प्रविधिले परिष्कृत गरेको चुनाव प्रचार शैली: मोबाइल एपदेखि ड्रोनसम्मको प्रयोग

प्रविधिले परिष्कृत गरेको चुनाव प्रचार शैली: मोबाइल एपदेखि ड्रोनसम्मको प्रयोग

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७९

२०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि मुलुकमा २०४८ सालको वैशाख महिनामा पहिलो संसदीय निर्वाचन भएको थियो । त्यसबेला चुनाव प्रचारप्रसारको मुख्य शैली भित्तेलेखन र पोस्टर टाँस्ने हुन्थ्यो । चुनावको मितिभन्दा महिना दिनअघिदेखि पार्टीका कार्यकर्ताहरू चुनावको प्रचारप्रसारमा लागेका हुन्थे ।

विभिन्न पार्टीका उम्मेदवारहरूको प्रचार र भोटका लागि अपिल गर्दै मुख्य सडकदेखि भित्री गल्ली छेउछाउका कुनै पनि पर्खाल, गाह्रो वा कुनै पनि खाली ठाउँ बाँकी नराखी भित्तेलेखन गरिएको हुन्थ्यो । आ–आफ्ना उम्मेदवारका पोस्टर टाँस्ने होडबाजी नै चल्ने गर्थ्यो । सार्वजनिक स्थलहरूमा जता हेरे पनि विभिन्न थरिका पम्प्लेट र पोस्टरहरू मात्र देखिन्थे ।

त्यसबेला शहर बजारका साथै गाउँगाउँका मुख्य चोकहरूमा ठूलाठूला ब्यानर र तुलहरू टाँग्ने, गाडीबाट माइकिङ गर्दै घुम्ने र बाटाबाटामा पर्चाहरू छर्ने तरिका पनि निकै प्रचलित थियो । चुनाव नजिकिँदै जाँदा ठूलाठूला जुलुस र र्‍याली अनि आमसभा र भाषणबाजी पनि खुबै हुने गर्थे । साइकल र मोटरसाइकल र्‍याली पनि त्यसबेला चुनाव प्रचारप्रसारका चल्तीका काइदा हुने गर्थे । चुनाव प्रचारका यस्ता शैली २०४८ हुँदै २०५१ र २०५६ सालका संसदीय निर्वाचनमा मात्र होइन, २०४९ र २०५४ का स्थानीय निकायका निर्वाचनमा समेत व्यापक रूपमा प्रचलित थिए ।

२०७९ सालमा हुन लागेको स्थानीय तह निर्वाचनमा भने प्रचारप्रसारको शैलीमा व्यापक परिवर्तन आएको छ । माथि उल्लेख गरिएका चुनाव प्रचारका प्रायः तरिकाहरू हिजोआज अभ्यासमा छैनन् । मुलुकको निर्वाचन आचारसंहिताले चुनाव प्रचारप्रसार गर्ने तरिका मात्र होइन, यसक्रममा गरिने खर्चको समेत सीमा निर्धारण गरिदिएका कारण ती पुराना शैलीहरू लगभग विस्थापित भएका छन् । फलतः चुनाव प्रचारप्रसारका नयाँनयाँ र आधुनिक शैलीहरू भित्र्याइएका छन् ।

हालै संशोधित निर्वाचन आचारसंहिता, २०७८ अनुसार चुनाव प्रचारमा धेरै भिड गरेर सभा-जुलुस गर्न, मोटरसाइकल  र्‍याली गर्न र अनलाइन, टेलिभिजन तथा सार्वजनिक स्थलहरूमा उम्मेदवारका प्रचार सामग्री राख्नेजस्ता भड्किला प्रचारप्रसारमा बन्देज लगाएको छ । सानातिना भेला वा र्‍यालीको आयोजना गर्दासमेत स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । १८ वर्षभन्दा कम उमेरका कसैलाई पनि चुनाव प्रचारमा सरिक गराउन नपाइने भएको छ ।

आचारसंहिताअनुसार उम्मेदवारहरूले बढीमा २ वटा सवारी साधन वा ४ वटा घोडा मात्र निर्वाचनको प्रचारप्रसारका लागि प्रयोग गर्न पाउँछन् । स्थानीय तहका उम्मेदवारहरूले टेलिभिजन वा रेडियोका माध्यममा १ मिनेटभन्दा छोटो प्रचार सामग्री १ दिनमा २ पटकसम्म मात्र प्रसारण गर्न पाउँछन् । आचारसंहिताले कुन पदका उम्मेदवारले चुनाव प्रचारका क्रममा कति पैसासम्म खर्च गर्न पाउने भनेर मापदण्ड नै तोकिदिएको छ ।

आचारसंहितामा उल्लेख गरिएका बुुँदाहरूको उल्लंघन गरेको पाइएमा त्यस्ता उम्मेदवारको उम्मेदवारी नै रद्द गर्न सकिने प्रावधानका कारण यस पटकको निर्वाचनमा प्रचारप्रसारका शैलीहरू फेरिएका हुन् ।यस पटक चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवारहरूले प्रचारप्रसारको मुख्य साधनका रूपमा प्रविधिको प्रयोग गरेका छन् । अहिले हरेक मानिसका हातहातमा हुने मोबाइल र उनीहरूले प्रयोग गर्ने सामाजिक संजाललाई उम्मेदवारहरूले प्रचारको माध्यम बनाएका छन्, जुन भरपर्दो पनि सावित भएको छ । उम्मेदवारहरूले आफ्नो घोषणापत्र, प्रतिबद्धता र प्रचार गर्नुपर्ने हरेक विषयहरूलाई फेसबुक, इन्स्टाग्राम र ट्वीटरका माध्यमबाट मतदातासम्म पुर्‍याइरहेका छन् ।

आसन्न निर्वाचनका लागि विभिन्न पार्टी र उम्मेदवारहरूले प्राविधिक टोली नै खडा गरेर प्रचारप्रसार गरिरहेका छन् । थुप्रै उम्मेदवारहरूले चुनावका लागि छुट्टै फेसबुक पेज बनाएका छन् । त्यस्तै, अहिलेको चल्तीको मोबाइल एप टिकटकलाई पनि धेरैले चुनाव प्रचारका लागि प्रयोग गरिरहेका पाइएको छ ।

गत साता तनहुँमा भएको नेपाली कांग्रेस पार्टीको एउटा चुनावी सभामा ड्रोनको प्रयोग गरिएको थियो । कांग्रेसको चुनावी सभा भइरहेको समयमा पार्टीको झन्डा फहराउँदै उडेको ड्रोनले सभास्थलमा पुष्पवृष्टिसमेत गरेको थियो । यसलाई चुनावी अभियानका क्रममा उपयोग गरिएको उदाहरणीय शैली मान्न सकिन्छ । वास्तवमा यो प्रविधिको रचनात्मक प्रयोग पनि हो । अझ भनौँ, चुनावी प्रचारप्रसार शैली एनालगबाट डिजिटलमा रूपान्तरण भएको छ ।

निर्वाचन आचारसंहिताले धेरै विषयहरूमाथि कडाइ गरेका कारण आसन्न स्थानीय तहको निर्वाचनमा प्रायः जसो राजनीतिक दलहरूले घरदैलो कार्यक्रमलाई व्यापकता दिएका पाइएको छ । प्रायः दलहरूले केही कलाकारहरूको सांस्कृतिक टोली नै बनाएर घरदैलो अभियानमा जाने, त्यहाँ पार्टीका गीत घन्काउँदै नाच्दै गाउँदै चुनाव प्रचार गर्ने प्रवृत्ति व्यापक देखिएको छ । मतदाताहरूलाई आफूतर्फ आकर्षित गराउन पार्टीका उम्मेदवार र कार्यकर्ताहरू सांस्कृतिक टोलीसहित गाउँगाउँ र नगर क्षेत्रमा समेत डुलिरहेका देख्न सकिन्छ ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका मुख्य दलहरू नै अगाडि देखिएका छन् ।

त्यस्तै, पछिल्लो समय चल्तीका कलाकारहरूलाई आफ्नो पार्टीमा भित्र्याएर उनीहरूको लोकप्रियतालाई चुनावका बेलामा प्रयोग गर्ने राणनीति ठूला दलहरूले अपनाएका देखिएको छ । नायिकाहरू करिश्मा मानन्धर, रेखा थापा, नायक भुवन केसीदेखि गायक/गायिकाहरू बद्री पंगेनी, कोमल वली, राधिका हमाल र हास्य कलाकार मनोज गजुरेल आदिको विभिन्न पार्टी प्रवेशलाई त्यसैको कडीका रूपमा लिन सकिन्छ ।

त्यस्तै, पूर्वी जिल्लाहरूमा उम्मेदवारले आफ्नै शब्दमा चुनावी गीत रेकर्ड गराउने र धरदैलो कार्यक्रममा आफैँले गाएर चुनावको प्रचारप्रसार गर्ने चलन चलेको छ । दमकस्थित सप्तरंगी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराईले अहिले दैनिक एक दर्जनजति उम्मेदवारका गीत आफ्नो स्टुडियोमा रेकर्ड भइरहेको बताउनुभयो । त्यस्तै, चलेका गीतहरूको धूनमा आफ्ना शब्द भरेर चुनावी प्यारोडी गीत रेकर्ड गराउने र चुनाव प्रचारप्रसारमा प्रयोग गरिने क्रम पनि बढ्दै गएको भट्टराईले बताउनुभएको छ ।

केही स्थानमा भने निर्वाचन आचारसंहिताले तोकिदिएको मापदण्ड उल्लंघन गर्दै चुनाव प्रचारप्रसार भइरहेका समाचार पनि बाहिर आएको छ । विशेषगरी तराईका र सीमा क्षेत्रका जिल्लाहरूमा ठूलाठूला व्यानर र पोस्टरहरू टाँस्ने, लाउड स्पिकरको प्रयोग गरेर होहल्लासहित प्रचार गर्ने, तोकिएको भन्दा बढी भिड जम्मा गर्नेे, आचारसंहिताविपरीत भारतीय नम्बर प्लेटका गाडी र मोटरसाइकलको व्यापक प्रयोग गर्नेजस्ता कार्य भइरहेका समाचार पनि सार्वजनिक भइरहेका छन् ।

जनकपुरलगायत मधेसका सबै जिल्लाका ग्रामीण भेगहरूमा भारतीय नम्बर प्लेटका सवारी साधनमा चर्को आवाजका लाउड स्पिकरमा डीजेको प्रयोग गरेर चुनाव प्रचारप्रसार भइरहेको समाचार छ । स्थानीय प्रशासनले कडाइ गर्न खोजे पनि तराईका जिल्लाहरूमा यो प्रवृत्ति झनै मौलाउँदै गएको भन्दै जिल्ला निर्वाचन कार्यालयकी प्रमुख पुष्पा झाले चिन्ता व्यक्त गर्नुभएको छ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार