विनय लामा: संगीतका अथक गुमनाम साधकसँगको पहिलाे कुराकानी !
बैशाख २४, २०७९

उहाँको जन्म २०२२ सालमा धरानमा भएको हो । उहाँको पिताजी ब्रिटिश आर्मी अन्तर्गत सिंगापुर पुलिसमा हुनुहुन्थ्यो । आमा भने सरकारी स्कूलको शिक्षिका । त्यस हिसाबले पनि उहाँको आर्थिक अवस्था राम्रै थियो । के लाउ र के खाउको स्थिति थिएन । चाहेको लाउन खान कुनै समस्या थिएन । 

उहाँको जन्म धरानमा भए पनि शिक्षा दिक्षा सबै दार्जिलिङमा भयो । अरुको बाल्यकाल जस्तै उहाँको बाल्यकाल पनि गुच्चा खेल्ने, साथीभाइ मिलेर रमाइलो गर्ने आदि इत्यादिमै बितेको हो । 

०००
उहाँको पढाइ भने दार्जिलिङको गभर्मेन्ट हाइस्कुलमा भएको हो । एघार कक्षासम्म गभर्मेन्ट हाइस्कुलमा पढेपछि फेरि अगाडिको शिक्षा भने गभर्मेन्ट कलेजमा भयो । त्यस बेला बोर्डिङ स्कूलको प्रचलन आइसकेको थिएन । त्यसकारण गभर्मेन्ट हाइस्कुल भनेपछि एकदमै राम्रो स्कूल मानिन्थ्यो । भवन एकदमै राम्रो थियो भने बस्ने डेस्क बेञ्च पनि उस्तै राम्रा थिए । दार्जिलिङको उत्कृष्ट स्कूल मध्येको एक थियो गभर्मेन्ट स्कूल । स्कूल छात्र स्कूल थियो । 

‘ए’ र ‘बी’ गरी दुईवटा सेक्सन हुन्थे । ‘ए’ सेक्सनमा बंगालीहरु हुन्थे भने ‘बी’ मा नेपालीहरु । बंगालीहरु पढ्नमा तेज हुन्थे । नेपाली र बंगालीको पढ्नमा प्रतिस्पर्धा नै हुन्थ्यो । एउटा कक्षामा करिब ३०/३५ जना हुन्थे । 

उहाँ पढाइमा उत्कृष्ट तथा निकृष्ट दुवै खालको विद्यार्थी होइन । मध्यम खालको विद्यार्थी हुनुहुन्थ्यो । बसाइ पनि त्यस्तै थियो, न अगाडि न पछाडि । अतिरिक्त क्रियाकलाप एकदमै धेरै हुन्थ्यो स्कूलमा । उहाँको रुची भने फुटबलमा थियो । फुटबलमा पनि विशेष गरी उहाँको रुची गोलकिपरमा थियो । संगीतमा पनि उहाँको राम्रै रुची थियो । विभिन्न कार्यक्रमहरुमा उहाँको सहभागिता रहिरहन्थ्यो । 

०००

नेपालमा एसएलसी भनेजस्तै त्यहाँ भने माध्यमिक परीक्षा हुन्थ्यो । उहाँले कलेज पनि गभर्मेन्ट कलेज दार्जिलिङमा नै पढ्नु भएको हो । कलेज सकिएपछि भने उहाँ संगीत पढ्नका लागि रविन्द्र भारती विश्वविद्यालय कलकत्ता जानुभयो ।

विशेषगरी शास्त्रीय संगीतको कोर्ष ६ देखि ८ वर्षको हुने गर्छ रविन्द्र भारतीमा । तर, उहाँले भने ४ वर्ष मात्र उक्त कोर्ष गर्नुभयो । उहाँले संगीतमा प्रवीणको कोर्ष पूरा गरेर त्यसपछि लाइभ म्युजिक तिर लाग्नुभयो ।

घरबाट पठाएको पैसा सीमित लाग्न थालेपछि उहाँ ब्यान्डहरूमा काम गर्न थाल्नु भयो । लाइभ म्युजिकमा त्यतिबेला कलकत्ताको सेभेन स्टार एकदमै चर्चित ब्याण्ड हो । उहाँ भने जुनियर सेभेन स्टारमा काम गर्नुहुन्थ्यो । उहाँको मुख्य काम भनेकै गाउने तथा बजाउने थियो । 

०००

कलकत्तामा काम गरेर फर्किएपछि उहाँ धरान हुँदै काठमाण्डौ आउनु भयो । कलकत्ताबाट फर्किएपछि भने उहाँ संगीतमा आबद्ध नभएर अमरदीप भन्ने थिमिको बोर्डिङ स्कूलमा पढाउन थाल्नुभयो । त्यहाँ उहाँले डेढ/दुई वर्ष पढाउनु भयो ।

२०४२ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गर्नु भएको हो । रेडियोमा उहाँका धेरै गीत छैनन् । उहाँका चार वटा एल्बम तथा अन्य गीत गरेर ५०/६० होलान् । ती चार वटा एल्बममा लगानी गर्ने दार्जिलिङ, कालिम्पोङका साथीहरु भएका हुनाले उहाँको एल्बम काठमाण्डौमा भन्दा पनि दार्जिलिङ, कालिम्पोङ तथा आसामतिर धेरै चर्चित छन् ।

त्यसपछि उहाँले करिब ३४ वर्ष होटलमा गाउने तथा बजाउने काम गर्नुभयो । सोल्टी होटलमा उहाँले करिब १२ वर्ष काम गर्नुभयो । त्यसपछि अम्बर रेष्टुरेण्ट दरबारमार्गमा काम गर्नुभयो । अम्बर रेष्टुरेण्टपछि भने उहाँले नेपाल आर्मीमा काम गर्नुभयो । उहाँले नेपाल आर्मीमा ६ वर्ष काम गर्नुभयो । 

०००

नेपाल आर्मीपछि भने उहाँले लामो समय विदेश गएर संगीतको काम गर्न थाल्नुभयो । जसमा १४ महिना तिब्बतको ल्हासा, बंगलादेश, दुबई तथा कतारको होटलहरुमा कम्तीमा ६ महिना गाउने बजाउने गर्नुभयो । 

हाल भने उहाँ आफ्नै मोहनालाय संगीत पाठशालामा ‘भोकल’को तालिम दिने गर्नुहुन्छ । त्यसका अलावा होटलहरुमा आउने विशेष अफरहरु तथा संगीत संयोजन गर्ने गर्नुहुन्छ । 
कलकत्तामा त्यस बेला काम गर्दा उहाँले करिब पाँच सय कमाउनुहुन्थ्यो । त्यो रकम भनेको त्यस बेला राम्रै मानिन्थ्यो । त्यो नै उहाँको पहिलो कमाइ थियो । त्यसबेला कलकत्ताको सेभेन स्टार ‘ए’ को प्रमुखमा गोपाल योञ्जनको भतिज बिजु योञ्जन हुनुहुन्थ्यो । उहाँले पछि बिजुसँग पनि पाश्चात्य संगीत सिक्नुभयो । 

बिजु योञ्जन पछि कलकत्ता छोडेर मुम्बई जानु भयो । हाल योञ्जन संगीतकार राजेश रोशनको मुख्य संगीत संयोजकका रुपमा काम गरिरहनु भएको छ । मोहमद अजिज, उषा उत्थुप लगायत हाल मुम्बईको फिल्म उद्योगमा चर्चित नामहरु त्यस बेला सेभेन स्टारमा गाउने काम गर्नुहुन्थ्यो । 

०००
उहाँको विवाह २०५२/५३ सालतिर भएको हो । उहाँको श्रीमती शिक्षण पेशामा हुनुहुन्छ । उहाँको दुई छोरा तथा एक छोरी हुनुहुन्छ । उहाँको कान्छो छोरा भने संगीत विधातर्फ नै हुनुहुन्छ । भ्वाइस अफ नेपालको पहिलो सिजनमा जजहरूले निकै मन पराएका विवेक लामा उहाँको कान्छो छोरा तथा संगीतको चेलो पनि हुनुहुन्छ । 

०००

उहाँले २०४२ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गर्नु भएको हो । रेडियोमा उहाँका धेरै गीत छैनन् । उहाँका चार वटा एल्बम तथा अन्य गीत गरेर ५०/६० होलान् । ती चार वटा एल्बममा लगानी गर्ने दार्जिलिङ, कालिम्पोङका साथीहरु भएका हुनाले उहाँको एल्बम काठमाण्डौमा भन्दा पनि दार्जिलिङ, कालिम्पोङ तथा आसामतिर धेरै चर्चित छन् । उहाँ अहिले पनि वर्षमा चार वटा कार्यक्रम गर्न दार्जिलिङ, कालिम्पोङ, सिक्किम तथा आसाम जाने गर्नुहुन्छ । 

उहाँले सोल्टी होटलमा गाउँदा पनि सुन्ने पाहुना भनेका भारतीय नै धेरै हुन्थे । त्यो बेला अहिले जस्तो नेपालीहरु होटलमा जाने, खाने अनि कार्यक्रम गर्ने खास प्रचलन सुरु भएको थिएन । शाह, राणाहरू तथा अन्य धनाढ्य तथा खानदानी मानिसहरु अलि अलि आउँथे सुन्नका लागि । 

०००

काठमाडौँ उहाँका गीत भन्दा पनि संगीत चर्चामा छन् । विश्वासघात तथा छहारी फिल्मको संगीत निर्देशन उहाँले गर्नुभएको हो । इन्दिरा गोलेले गाएको ए होइ भन्ने निकै चलेको तामाङ सेलोमा पनि उहाँको संगीत रहेको छ । 

उहाँको उक्त तामाङ सेलो आफ्नो समुदायमा भने निकै नै चर्चित रहेको छ । उहाँको अनुभवमा तामाङ कलाकारहरु एकदमै राम्रो गाउने भए पनि आफ्नो समुदाय भन्दा बाहिर आउन नरुचाएको पाउनु भयो । 

तामाङ समुदायको विदेशमा पनि राम्रो उपस्थिति भएका कारण निर्मला मोक्तान, शशीकला घिसिङ लगायतका तामाङ कलाकार वर्षमा नौ महिना जति विदेश जाने अनि तामाङ समुदायमा नै रमाएको उहाँले पाउनु भयो । 

०००

काठमाडौँ आएपछि करिब १२ वर्ष उहाँको गोपाल योञ्जनको सान्निध्यमा रहेर संगीतको साधना गर्नुभयो । आधुनिक तथा सुगम संगीतको मुख्य गुरु गोपाल योञ्जनलाई मान्नुहुन्छ । 
नेपाल पुलिसले त्यसबेला राजा, रानीका लागि किंग्स शो भन्ने कार्यक्रम गर्ने गर्थ्यो । त्यसको मुख्य संयोजन गोपाल योञ्जनले गर्ने गर्नुहुन्थ्यो भने । योञ्जनको सहायकका रुपमा त्यसको बाँकी जिम्मेवारी उहाँको रहने गथ्र्यो । 

गोपाल योञ्जन पद्म कन्या कलेजमा पनि संगीतको प्राध्यापक हुनुहुन्थ्यो । त्यहाँ पनि उहाँ योञ्जनको सहायकका रुपमा काम गर्नुहुन्थ्यो । दार्जिलिङमा एक पटक भानु जयन्तीका अवसरमा ठूलो कार्यक्रम भएको थियो । कार्यक्रममा संगीता प्रधान, सुनिता सुब्बा, उहाँ लगायतका कलाकार  काठमाडौँबाट जानु भएको थियो । 

०००

दार्जिलिङका भने नयाँ देखि पुराना सबै कलाकार संलग्न थिए कार्यक्रममा । अरुणा लामा, बद्री, दुर्गा खरेल लगायत अन्य कलाकारको पनि संलग्नता थियो । कार्यक्रममा ताल बाजमा छाला बाजा बजाउनेहरु १२/१५ जना थिए । भ्वाइलिनमा त अर्केष्ट्रा नै थियो । यति ठूलो कार्यक्रम दार्जिलिङमा भएको शायदै होला । 

नारायण गोपालसँग पनि उहाँको तीन/चार पटक भेट भयो गोपाल योञ्जनको घरमा । गोपाल योञ्जन र नारायण गोपाल दुवैजना चेसको एकदमै सौखिन । दुवै जना घण्टौं चेस खेलिरहँदा उहाँहरुको सेवामा पनि उहाँ खटिनुहुन्थ्यो । 

सुक्मित गुरुङ, मिरा राणा, किरण प्रधान पनि गोपाल योञ्जनकोमै आइरहनुहुन्थ्यो । पछि योञ्जनले नभ्याउँदा त्यहाँ पनि उहाँले सहायकको काम गर्नुभयो । 

०००
दार्जिलिङमा सन् १९८० र ८१ मा उहाँले उत्कृष्ट गायकको पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँ आफ्नै हिसाबमा संगीत कर्ममा लागिरहनु भएको छ । प्रतियोगिता, पुरस्कार अनि सम्मानमा उहाँको रुचि तथा त्यति विश्वास छैन । रमाइलो कुरो के छ भने अहिलेसम्म कुनै  पनि सञ्चार माध्यमसँग भएको यो नै उहाँको पहिलो कुराकानी हो !