भोट हाल्न आउने भारतमा रहेका नेपालीको लर्को

भोट हाल्न आउने भारतमा रहेका नेपालीको लर्को

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७९

‘रोजगारीको बाध्यताले यहाँ बस्नुपरेको हो, मनजति नेपालमै छ, अहिले त झन् चुनावको बेला कतिखेर नेपाल पुगौँला जस्तो भएको छ’,  दिल्लीबाट सोमबार बिहान नेपाल जान लागेका लक्ष्मण अधिकारीले भन्नुभयो, ‘५ वर्षमा भोट हाल्ने मौका पाइएको छ, जसरी पनि जानुपर्‍यो नि !’

अध्ययन, रोजगारी तथा व्यापार-व्यवसायको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका नेपालीहरू स्थानीय निर्वाचनमा मतदान गर्नकै लागि  धमाधम नेपाल फर्कन थालेका छन् । यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन भारतको नयाँ दिल्लीबाट मात्र दैनिक ५०० को हाराहारीमा नेपालीहरू स्वदेश फर्किन थालेका छन् । लक्ष्मण जस्तै थुप्रै नेपालीहरूले आफूलाई मनपरेको उमेदवार छान्न केही दिनको बिदा मिलाएर नेपाल जान लागेको बताए ।

स्थानीय तहको नेतृत्व चयनका खातिर आफ्नो मताधिकार प्रयोग गरेर आफ्नो पालिकाको नेतृत्व चयन गर्नुपर्छ भन्दै स्थानीय तहको निर्वाचनमा भाग लिन परिवारसहित स्वदेश फर्कनेको लर्को लागेको छ ।

‘हामी त सपरिवार आफ्नो मताधिकार प्रयोग गर्न १५ दिनको बिदा मिलाएर जान लागेका हौँ', दिल्लीबाट बुटवल जाने क्रममा लक्ष्मणले भन्नुभयो, ‘निर्वाचनमा आफ्नै छिमेकी उठेका छन्, उनलाई जिताउने कर्तव्य हाम्रै हो । मतदान गर्न त जानुपर्‍यो नि !' पछिल्लो एक साता अरूबलाभन्दा बढी नेपाली स्वदेश फर्किरहेको यहाँका यातायात व्यवसायी बताउँछन् ।

दिल्लीबाट भोट दिनकै लागि स्वदेश फर्कनेहरू मतदान गरेलगत्तै पुन: दिल्ली फर्केर आफ्नो कर्ममा लाग्ने बताउँछन् । नेपाल-भारतमैत्री बस सेवा संचालन गर्दै आएका यातायात व्यवसायीहरू चुनावको मिति नजिकिएसँगै दैनिक ४०० देखि ५०० का दरले नेपालीहरू भोट दिन नेपाल जाने गरेका बताउँछन् ।

सन् २०१० देखि दिल्ली-बुटवल बस सेवा संचालन गर्दै आउनुभएकी चाचाचाची टुर एण्ड ट्राभलकी संचालक  उषा लम्सालले एक सातायता हरेक दिन बिहान ४ वटा र बेलुका ३ बटा बस नेपाल जाने गरेको बताउनुभयो । उहाँले नेपालमा चुनावको माहोल बढेसँगै यहाँबाट भोट दिन भन्दै स-परिवार नेपाल जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, 'बिहान र बेलुका गरी दिल्लीको सरोजनी नगरबाट बुटवलको लागि दैनिक ७ वटा बसमा लगभग ५०० यात्रु जान्छन् । यतिबेला त यात्रुहरू बसमा कोचाकोच गरेरै भए पनि जाने गरेका छन् ।' पहिले भने दैनिक बढीमा १५० यात्रुहरू नेपाल जाने गरेको उहाँको भनाइ छ ।

विभिन्न पेसा-व्यवसाय गरेर दिल्लीमा बस्दै आएका नेपालीहरू भोट हाल्न सपरिवार नेपाल जान थालेपछि दिल्ली यातायात व्यवसायीलाई नेपालीका लागि आरामदायी र सुरक्षित सिट मिलाइदिन भ्याइनभ्याइ भएको छ । कतिपय त बसको सिट नपाएर उभिएर जाने गरेको व्यवसायीहरू बताउँछन् । आइतबार ४५ सिटका ७ बटा बस भरिएपछि बुटवल जाने ४ जना  नेपाली बसमा उभिएरै गएको यातायात व्यवसायी सरोज लम्सालले बताउनुभयो ।

मतदान गर्न भारतका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरू सडक मार्ग हुँदै नेपालका सुनौली, कृष्णनगर, रूपेडिया, लुम्बिनीलगायतका नाकामार्फत नेपाल छिर्ने गर्छन् । यसरी नेपाल छिर्ने यात्रुहरू सीमानाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराई स्वदेश छिरेका बताउँछन् । शनिबार दिल्लीबाट लुम्बिनी नाका हुँदै काठमाडौ गएका विनोद शर्माले सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा जाँच गराई नेपाल प्रवेश गरेको बताउनुभयो ।

चुनावको मिति नजिकिँदै जाँदा उमेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् भने मतदाता पनि मतदान गर्न आ-आफ्नो पालिका फर्कंदै छन् । सरकारले भारत तथा चीनसँगको नाका खुला गरेपछि यात्रुहरूलाई नेपाल प्रवेश गर्न सहज भएको छ । चीन र भारतसँग जोडिएका नेपालका ४२ जिल्लाका सीमानाका खुला भएकाले सडक मार्गबाट यात्रा गर्नेलाई त सुविधा भएको छ तर सीमामा आवागमनको व्यवस्थापन गर्न भने चुनौती हुने गरेको सीमाका प्रशासन कार्यालयहरूले जनाएका छन् ।

मंगलबारदेखि नाका बन्द

यसैबीच सरकारले आज मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई मंगलबार मध्यरातिदेखि सीमानाका बन्द गर्न भनिसकिएको  जनाएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको जनाइएको छ । सीमानाका बन्द हुनुअघि नै नेपाल छिरिसक्नुपर्ने भएकाले भिड बढेको हो ।

कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले गत माघदेखि खुला गरेको थियो । कोरोनाको समयमा यसअघि १४ वटा नाका खोलिएकामा ११ माघको मन्त्रिपरिषद् बैठकले थप १६ वटा नाका खुलाउने निर्णय गरेको थियो । भारततर्फका धेरै नाका खुलाउनुका कारण पनि भारतमा रहेका धेरै नेपालीहरू सजिलै  ओहोरदोहोर गर्न पाएका छन् ।

नेपालको कर्णाली प्रदेशबाहेक सबै ठाउँ भारतसँग जोडिएका छन् । करिब १ हजार ८८० किलोमिटर लामो खुला सिमाना भएको नेपाल-भारतको सीमानाकामध्ये अहिले तराई र मधेसका १० वटा नाकाबाट नेपाली नागरिकहरू आवतजावत गर्ने गरेका छन् । त्यस्तै, भारतीयसहित विदेशी नागरिकहरू  भने स्थानीय प्रशासनको अनुमतिमा प्रवेश गर्ने गरेका छन् ।