स्थानीय चुनावमा दण्डित किन भए प्रधानमन्त्री जोनसन ?

स्थानीय चुनावमा दण्डित किन भए प्रधानमन्त्री जोनसन ?

एजेन्सी  |  विदेश  |  बैशाख २७, २०७९

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकार पत्करमा लागेको आगोझैँ सल्केर सकिन्छ भन्ने धेरैले सोचेका थिए तर त्यो यति छिटो आगो सल्केला भन्नेचाहिँ कसैले पनि सोचेको थिएन । तर, मतदाताहरूले चाहिँ केही कुरा पनि भुलेका रहेनछन्, त्यसैले त उनीहरूले प्रधानमन्त्री जोनसनलाई मतदानद्वारा दण्डित गरेका छन् । गत बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा प्रम जोनसन र उहाँको कन्जर्भेटिभ पार्टीले लन्डनमा सधैँजसो जित्ने २ प्रमुख काउन्सिलहरूसहित ४०० भन्दा बढी सिटमा हारेको छ ।

उहाँकै दलले समेत यस्तै किसिमको नतिजा आउने अनुमान गरेको थियो, त्यसैले होला, चुनावअघि नै कन्जर्भेटिभ पार्टीले यो निर्वाचनमा ८०० सिट गुमाउनेछ भन्ने हल्ला उहाँकै पार्टीभित्र व्यापक रूपमा फैलाइएको थियो । धेरै ठाउँमा हार्नुपर्ने हो तर कम ठाउँमा मात्र हारियो भनेर यो नतिजालाई नै जितका रूपमा प्रस्तुत गर्ने काम भइरहेको छ ।

यस्तै बेइमानी कुरा गरेर सन् २०२४ मा हुने आमचुनावसम्म जोनसनलाई नै पार्टी प्रमुखका रूपमा राखिराख्ने तिकडम चलिरहेको छ । यस्तो बेइमानी काम बोरिस जोनसनले मात्र गर्न सक्नुहुनेछ । यदि उहाँले त्यसो गर्नुभयो भने यसको अर्थ उहाँले बेलायतको राजनीतिलाई सुधार गर्नै नसकिने गरी भ्रष्ट पार्नु हुनेछ  ।

बोरिस जोनसनलाई २०१९ जुलाईमा बेलायतको प्रधानमन्त्री चुनिएको थियो र सोही वर्षको डिसेम्बरमा भएको निर्वाचनमा जोनसन र उहाँको पार्टी अत्यधिक मतले विजयी भएको थियो । सरकार बनेको लगभग ३ वर्षसम्म बेलायत ब्रेक्जिटको झमेलामा फस्यो । त्यसैगरी कोरोना महामारीले सामाजिक जीवन अस्तव्यस्त मात्र पारेन, अर्थतन्त्रमा लागतको संकट र दोहोरो अंकको मुद्रास्फीतिको पूर्वानुमानको समेत सामना गरिरहेको छ । तर, राज्यका अत्यावश्यक कामलाई एकातिर पन्छाएर अहिले वेस्टमिनिस्टर स्क्यान्डल (लकडाउनका बेलामा आयोजना गरिएको मदिरा भोज) चलिरहेको छ । यस्तो स्क्यान्डल जसको प्रभाव विस्तारैबिस्तारै भयानक प्रकोपको रूपमा देखापर्दै छ ।

पहिला कुरा गरौँ- वालपेपर काण्डको । प्रधानमन्त्री जोनसनले ११ डाउनिङ स्ट्रिटस्थित आफ्नो निवासका भित्ताहरूलाई सुनौला डिजाइनका वालपेपरले ढाक्नुभयो, जसको मूल्य एउटै रोलको १ हजार डलर (लगभग सवा लाख रूपैयाँ)भन्दा बढी पर्छ ।

अर्को संकट डोमिनिक कमिंग्सको हो, जोनसनका सबैभन्दा वरिष्ठ पूर्वसल्लाहकार र ब्रेक्जिट योजनाकार डोमिनिक कमिंग्सले ‘ह्विसिल-ब्लोअर’ बनेर गम्भीर आरोप लगाउनुभयो । उहाँले अध्ययनकक्षमा बसेर प्रधानमन्त्री पन्ध्रौँ शताब्दीको किताब ‘अ मोनुमेन्ट टु सेन्ट अगस्टिन’लाई सिरानमा राखेर सपना देख्छन् भन्ने आरोप लगाउनुभएको छ ।

यी दुवैभन्दा  ठूलो संकटचाहिँ पार्टीगेट काण्ड छ । यो काण्ड बेलायतभरिका जनतालाई लकडाउनमा थुनेर प्रधानमन्त्री जोनसन र उहाँका कर्मचारीहरूले गरेको पार्टीहरूको एक शृङ्खला हो । यसका बारेमा प्रधानमन्त्री जोनसनले जानीजानी संसद्लाई भ्रममा राख्नुभयो, जुन एउटा अपराध हो ।

यहाँ महिनौँसम्म, शृंखलाबद्ध रूपमा पार्टी चलिरहेको थियो ‘तासको पत्ताको घर’ जस्तै । वास्तविक र अझ डरलाग्दो कुरा त्यहाँ थरिथरिका पार्टी भए एबीबीए (भूतकालको फेसनमा रमाउने) पार्टी, जन्मदिनको पार्टी र क्रिसमस पार्टी, जसमा ‘सेक्सिएस्ट अफ दि एयर’ ( वर्षको सबैभन्दा कामुक व्यक्ति) भनिने पुरस्कार दिइयो । यस्ता पार्टीहरू त्यस्तो समयमा भएका थिए, जुनबेला धेरै बेलायतीहरूले आफ्नो जागिर र आफ्नो व्यवसाय गुमाइरहेका थिए । धेरै आफ्नो परिवारबाट अलग रहेर अस्पतालहरूमा एक्लै छट्पटाइरहेका थिए र मरिरहेका थिए ।

यी पार्टीहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको एक सरकारी कर्मचारी आफैँले पनि पार्टी आयोजना गरेको थाहा भएपछि उनलाई बर्खास्त गरियो । त्यसपछि नियुक्त सु ग्रेबाट जनवरीमा हामीले सूचना प्राप्त गरेका थियौँ । त्यसपछि लन्डन महानगर प्रहरीले आफैँले अनुसन्धान गर्‍यो र अहिले बोरिस जोनसन, उहाँकी पत्नी र कोषका चान्सलर सहित ५० भन्दा बढी व्यक्तिहरूलाई जरिमाना गरिएको छ ।

कुनै पनि बेलायती प्रधानमन्त्रीले पदमा रहँदा कानुन तोडेबापत सजाय पाएका थिएनन् तर उनी अपवाद भए ।

अहिले जोनसनका पक्षमा निराशाजनक चुनावी नतिजा आएका छन् । अब सांसदहरूले उनलाई अविश्वासको मत दिने कि नदिने भन्नेबारेमा निर्णय गर्न ग्रे रिपोर्टको प्रतीक्षा गर्नेछन् कि छैनन् ? उनीहरूले सुरुमै ‘नाइँ’ भन्ने सम्भावना बढी छ किनभने संसदीय दलमा अहिलेसम्म जोनसनको कुनै उत्तराधिकारी स्पष्टसँग देखिएका छैनन् । अर्थमन्त्री ऋषि सुनकलाई सबैभन्दा सम्भावित उम्मेदवार मानिन्थ्यो किनभने उहाँको छवि अहिलेसम्म सफा नै छ तर प्रम जोनसनले उनलाई प्राय: भान्सा पुछ्ने टालोझैँ मान्छन् ।

ऋषि सुनकलाई पनि भाग्यले साथ दिएको छैन जस्तो छ, ऋषिले संसद्‌को सदस्य बनेको लामो समयपछि अमेरिकाको ग्रिन कार्ड पाएको र लिएको तथ्य फेला परेको छ । यसका साथै ऋषिकी श्रीमती, जो एक अर्बपतिकी छोरी हुन्, विशेष करको विवादमा मुछिएको कुरा भर्खरै खुलासा भएको छ । सुनकपत्नीले इंगल्याण्डमा भएको उनको विश्वव्यापी आम्दानीमा कुनै कर नतिरेको कुरा बाहिर आएको छ । भर्खरै करको दर बढाएका सुनकसँग मतदाताहरू रुष्ट छन् र यो विषयले उनलाई नोक्सान पुर्‍याउने स्पष्ट छ ।

विदेशमन्त्री लिज ट्रसलाई अर्को एक सम्भावित दाबेदारका रूपमा हेरिएको छ, जो ट्यांकमा पोज दिएर मार्गरेट थ्याचरलाई प्रतिबिम्बित गर्ने कोसिस गर्नुहुन्छ तर जब उहाँको मुख खुल्छ सबै भताभुंग हुन्छ । लिज ट्रसको बेबकुफीका बारेमा फेब्रुअरीको एउटा घटना चर्चामा छ, यसमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले लिजलाई रोस्तोभ र भोरोनेजमाथि रुसी सार्वभौमसत्ता स्वीकार गर्नुहुन्छ कि भनेर प्रश्न गर्नुभएको थियो । लिजले त्यो कुरालाई अस्वीकार गर्नुभयो, जबकि रोस्तोभ र भोरोनेज रुसभित्रै पर्छन् ।

बोरिस जोनसनका यी उत्तराधिकारीको विकल्प फेला परे पनि पार्टीलाई मिलाउन त्यो पर्याप्त नहुन सक्छ । जोनसन चुनौतीको डरले खासै काम नलाग्ने र अवसरवादीहरूलाई बढावा दिनुहुन्छ । उहाँ गम्भीर विषयहरूमा छलफल गर्नै चाहनुहुन्न । हरेक गम्भीर मामिलालाई उडाउने प्रवृत्ति र व्यक्तिगत खराब आचरणले जोनसनको छुट्टै छाप बनाएको छ ।

यसै वर्ष कन्जर्भेटिभ पार्टीका एक सांसदमाथि एउटी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तिनले राजीनामा दिएका थिए । त्यस्तै, अर्का एक सांसदमाथि यौन दुर्व्यवहार र लागुऔषध सेवन गरेको आरोप लागेपछि पार्टीबाट निलम्बन गरिएको थियो । दुवै दलका ५६ जना सांसदमध्ये ३ जना क्याबिनेट मन्त्री यस्ता छन्, जसका विरुद्ध यौन दुर्व्यवहारको मामिलामा अनुसन्धान भइरहेको छ ।

अहिले चलेका थुप्रै स्क्यान्डलहरूमध्ये एक कन्जर्भेटिभ पार्टीका सांसद निल पेरिसले पनि हाउस अफ कमन्समा २ पटक आफ्नो मोबाइलमा पोर्नोग्राफी हेरेको स्वीकार गरेपछि राजीनामा दिनुभएको छ । पहिलो पटक पोर्न साइट हेरेको सार्वजनिक भएपछि पेरिसले आफूले डोमिनेटर भनिने कृषिसम्बन्धी उपकरण खोजिरहेको बताउनुभएको थियो तर उहाँसँग पहिले नै डोमिनेटर छ र उहाँको निर्वाचन क्षेत्र पनि ग्रामीण इलाकामै पर्छ ।

यससम्बन्धी कानुन बनाउने सिलसिलामा उहाँले यसलाई इन्टरनेटमा खोज्दै गर्दा अचानक पोर्न साइट खुलेको र एक साधारण मानिस भएका कारण आफूले त्यो हेरेको बयान दिनुभयो । पेरिसको सबैभन्दा ठूलो अपराध यो थियो कि उहाँले अर्को पटकसमेत यही गल्ती दोहार्‍याउनुभयो । अनि, बीबीसीलाई भन्नुभयो, ‘मैले भयानक गल्ती गरेँ, यो कुरा संसारलाई बताउन म यहाँ छु ।’

सांसद पेरिसले डोमिनेटर खोज्ने प्रयास गरिरहेका बेला एक ब्रिटिस ट्याब्लोइडले एउटा लेख प्रकाशन गर्‍यो , जसले उहाँकै पार्टीको अज्ञात स्रोतलाई उद्धृत गर्दै लेबर पार्टीका उपनेता एन्जेला रेनरले रणनीतिक विरोध स्वरूप हाउस अफ कमन्सभित्रै प्रधानमन्त्री जोनसनलाई इंगित गर्दै आफ्नो भित्री वस्त्र देखाएको दाबी गर्‍यो । रेनरले  भने एक टLभी अन्तर्वार्तामा सो दाबी असत्य भएको बताउनुभएको छ ।

'यो सरकार कुनै पनि हालतमा आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा नभएका कारण संसद्का मदिरालयमा पाइने सहुलियतको रक्सीलाई दोष दिइन्छ । तपाईं पुरुषत्वका बारेमा केही गर्न सक्नुहुन्न’, संसद्‌मा धेरै महिलाहरूका लागि अभियान गर्ने हाउस अफ लर्ड्सका कन्जर्भेटिभ सदस्य ब्यारोनेस जेनकिनले भन्नुभयो ।

जोनसनका उत्तराधिकारीका अर्का एक दाबेदार रक्षामन्त्री बेन वालेसले भन्नुभयो, ‘तपाईँले रक्सीको विषयमा केही गर्नुपर्ने हुन्छ ।’ उनीहरू रक्सी र बारका बारेमा कुरा गर्छन्, मानौँ, उनीहरूमा चेतना र द्वेष दुवै छ । सांसदहरू बारहरूबाट जोगिऊन् भन्ने मेरो सल्लाह छ', उहाँले टाइम्स रेडियोलाई भन्नुभयो, ‘आफ्नो काम समाप्त गर्नुहोस् र समयमै घर जानुहोस् ।’

जोनसन सायद अन्त्यको पर्खाइमा हुनुहुन्छ, नीतिका कुरा गरिरहनुभएको छ । मानौँ, यो जलिरहेको विधायिकाको सैलुन बारमा उहाँको अन्तिम लडाइँ हो- सामाजिक आवास बेचौँ र शरणार्थीहरूलाई रुवान्डा पठाऔँ ।

जोनसन र हाम्रा अन्य प्रतिनिधिहरू केक, अश्लीलता र रक्सीको पासोमा नराम्ररी फसिसकेका छन् । ती सबै कुराहरूभन्दा पनि माथि यहाँ न नेतृत्व छ, न त निर्देशन । न यहाँ योजना नै छ ।

जोनसन पदबाट बाहिरिएनन् भने हामीले यो निष्कर्षमा पुगे हुन्छ कि हामी यति धेरै अगाडि बढिसक्यौँ, जहाँबाट फर्कन धेरै गाह्रो हुनेछ ।

'न्युयोर्क टाइम्स'मा प्रकाशित बेलायती विश्लेषक तानिया गोल्डको आलेखको भावानुवाद ।