पनि हुन् । 

वि.सं.२०४४ सालदेखि साहित्यका विविध विधामा कलम चलाएका बरालको साहित्यिक नाम श्रमिक बराल हो । श्रमिक बरालका नामबाट ‘श्रमिक बरालका फुटकर रचना’ २०७८, ‘आँगनीको फूल’ २०७६, ‘सानीको बर्थ डे’ २०७५,  ‘श्रमिक बरालका गीतहरू’ २०७३, ‘मौन आकाश’ २०७१, ‘अविरल गङ्गा’ २०६७, ‘म त सधैँ एक्लै परेँ’, २०६२ प्रकाशित भएका छन् ।   

 ‘दर्शन, शिक्षा र आचरण’ ९२०७८०, ‘शिक्षाको दर्शन, नीति र व्यवहार’ २०७५, ‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको प्रसङ्ग नेपालको’ २०७४, ‘शैक्षिक दृष्टार्थ’ २०७३, ‘केही शैक्षिक प्रबन्ध’ २०७१, ‘शैक्षिक विचरण’ २०७०, ‘ ‘शैक्षिक विमर्श वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’ २०६९, ‘केही शैक्षिक मुद्दाहरू’ २०६८ र ‘शिक्षा विकासका नवीन आयामहरू’ २०६७ उनका शिक्षा क्षेत्रसँग सम्बन्धित प्रकाशित कृतिहरू हुन् । 

साहित्य क्षेत्रमा खगराज बरालका नामबाट पनि कलम चलाएका बरालका  ‘मालामा नउनिएका फूलहरू’  २०७८, ‘सिकाइ र सहयोग’ २०७६ र ‘सिकाउने शैली’ २०७५ जस्ता गैह्र आख्यान अनुभूति जन्य निबन्ध सङ्ग्रह र ‘स्यानी’ २०७७ नामक उपन्यास प्रकाशित छन् । 

बरालले सम्पादन गरेका ‘शैक्षिक व्यवस्थापनका बहुआयामिक चिन्तन’ २०६६ र ‘लीलावती स्मृति ग्रन्थ’ २०७५ पनि प्रकाशित छन् । शिक्षा तथा प्रशासन क्षेत्रमा नियमित कलम चलाइरहने बरालका डेढ दर्जन जति पुस्तक र एक सय जति लेख प्रकाशित छन् । बरालको ‘असल बन’ शीर्षको कविता पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा ३ को ‘हाम्रो नेपाली किताब’ २०६९ पुस्तकमा पहिलो पाठका रूपमा रहेका छ । 

गीतकारका रूपमा श्रमिक बराल नामबाट झण्डै तीन सय गीतको रचना गरेका बरालका डेढ दर्जन गीतहरू सङ्गीत तथा स्वर बद्ध भइसकेका छन् । यसपटक लेखकले डा. खगराज बरालको नामबाट ‘मालामा नउनिएका फूलहरू’ २०७८ शीर्षकको गैह्र आख्यान अनुभूति पाठक सामु ल्याएका छन् । शिखा बुक्स प्रा. लि. ले प्रकाशन गरेको ‘मालामा नउनिएका फूलहरू’ अनुभूतिहरूको उत्कृष्ट सङ्गालो हो । 

 ‘मालामा नउनिएका फूलहरू’ सिकाइ र अनुभूतिको सङ्ग्रह हो । देख्दा सामान्य लाग्ने तर हाम्रो जनजीवनमा पनि मेल खाने विविध पक्षहरूको चर्चा यस पुस्तकमा गरेको पाइन्छ । यो पुस्तकलाई विभिन्न बिस शीर्षकमा बाँडिएको छ । लेखकले यस सङ्गालोमा समाजमा छरिएर रहेका विभिन्न विषय तथा क्षेत्रका बारेमा र आफ्नो सरकारी जागिरे जीवनको दौरानमा देखे–भोगेका अनुभूतिदेखि साहित्यिक जीवनमा भोगेका अनुभूतिहरूलाई मिहिन रूपमा केलाई पाठक समक्ष पस्केका छन् । 

  ‘आमाबाबुका कुुरा’ शीर्षकमा आजको समाजमा आमाबाबुका नाममा गरिने व्यवहारलाई स्पष्टसँग उल्लेख गरेको पाइन्छ । आमाबाबुको नाम भजाएर आफ्नो सुविधाका लागि सरुवा माग्नेदेखि लिएर आर्थिक लाभ लिन समेत पछि नपरेका कुराको बारेमा जानकारी पाउन सकिन्छ । हामी अहिलेसम्म पनि ‘आमाबाबु पालेको छु’ र ‘म आमाबाबुसँग बस्छु’ भन्ने शब्द र यसको गहन अर्थबारे जानकार रहेनछौं । वास्तवमा आमाबाबु कुनै पालिने चिज वा वस्तु होइनन् । उहाँहरूको सेवा गर्न पाउनु भनेको हाम्रो लागि अहोभाग्य हो भन्ने कुरालाई चटक्कै बिर्सेर हामी आफ्ना बुद्ध आमाबाबु बोझ ठान्छौ र सकभर पन्छिने कोसिस गर्छौ ।

तर आफ्नो फाइदाका लागि एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा माग्न होस् या राज्यकोषबाट उहाँहरूको नाममा आउने सुविधा उपभोग गर्न होस् हामी आमाबाबुको नाम जपिरहेका हुन्छौं र सो सेवा सुविधा पाएपछि आमाबाबुलाई फर्केर पनि हेर्दैनौं । आजको यस स्वार्थी समाजमा आमाबाबुलाई वृद्धाश्रममा छाडेर ठाँट रवाफका साथ समाजमा बस्ने जमात पनि हामीले देखेका छौं । अतः यस शीर्षकमार्फत लेखकले आफ्ना आमाबाबुसँग बस्न पाउनु र उहाँहरूको सेवा गर्नु छोराछोरीहरूको महान दायित्व हो भन्ने कुराको बोध व्यक्ति तथा समाजलाई गराउन सफल भएका छन् ।   

‘हिजो र भोलि’ शीर्षकमा लेखकलाई विद्यार्थी भाइबहिनीहरूले तपाईँको बाल्यकालका बारेमा जानकारी गराइ दिनुहोस् न भन्ने सवालमा लेखकले पहिलाको पुस्ता र अहिलेको पुस्ता बिचको फरक अवस्थाको चित्रण गरेको पाइन्छ । पहिला अभावका बाबजुद पनि सबै ठिक थियो, मानिसहरू खुशी नै थिए । आजको अवस्थामा सबै कुराको सम्पन्नता छ, शिक्षा,  स्वास्थ्य र सञ्चार जगत्ले फड्को मारेको छ ।

आधुनिक सुख सुविधाहरू क्रमश उपलब्ध हुँदै गएका छन् । तर यसो भन्दैमा पहिलाकै सबै कुराहरू बिर्सिएर आधुनिकतामा ढल्किएको जमातमा पहिलाको केही पनि होइन, अहिलेको नै सबै ठिक भन्ने संस्कार विद्यार्थीहरूले सिकून् भनी भावी पुस्तालाई सचेत गराउन खोजेको पाइन्छ । 

विभिन्न कारणले विवाह गर्न इन्कार गरी बसेका र उमेर ढल्किँदै गएका महिला तथा पुरुषले पछि विवाह गरी घरजम गरेको  कुरा लेखकले ‘बिहेका कुरा’ मार्फत मिठास पूर्ण शैलीमा उदाहरणसहित पाठक सामु पस्केका छन् । कतिपयले समयमा सही सल्लाह र सुझावको अभावका कारण पनि सही बाटो समात्न सकेका हुँदैनन् । विवाहका लागि कसै न कसैले उत्प्रेरणा दिइ रहनुपर्ने र पछि त्यही उत्प्रेरणाले काम गर्ने अवस्था सिर्जना हुन्छ । विवाह सहकार्य तथा खुशी पूर्ण जीवनको सुरुवात मात्र नभएर थप पारिवारिक जिम्मेवारी सम्हाल्नु पनि हो ।

दृष्टिलाई निरन्तरता दिने, सामाजिक उत्तरदायित्त्व वहन गर्ने जस्ता कार्यका लागि पनि विवाह अनिवार्य हुन्छ । त्यसैले हामी प्रकृतिको विपरीत जानु हुँदैन र जान पनि सकिँदैन भन्ने सन्देश विवाहका कुरामार्फत लेखकले समाजलाई दिन खोजेका छन् । 

‘खाना सबैका लागि’ शीर्षकमा खानेकुराको सही प्रयोग गर्नुपर्ने, खान खेर फाल्न नहुने तथा अरू सबै चिज दिँदा पनि ‘भो भो पुग्यो’ भनेर नभन्ने तर एकै छाक मात्र खान दिदा पनि ‘भो भो पुग्यो’ भनेर सन्तुष्ट बनाउने जिजीविषाको मुख्य आधार खानेकुराको सही प्रयोग गरौं भन्ने सन्देश यस शीर्षकमा पाउन सकिन्छ । धन, दौलत, सुन, चाँदी लगायतका वस्तुहरू दिएर चित्त बुझाउन नसकिने तर एक छाक पेटभरी खान दिँदा सन्तुष्ट हुने अन्न दान गर्न लेखकले सबैमा अनुरोध गरेका छन् । 

‘वर, पिपल, शमी र सुगा’ शीर्षकमा मानिसले ठुलो मिहेनत साथ गरेको कार्य पनि प्रकृतिले सजिलै गरिरहेको हुँदोरहेछ भन्ने कुरा पाठक सामु पस्कन लेखक सफल भएका छन् । वर, पिपल र शमीको विरुवा जताततै नपाइने हुँदा यसको विरुवा पाउन प्रायः सबैलाई कठिन नै हुन्छ । वर, पिपल, शमीको फल चराचुरुङ्गीले खाइ विष्ट्याइपछि मात्र उम्रने हुनाले सुगालाई यसको फल खान दिएर त्यसको विष्टालाई नर्सरीमा लगी विरुवा उत्पादन गरेको कुरालाई लेखकले पुस्तकमार्फत उजागर गराएका छन् ।

हेर्दा, देख्दा सामान्य लग्ने तर समग्र समाज नै अन्जानमा रहेको वर, पिपल र शमीको जताततै नपाइने विरुवा सजिलै नर्सरीमा उमार्नका लागि गरिएको नौलो अभ्यास निकै रोचक छ । सामान्य तर गहन अर्थ बोकेको यस विषयको बारेमा जानकारी गराएर लेखकले समाज सामु आफ्नो छुट्टै छाप छोड्न सफल भएका छन् ।

 ‘कृष्णसारका कष्ट’ शीर्षकमा कृष्णसार सोझो र मानिससँग घुलमिल हुन रुचाउने जनावर हो । हाम्रो प्राकृतिक विविधतामा कृष्णसारको भूमिकालाई लिएर लेखकले उनीहरूको बाँच्न पाउने अधिकारका बारेमा उल्लेख गरेका छन् । कृष्णसार एकान्तमा नभई पशु चौपायासँग बस्न मन पराउँछ । एक पटक काटेर पलाएको कलिलो घाँसमात्र यसले खाने गर्दछ । साथै गहुँ, मकै, गेडागुडी लगायतका अन्य विरुवा पनि यसले खाने गर्दछ ।

मानिससँग नजिक हुँदा मानिसको डर र जङ्गलमा रहँदा मांसहारी जनावरको डर, यसरी जता रहे पनि कृष्णसारलाई बाँच्नका लागि डरै डर र खतरा नै खतरा रहेको कुरा उल्लेख गरी जनावर प्रतिको प्रेम भाव प्रकट गरिएको छ । यस धर्तीमा खुल्ला रूपमा विचरण गर्न पाउनु पर्छ र बाँच्न पाउने अधिकार सबैको समान हुन्छ भनी पशु अधिकारका बारेमा समेत लेखकले सिङ्गो समाजलाई सचेत गराउन सफल भएका छन् । 

‘कुकुरका कुरा’ शीर्षकमा कुकुर पाल्न सक्नेले उसको दिसा पिसाब पनि आफैंले व्यवस्थापन गर्नुपर्ने, सार्वजनिक स्थानमा कुकुर डुलाएर फोहोर गर्न नहुने, आफूलाई सभ्य र आधुनिक भन्न रुचाउने तर कुकुर डुलाएर बाटोघाटो, सार्वजनिक स्थान फोहोर गर्ने संस्कारका विरुद्व लेखकले आवाज उठाएका छन् । साथै, जसले कुकुर पालेका छन् तिनीहरूलाई सचेत पनि गराएका छन् ।

आफ्नो घर आँगन सफा भएपछि संसार नै सफा भएको ठान्ने मानिसहरू घर बाहिर चाहिँ कुकुर डुलाउँदै सार्वजनिक स्थान फोहोर गराइरहेका हुन्छन् । यस्ता प्रकृतिका मानिसहरूप्रति लेखकले सम्बन्धितलाई सचेत गराउँदै हाम्रो वरिपरिको वातावरण सफा राख्नु हामी सबैको कर्तव्य हो भन्ने सन्देश प्रवाह गरेका छन् । 

 ‘मृगसँग बातचित’ शीर्षकमा मृगसँग मानिसले प्रत्यक्ष कुराकानी गर्दा विभिन्न विषयमा कुराकानी भएको जस्तो गरी लेखकले स्वैरकल्पना गरेका छन् र मृगले राखेको कुराहरू लगायतका रोचक प्रसङ्गको कल्पना गर्दै शाश्वत कुरा उल्लेख गरिएको छ । यसै क्रममा मृगले भनेका कुराहरू जस्तै 'सिंह कसरी राजा भयो र, कसले राजा बनायो, बलवानलाई राजा बनाउने हो, जसलाई देखे पनि मारेर खाने प्राणी पनि राजा हुन्छ, राजा त जनताले बनाउन सक्नुपर्छ नि ! जसरी जङ्गलमा दुई सिंह एक आपसमा लडेर मर्छन् त्यसरी नै मानिसहरू पनि आफू आफू लडेर मर्छन्' भनी मृगले मानिसलाई बताएको छ ।

यसैगरी, 'तिमीहरूकामा त नवजात शिशु मृत्युदर र बाल मृत्युदर उच्च रहेको र रोकथामका लागि प्रशस्त पैसा खर्च भएको तथा मृत्युदर र गर्भपतनको अवस्था लगायतका विषयमा प्रतिवेदन बनाउने तर कार्यान्वयन नगर्ने बानी रहेको छ होइन'  भनी मृगले मानिसलाई उत्तर दिएको प्रसंग उल्लेख गरी मानिसको काम गर्ने प्रवृत्तिको बारेमा पुस्तकमा नपत्याउँदो तरिकाले उल्लेख गरिएको छ । । यो शीर्षक पढ्दै जाँदा स्वैरकल्पना रहेछ भन्ने कुरा अन्त्यमा मात्र पत्तो पाइँदो रहेछ । यसबाट मानिसले धेरै कुरामा सुधार गर्नुपर्ने पक्षहरूको उजागर गरी पाठक सामु ल्याउने जमर्को लेखकले गरेका छन् 

 ‘अतिथि आसनमा अलमल’ मार्फत अतिथि कसलाई बनाउने,  अतिथिको मर्यादाक्रम के हुने, धरै अतिथि भए कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा उदाहरणसहित समस्याको समाधानका बारेमा उल्लेख गरेको पाइन्छ । 

साथै, ‘विद्वान र बुद्धिजीवी’ शीर्षकमा ज्ञान भन्दा अनुभव ठूलो हुन्छ । साथै, बुद्धिजीवीले विवेकको प्रयोगले र विद्वानले ज्ञानको प्रयोगले समस्याको समाधान गर्दछन् भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

  ‘के राम्रो के नराम्रो’ शीर्षकमा नेपाल जस्तो धार्मिक विविधता भएको देशमा भिन्न भिन्न ठाउँमा रहेका चाल चालन, रीतिरिवाजहरूको बारेमा जानकारी पाउन सकिन्छ । के राम्रो के नराम्रो भन्ने कुरा सम्बन्धित व्यक्ति समाज आफैँले निर्णय गर्ने कुरा हो । यो ठाउँ विशेष र परिस्थितिअनुसार फरकफरक हुन सक्छ भन्ने कुराको जानकारी यस शीर्षकका माध्यमबाट पाठक समक्ष प्रस्तुत गरिएको छ । 

आफ्नो कामको कारणबाट हामी समाजमा चिनिने गर्दछौं । आआफ्ना कामका आधारमा आफ्नो पहिचान आफैँ बन्दै जान्छ । जसका कारण अपरिचित पनि परिचित बन्न पुग्दछ भन्ने कुरा ‘अपरिचित पनि परिचित भएपछि’ शीर्षकमार्फत आफ्नै सहपाठी भएर पनि घुलमिल हुन नपाएको साथी गायक डि।बी। सरको उदाहरणसहित उल्लेख गरिएको पाइन्छ । फरक क्षमताको भएर पनि लेख्न, पढ्न तथा आफ्नो दैनिक जीवन चलाउन साङ्ग सरह नै गरेको कुरा यस शीर्षकको माध्यमबाट पाठकलाई जानकारी दिएको पाइन्छ । डि.बी. सरको जीवन हामी सबैले मनन गर्न योग्य रहेको छ ।

समसामयिक, शिक्षा, अध्यात्म, राजनीति, पशु अधिकार लगायत समाजका जल्दा बल्दा विषयवस्तु उठान गरेको पाइन्छ । ‘आमाबुबाका कुरा’, ‘हिजो र भोलि’, ‘ बिहेका कुरा’ र ‘खाना सबैका लागि’ शीर्षकमार्फत देख्दा सानो लाग्ने तर हाम्रै घर समाजमा घटेका घटनाहरूको जानकारी सूक्ष्म रूपमा केलाई समाजमा चेतना जगाई समाजलाई सही बाटोमा डोर्याउने कार्य गरेका छन् भने ‘कुकुरका कुरा’, ‘मृगसँग बातचित’ र ‘कृष्णसारका कष्ट’ मार्फत लेखक पशु चौपायाको बाँच्न पाउने अधिकारप्रति सचेत देखिन्छन् ।

‘तीन पोर्टको रहर’ मार्फत कर्मचारीहरूको विदेश मोहको बारेमा यथार्थपरक जानकारी पाउन सकिन्छ । काठमाडौँ उपत्यकाबाट बाहिर जिल्लामा सरुवा हुँदा छोराछोरी र आमाबाबुको हेरचाह गर्नुपर्छ भनी सरुवा हुन नमान्ने, दुर्गम क्षेत्रमा गएर काम गर्न विभिन्न बाहना बनाउने कर्मचारीतन्त्र तीन तीन महिनाको विदेश भ्रमणमा जान चाहिँ मसिना बालबच्चा र बृद्ध आमाबाबुलाई छोडेर भए पनि जान खोज्ने कुराको यथार्थपरक जानकारी यस शीर्षकमा पाउन सकिन्छ । तीन ओटा पोर्ट अर्थात पासपोर्ट, एअरपोर्ट र सिपोर्ट (बन्दरगाह) को मोह रहेको र नजिकका छिमेकी देशभन्दा पनि युरोप अमेरिकाको भ्रमणमा जान मरिहत्ते गर्ने प्रवृत्तिको बारेमा लेखकले आफ्नो अनुभवसहित स्पष्टसँग जानकारी दिन सफल भएका छन् ।  

‘अमेरिकी प्रोफेसरको सरल मन्तव्य’ शीर्षकमा शिक्षा क्षेत्रसँग सम्बन्धित अति सानो कुरालाई सन्दर्भ मिलाएर सबै क्षेत्रमा सुधारका लागि जानकारी हुने गरी प्रो. जोन डेभिड स्निडरका माध्यमबाट लेखकले सबैलाई पाठ सिकाउन सफल भएका छन् ।

शौचालयमा रहेको अपशब्द बहिनीले देख्छे होला यसलाई मेट्नुपर्छ भनी अपशब्द मेट्न लागि पर्ने दाजुले शौचालयको अपशब्द मेटेर मेट्न नसकेको र जीवनभर प्रयास गरे पनि संसारभरि भएका अपशब्द मेटाउन सकिने छैन भनी विशेष गरी लेखकले शिक्षा क्षेत्रमा भएका विसंगतीहरूलाई कम गर्न प्रेरणा मिलोस् भन्ने आसय व्यक्त गरेका छन् । विद्यालय भोकै आउने बालबालिका, अपमान पूर्ण र धम्कीको अनुभव सिकेका बालबालिका, चाहेर पनि छोरो छोरीका लागि आधारभूत सामग्री दिन नसक्ने अभिभावक, आफू शिक्षक भएको नै बिर्सने प्रधानाध्यापक र बालबालिकाको अस्थायी वर्तमान लुट्न आनन्द मान्ने राजनीतिज्ञ र व्यापारीको सटिक उदाहरण प्रो. जोनको माध्यममार्फत कुनै पनि क्षेत्रमा सुधार ल्याउनका लागि पाइला चाल्न ढिलो गर्न नहुने आशयका साथ लेखकले हामीलाई सचेत गराएका छन् ।  

लेखक इन्डोनेसिया भ्रमणको क्रममा त्यहाँ पनि नेपालकै जस्तो वर्ण व्यवस्था, ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी चार जातको व्यवस्था रहेको, ठाउँठाउँमा गणेश, विष्णु लगायतका भगवानका ठुला ठुला मूर्तिहरू रहेका, हिन्दु धर्म र नेपालको संस्कृतिसँग मेला खाएको प्रसङ्ग उल्लेख गरी ‘बालीको बास’ शीर्षकमार्फत उल्लेख गरिएको पाइन्छ । इन्डोनेसिया जस्तो मुस्लिम देशमा हिन्दूहरू पनि छन् भन्ने कुरा हामी जो कसैलाई नौलो हुनसक्छ । नब्बे प्रतिशत भन्दा बढी मुस्लिमहरूको बाहुल्य रहेको इन्डोनेसियाको बाली टापुमा भने ९० प्रतिशत भन्दा बढी हिन्दुहरू रहेका र त्यहाँ धर्मको नाममा विभेद नभएको जानकारी गराएर लेखकले पाठकलाई तिर्न नसक्ने गुण लगाएका छन् । अझ रोचक कुरा के छ भने सन् २०१३ मा संयुक्त राज्य अमेरिकालाई सरस्वतीको सोह्र फिटको मूर्ति उपहार दिएबाट  इन्डोनेसियामा धार्मिक सहिसुष्णताको अनुपम नमुना रहेको पाइन्छ ।

साथै, बालीको बुमबु म कफीका बारेमा रोचक जानकारी यस शीर्षकको अध्ययनबाट पाउन सकिन्छ । कफीका दाना वन बिरालोलाई खान दिएपछि त्यसले गर्ने दिसामा कफीका दाना आउने, त्यसलाई सफा गरी प्रशोधनमार्फत कफी बनाइने र त्यो कफी सबैभन्दा महँगो हुने कुरा पाठकका लागि विल्कुलै नयाँ जानकारी हुन सक्छ । यस विषयलाई लेखकले प्रत्यक्षदर्शी जस्तै अनुभवसहित उल्लेख गरेको छन् । 

‘फिलिपिन्सको सङ्घीयता’ शीर्षकमार्फत लेखक भ्रमण टोलीको नेतृत्व गर्दै फिलिपिन्स गएका तथा फिलिपिन्स र नेपालको विद्यमान शासन प्रणालीका बारेमा दुवैतर्फका टोलीहरू बिच भएका वार्तालापहरू उल्लेख गरिएको पाइन्छ । नेपाल पनि एकात्मक शासन प्रणालीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरी अभ्यास रत रहेको र फिलिपिन्स पनि एकात्मक (राष्ट्रपतीय शासन) शासन प्रणालीबाट सङ्घीय शासन प्रणालीमा प्रवेश गर्ने क्रममा रहेकाले नेपालबाट सरकारी टोलीलाई आमन्त्रण गरी सङ्घीयता बारेमा दुवैतर्फका विज्ञ टोलीहरूबीच एक अर्कामा जानकारी आदानप्रदान गरेको प्रसङ्ग उल्लेख गरिको छ । तीन सय वर्ष स्पेनको उपनिवेश रहेको र बीसौं शताब्दीको सुरुमा पुनः अमेरिकाको उपनिवेश रहेको देश फिलिपिन्सको वर्तमान शासन व्यवस्थाको बारेमा लेखकले पाठकलाई जानकारी गराएका छन् । 

 ‘संसद विघटनदेखि संसद विघटनसम्म’ मार्फत लेखक वि।सं। २०५१ सालमा निजामती सेवामा प्रवेश गर्दा संसद विघटन भएको अवस्था र नेपाल सरकारको विशिष्ट श्रेणी ९सचिव० मा बढुवा भई आफ्नो कार्यकाल समाप्त गर्दा पनि देशमा संसद विघटन नै भएको प्रसङ्ग उल्लेख गरेको पाइन्छ । साथै, २०५१ साल देखि २०७८ सालसम्म देशमा २६ पटक प्रधानमन्त्री परिवर्तन भए बाट देशमा राजनीतिक स्थायित्व हुन नसकेको अनुमान लगाउन सकिन्छ ।

लेखकको २६ वर्षको नोकरी अवधिमा २६ पटक नै प्रधानमन्त्री परिवर्तन भएको घटना अझ रोचक बन्न पुगेको छ । विशेष गरी अहिलेको पुस्तालाई वि।सं। २०४६ सालको जनआन्दोलन, २०५२ सालमा सुरु भएको १० वर्षे सशस्त्र युद्ध, वि।सं २०६/६३ सालमा भएको १९ दिने दोस्रो (२०४६ सालको पहिलो) जनआन्दोलन लगायतका सबै आन्दोलनहरूको जानकारी भएको हुनुपर्दछ । देशमा यत्रा विधि आन्दोलनहरू भएका तर जनताको अवस्था जहाँको त्यही रहेको अहिलेको अवस्था सिर्जना हुनुमा कतै राजनीतिक अस्थिरता त बाधक भएन भन्ने आशय यस शीर्षकमार्फत जानकारी पाउन सकिन्छ ।  

 ‘नेपालको शिक्षामा मेकालेको मनोमानी’ शीर्षकमा दक्षिण एसियालाई उपनिवेश बनाई शासन सत्ता आफ्नो हातमा लिएको इस्ट इन्डिया कम्पनीले सुरुवात गरेको मेकाले शिक्षा विषेश गरी हालका भारत, पाकिस्तान, बङ्गलादेशमा लागु भएको पाइन्छ । भारतमा लागु भएपछि त्यही शिक्षा प्रणाली नेपालमा लागु भएको पाइन्छ । अङ्गे्रजले आफ्नो शिक्षा प्रणालीलाई युरोपको उत्कृष्ट बनाए । स्वावलम्बी, प्रविधिमैत्री, व्यावसायिक, वैज्ञानिक, समय सापेक्ष र देशलाई चाहिने उपयुक्त प्रणाली बनाए ।

तर दक्षिण एसियाको शिक्षा पद्धतिलाई औपनिवेशिक बनाए, केही गर्न नसक्ने, अर्कामा भर पर्नुपर्ने र कारिन्दा उत्पादन गर्ने शिक्षा थोपरिदिए । परम्परागत शिक्षा पद्धतिलाई ध्वस्त पारिदिए भने नयाँ शिक्षा पनि परनिर्भर तामा आधारित बनाइदिए । मेकाले शिक्षाबाट समग्र राष्ट्रको शिक्षा प्रणालीमा पारेको प्रभाव उल्लेख गरी हाल हामी यसैको शिकार भइरहेका छौं भनी यस शीर्षकमार्फत लेखकले हामीलाई सचेत गराएका छन् ।

साथै, अर्काको नोकरी गर्ने, लाए अह्राएको मात्र काम गर्ने, सके विदेशमा नसके स्वदेशमा काम गर्ने यस्तो प्रवृत्तिको विकास गराउने हालको विद्यमान शिक्षा प्रणाली नै मेकाले शिक्षा प्रणाली हो । नेपालले शैक्षिक क्षेत्रमा जति लगानी बढाए पनि यही शिक्षा प्रणालीको अवशेष अझै बाँकी रहेका कारण हालसम्म पनि देशले शैक्षिक क्षेत्रमा आशा गरिए अनुसारको उपलब्धि हासिल गर्न नसकेको आसय यस शीर्षकमार्फत लेखकले समाजलाई सुसूचित गराउन सफल भएका छन् ।   

गुरुकुलीय शिक्षा वैदिक दर्शनको आधारमा चलेका हुन्छन् । जहाँ सिकाउनुका लागि गुरु र सिक्नका लागि गुरुकुल चाहिन्छ । पूर्व कालमा वेद, महाभारत, रामायण, पुराण कसरी उत्पत्ति भए, यिनीहरुको लेखन, कसरी सम्भव भयो, विना औपचारिक शिक्षा कसरी अगाडि बढ्यो आदि बारेमा यस शीर्षकमा उल्लेख गरेको पाइन्छ । हाल शिक्षाको कुरा गर्दा निश्चित समय, निश्चित पाठ्यपुस्तक र निश्चित स्थानमा पठनपाठन गरिने शिक्षा प्रणाली र शिक्षा व्यवस्थापनका प्रकारहरू यहाँसम्म आइपुग्न गुरुकुलीय शिक्षा नै आधार भएर आएको छ ।

वैदिक कालमा शिक्षाको विकासक्रम कसरी भयो भन्ने कुराको जानकारीदेखि हालको आधुनिक शिक्षा प्रणालीसम्मको बारेमा ‘वैदिक दर्शन : गुरुकुल शिक्षाको  आधार’ शीर्षकमार्फत लेखकले पाठकलाई सरल ढङ्गबाट जानकारी दिएका छन् । 

 अदावी शब्द प्रायः हामीलाई नयाँ लाग्न सक्छ तर यस पुस्तकमा प्रयोग भएको छ र यस पुस्तकको एउटा शीर्षक नै अदावी राखिएको छ । अदावी भनेको त्याग हो र मानिसले त्याग गर्नुपर्ने कुरामा जोड दिएको पाइन्छ । आफू संलग्न नभएको विषयमा पनि दावी गर्ने जुन हाम्रो नराम्रो प्रवृत्ति छ त्यसलाई यसले केही हदसम्म प्रस्ट्याउने काम गरेको छ ।

वैदिक कालमा पनि अदावीका थुप्रै उदाहरणहरू पाउन सकिन्छ । जस्तै, ऋषि दधीचि, मर्यादा पुरुषोत्तम श्रीराम, राजा शिवि, दानवीर कर्ण, राजा वली, राजा हरिश्चन्द्र, राजा युधिष्ठिर लगायत आफ्नो नियम र आचरणमा रही आफ्नो कर्तव्यबाट विमुख नभई केही कुराको पनि मागदावी नगरी अदावीमा नै सन्तुष्ट भएर बसे । साथै वर्तमान समयमा वि.सं. २०४६ सालको जनआन्दोलन सफल भएपछि स्व। गणेशमान सिंहले आफूलाई प्राप्त प्रधानमन्त्री पद समेत अस्वीकार (अदावी) गरी आफ्ना सह पाठीलाई दिएको विषय हामी सबैलाई जानकारीमा नै रहेको छ । यी अदावीका केही उदाहरणहरू मात्र हुन् । 

 थोरै योगदान गरेर धेरै दावी गर्ने प्रवृत्ति मौलाउँदै गएको वर्तमान समयमा अमूल्य योगदान गरेर पनि कुनै किसिमको दावी नगर्ने पात्रहरू हाम्रो समाजमा अझै पनि छन् र ती हामी सबैका लागि अनुकरणीय हुने गरेका छन् । वर्तमान अवस्थामा मानिस आफ्नो स्वार्थका लागि जुनसुकै कार्य गर्न पनि तयार हुन्छ ।

सडकमा पशु चौपाया छाड्ने अनि दुर्घटना भई चौपायाको मृत्यु भएमा अस्वभाविक दावी गर्ने मानवीय संवेदनाको पराकाष्टा पनि देखिने र सुनिने गरिएकै हो । धार्मिक हिसाबले पनि अहिलेको समयलाई कलि युगको संज्ञा दिएको पाइन्छ । तर पनि अदावीको उदाहरण प्रशस्तै पाउन सकिन्छ । जस्तो, कसैको हराएको पैसा, गरगहना वा यस्तै बहुमूल्य सामानहरू भेटेमा विभिन्न माध्यममार्फत सम्बन्धितलाई फिर्ता दिएको पनि हामीले थाहा पाइरहेका हुन्छौं ।

दीन दुःखीहरूलाई उदार हृदयका साथ निस्वार्थ सहयोग गरेको पनि हामी यही समाजमा पाउँछौं । यसबाट के सिक्न जरुरी छ भने, सकिन्छ निस्वार्थ भावले सहयोग गरौं केही चिज वा वस्तुको दावी नगरौं, यदि केही गर्न सकिदैन भने कसैको पनि केही नबिगारौँ भन्ने मूल सन्देश अदावी शीर्षकमार्फत लेखकले वर्तमान समाजलाई दिन खोजेका छन् ।   

यस पुस्तकमा समसामयिक, शिक्षा, अध्यात्म, राजनीति, पशु अधिकार लगायत समाजका जल्दा बल्दा विषयवस्तु उठान गरेको पाइन्छ । ‘आमाबुबाका कुरा’, ‘हिजो र भोलि’, ‘ बिहेका कुरा’ र ‘खाना सबैका लागि’ शीर्षकमार्फत देख्दा सानो लाग्ने तर हाम्रै घर समाजमा घटेका घटनाहरूको जानकारी सूक्ष्म रूपमा केलाई समाजमा चेतना जगाई समाजलाई सही बाटोमा डोर्याउने कार्य गरेका छन् भने ‘कुकुरका कुरा’, ‘मृगसँग बातचित’ र ‘कृष्णसारका कष्ट’ मार्फत लेखक पशु चौपायाको बाँच्न पाउने अधिकारप्रति सचेत देखिन्छन् । साथै, ‘बालीको बास’, ‘फिलिपिन्सको सङ्घीयता’ र ‘संसद विघटनदेखि संसद विघटनसम्म’ मार्फत पाठकलाई राजनीतिक चेतनाको जानकारी दिन पनि उत्तिकै सफल रहेका छन् । 

संसारमा रहेका भएका सबै चिजहरू एकै ठाउँमा एकीकृत गर्न कठिन हुन्छ । एउटा फूलको माला गाँस्दा पनि संसारभरका फूलहरू समावेश गर्न सकिँदैन । पाएसम्म जति थरी फूलहरू गाँस्न सकिन्छ, त्यतिमा पनि एउटा सुन्दर, आकर्षक माला बन्न पुग्दछ । पुस्तकको शीर्षक  ‘मालामा नउनिएका फूलहरू’  भए तापनि वास्तवमा अधिकतम फूलहरूको समावेश गरी एकीकृत संगालोको रूपमा आएको हुनाले यस कृतिलाई ‘मालामा उनिएका फूलहरू’ भन्दा अत्युक्ति नहोला । 

समाजका विविध पक्षलाई मिहिन रूपमा पुस्तकका माध्यमबाट पाठक समक्ष पस्कन सक्नु लेखकीयको विशेषता हो । हाम्रै वरिपरि रहेका सामान्य विषयवस्तुलाई टपक्क टिपेर साहित्यको माध्यमद्वारा पाठकलाई जानकारी गराउन सफल भएका छन् लेखक । विभिन्न बिस शीर्षकमा विभाजित पुस्तक पढ्दा कति पनि पट्यार लाग्दैन ।

अब के होला, कहिले अर्को शीर्षकमा पुगिएला भन्ने कौतुहलताका साथ अगाडि बढ्न हतारो हुन्छ पाठकलाई । यस पुस्तकमा प्रयोग भएका भाषा, शैली सरल हुनाका साथै छोटा छोटा वाक्य गठनलगायत विविध पक्षबाट यसको मूल्याङ्कन गर्दा यो कृति उत्कृष्ट रहेको छ । साथै, कृति मूल्याङ्कनका आधारमा उत्कृष्ट कृतिको रूपमा छनोट हुने अवसर पाउने छ भन्ने विश्वास गर्न सकिन्छ । यस पुस्तकलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरी विद्यालय तथा उच्च शिक्षाका कक्षाकोठासम्म पुर्याउन हामी सबैको पहल हुन जरूरी ठान्दछु ।

 अन्तमा, लेखकले विभिन्न २० शीर्षकहरूका माध्यमबाट विभिन्न क्षेत्रको बारेमा यथार्थपरक जानकारीमार्फत समाज परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गरेका छन् । समाजमा पर्ने सकारात्मक परिवर्तनका लागि यो पुस्तक उपयोगी हुने कुरामा विश्वास गर्न सकिन्छ । साथै  ‘मालामा नउनिएका फूलहरू’  पुस्तकले समाजलाई सू–सूचित गर्न योगदान गर्ने भएकाले यस पुस्तकका लेखक डा। खगराज बराल धन्यवादका पात्र हुन् । लेखकबाट भावी दिनमा यस्तै सरल तथा सन्देश मूलक उत्कृष्ट पुस्तकको अपेक्षा गरिएको छ ।
कृति : मालामा नउनिएका फूलहरू
विधा : गैह्र आख्यान अनुभूति
लेखक : डा। खगराज बराल
प्रकाशक : शिखा बुक्स प्रा.लि.
संस्करण : पहिलो (२०७८)
पृष्ठ : ३२४
मूल्य : रु ४७५



रामेछाप