प्रधानमन्त्री देउवालाई भेट नदिएका यी २ नेता

प्रधानमन्त्री देउवालाई भेट नदिएका यी २ नेता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका २ नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् ।

देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गरे । ओझालाई सोमबार दिउँसो देउवाले भेट्न चाहेका थिए तर ओझाले भेटका लागि समय दिएनन् ।

ओझासँग भेट्ने चाहना पूरा नभएपछि देउवा सोमबार नै गृहजिल्ला डडेल्धुरा गए । आज त्यहाँका विभिन्‍न ठाउँमा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् । 

यसअघि २१ वैशाखको साँझ र २२ वैशाखको बिहान देउवाले चितवनमा पौडेलसँग भेट गर्न चाहे । तर, उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चाहिँ छोटो समय भेट दिए ।

देउवालाई भेट्नै चाहेनन् । त्यसपछि देउवा गठबन्धनको चुनावी सभालाई मात्र सम्बोधन गरेर काठमाडौं फर्किए । 

यी २ नेतालाई स्थानीय निर्वाचनअन्तर्गत मतदान गर्ने दिन नजिकिएका बेला देउवाले भेट्न चाहनुको एउटै कारण हो– गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्न चाहनु ।

दुवै नेता भने पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीमा परेका हुन् । साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने भने देउवा नै हुुन् । 

१६ वैशाखमा पौडेललाई भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएको र २०७४ सालको संसदीय निर्वाचनमा देउवा पत्‍नी डा. आरजु राणालाई असहयोग गरेको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको हो । कारबाहीपछि उनीहरू कांग्रेसमा छैनन् । 

तर, स्थानीय निर्वाचनको बेला भने देउवाले तिनै नेताहरूको साथ खोजेका हुन् । पौडेलको उम्मेदवारीले गठबन्धनको उम्मेदवार दाहाललाई चुनौती थपिएको छ ।

धनगढी उपमहानगरपालिकामा पनि ओझा मौन रहँदा कांग्रेसका तर्फबाट गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई समस्या छ ।  ओझा पूर्व संचार राज्यमन्त्री र पौडेल पूर्व राष्ट्रियसभा सदस्य हुन् ।