'ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय'

'ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले ओलीको पालामा ऋणमय बनेको देश अब विस्तारै अनुदानमय बन्न लागेको बताए । 

‘ओलीको पालामा देश ऋणमय भयो । ऋण बढ्याबढ्यै । त्यो ऋण कस्तो ठाउँमा प्रयोग भयो भने अनुत्पादक क्षेत्रमा’, महतले भने, ‘१९ अर्ब त उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर विश्व बैंकलगायतबाट ऋण लिएर सबै आफ्नो मान्छेहरू, कार्यकर्ताहरूलाई बाँड्नुभयो । त्यसले न स्वरोजगार सिर्जना गर्‍यो, न त रोजगार ।’ 

ओलीले ऋण लिएर घ्यू खाने काम गरेको उनको आरोप छ । ‘ऋण लिएर घ्यू खाने भन्छन्, त्यही काम गरे’, महतले भने, ‘घ्यू खाए पनि सबै जनताले पाउने गरी दिएको भए त ल दियो भन्न हुन्थ्यो, केही सीमित व्यक्तिहरूले घ्यू खाए, त्यो पनि ऋण लिएर ।’

ओलीले अहिले पनि सरकारको नेतृत्व गरिराखेका भए देश श्रीलंकाको बाटोमा गइसकेको हुने उनको भनाइ छ । ‘ओलीजी भइराखेको भए देश श्रीलंकाको बाटोतर्फ उन्मुख हुन्थ्यो । ऋणमाथि ऋण लिने । त्यसमा ठूलो कमिसनको खेल’, उनले भने, ‘हामीले अब ऋणलाई प्राथमिकतामा नराख्ने, लिनै पर्ने भयो भने पनि धेरै उत्पादनशील क्षेत्रमा, त्यो पनि न्यून ब्याजदरमा । शून्य ब्याजदर, ०.५ प्रतिशत ब्याजदर । विश्व बैंक, एडीबीले सहुलियत दरको ऋण दिन्छन्, त्यस्तो लिने ।’

वर्तमान सरकारले ऋण लिनै परेको खण्डमा सहुलियत दरमा मात्र लिने गरेको उनको भनाइ छ । ‘कमर्सियल रेटमा ऋण लिने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने अनि त्यहाँको लागत बढाइराख्ने, त्यसबापत कमिसन खाइराख्ने र कहिल्यै तिर्न नसक्ने गरी श्रीलंकाको बाटोमा पुर्‍याउने दुष्चक्र थियो’, उनले भने ।  

अहिले ऋणमयबाट मुक्त देश अनुदानमय भइरहेको उनको भनाइ छ । ‘झन्डै ६० अर्ब रुपैयाँ हामीले एमसीसीअन्तर्गत अनुदान पाएका छौँ । तत्कालै फेरि अमेरिकाले ८० अर्ब रुपैयाँ अनुदान दिने सम्झौता भइसकेको छ । जम्माजम्मी १४० अर्ब रुपैयाँ अनुदान अमेरिकाले दिन लागेको छ । यत्रो ठूलो अनुदान नेपालको इतिहासमा एकै पटक आको छैन’, महतले भने ।   

भारत, चीनलगायतका अन्य देशबाट पनि अनुदान सहयोग आइरहेको उनको भनाइ छ । ‘भारतमा पनि प्रधानमन्त्रीद्वयको भेट भयो । त्यसपछि भारत सकारले पनि सहयोगको हात उदारताका साथ अनुदानलाई बढाउने भएको छ', महतले भने, ‘चिनियाँ विदेशमन्त्री नेपाल आउनुभयो । उहाँले पनि अनुदान सहयोग गर्ने कुरा अघि बढाउनुभएकाे छ । नेपाली कांग्रेसको सरकार बनेपछि अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बढेको छ ।’