स्थानीय चुनाव प्रचारमा झूटको खेती: 'चुनाव चिह्न'लाई साधन होइन, साध्यका रुपमा गलत प्रचार !

राजा शब्दलाई आफैँमा उच्च शब्द मानिन्छ । विवाहमा दुलाहा राजा, मनको राजा, दिलको राजा आफैँमा महत्त्वपूर्ण हुन्छन् । हामी सानो छँदा पनि जो पहिले खाना खाइसक्छ उही राजा भनिन्थ्यो । हामी सानामा  राजा हुन छिटो छिटो खाना खान्थ्यौँ ।

स्थापनामा तन्त्रभित्रको उच्च तन्त्र भएकैले राजतन्त्र भएको हो । भलै राजाका कमीकमजोरीका कारण यो विफल भयो । नागरिकमध्ये उच्च व्यक्ति राजा भएको हो । मार्गहरूमा उच्च स्तरको मार्ग राजमार्ग हो । यसरी हेर्दा नीति मध्येको उच्च नीति राजनीति हो । राज्य सञ्चालनको अनिवार्य नीति भएकाले राजनीति भएको हो ।

कसैले राजनीति गर्दिन भनेर  भन्छ भने यो झन् उसले ठुलो राजनीति गरिरहेको । राजनीतिसँग सम्बन्ध नराखी देशका कुनै नीति अघि बढ्दैनन् । शिक्षा, स्वास्थ्यदेखि अन्य सबै विकासका कुरा राजनीतिसँग जोडिएका हुन्छन् ।

विश्वका जुनै देशमा पनि सरकार हुन्छन् र राजनीति हुन्छ । फरक यति हो हामीले चाहेको इमानसहितको राजनीति । राजनीति हामीलाई पनि चाहिन्छ । केही राजनीति गर्छौँ भन्ने नागरिकले जनतालाई पाखा लगाएर आफूलाई केन्द्रमा राखेकाले राजनीतिमा धेरै नागरिकको वितृष्णा पलाएको हो ।

राजनीतिमा केही फोहोर छ । अब हामीले राजनीतिको फोहोर सफा गर्ने हो राजनीति त्याग्ने होइन । कपाल बढेर मानिस नराम्रो देखियो भने कपाल काट्ने हो टाउको होइन । नङ बढेर फोहोर भए नङ नै काट्ने हो औँला होइन ।

नेता सबै ठाउँमा चाहिन्छ । घरमा सामान्यतया बुबा नेता हो । सबै व्यवहार उहाँले मिलाउनु पर्ने हुन्छ । बुबा नहुँदा आमा नेता हो । आमा नहुँदा हामी छोराछोरीमध्ये जान्ने टाठो बाठो वा जेठो सन्तान नेता बन्छौँ । हामी समूह मिलेर घुम्न हिँड्दा पनि भाडा तिर्ने र खानेकुराको प्रबन्ध गर्ने जिम्मा कसैलाई लगाउँछौँ । ऊ नै त्यो समूहको नेता हो ।

यसर्थ हामीलाई नेता जहाँ पनि चाहिन्छ । ड्राइभरै ड्राइभर मिलेर घुम्न हिँडे पनि गाडी चलाउने एउटा ड्राइभरले मात्र हो  । किनभने सबै ड्राइभरहरूले एउटै गाडी  एकै पटक गाडी चलाएर गन्तव्यमा पुग्न सम्भव हुँदैन । फेरि कसै न कसैले  गाडी नचलाइ  गन्तव्यमा पुग्न असम्भव नै हुन्छ ।  त्यसैले सबैले नेतृत्व गर्न पनि सम्भव छैन र कसैले पनि नेतृत्व नगरी सम्भव छैन । 

नेतृत्व छान्ने  विभिन्न समाज र देशमा आआफ्ना विधिहरु अपनाउने गरेकाे पाइन्छ। यी यस्तै विधि मध्ये चुनावलाई यस्तै नेता छान्ने एउटा वैधानिक अवसरका रुपमा उपयोग गरिदै आएको पाइन्छ ।

चुनावमा या त मन परेको व्यक्तिलाई भोट दिएर जिताउन सकिन्छ या त आफूले चुनाव जितेर विकास गर्न सकिन्छ । नेता सबै खत्तम छन् भन्ने अनि आफू पनि उठ दिन भन्ने कुरा आफैँमा राम्रो होइन । सबै पार्टीका सबै नेता खत्तम पनि छैनन् । कोही एक जनाका कारण सबैलाई सामान्यीकरण गरेर दोष लगाउनु सान्दर्भिक पनि हुँदैन ।

नागरिकले गलत प्रचारलाई चिर्नु जरुरी छ । यो कुरा विशेष वृद्धवृद्धालाई बुझाउनु छ । चुनाव चिह्न गधा होस् कि गाई हामीलाई केही फरक पर्दैन तर उमेदवार चाहिँ मानिस चाहिएको हो । मानिसभित्रको पनि मनुष्यत्व जीवित रहेको उच्च मानिस चाहिएको हो ।

यतिखेर मुलुक स्थानीय चुनावको चटारो छ । नागरिकहरु राजनीतिमा चुर्लुम्म छन् । गाउँका बाटा घाटा सबैतिर जिन्दावाद र मुर्दावाद सुनिन्छ । माला र खादा लगाएका मानिसहरू मुसुक्क मुस्कानसहित झण्डा र चुनाव चिह्न बोकेर घर घरमा पुगेका छन् । अरू बेला नभेटिने मानिस पनि यतिबेला देखिएका छन् । वास्तवमै चुनाव एउटा महान् चाडका रुपमा लिने गरिएको छ ।  हामी सबैले कुनै न कुनै रूपमा सहभागी बन्नै पर्छ ।

एक थरी नागरिकलाई भोट हाल्न जाँगर छैन । हुन त भोट हाल्ने नहाल्ने व्यक्तिको निजी अधिकार र सोचको कुरा पनि हो तर हामीले योग्य मानिसलाई भोट हालेनौँ भने अर्को अयोग्य मानिसले जित्छ भन्ने कुरालाई हेक्का राख्नु पर्ने हुन्छ ।

चुनाव जित्नलाई उमेदवारले धेरै खर्च गर्लान् तर विकास गर्न खर्च गर्दैनन् । हामीले भोट नहाले कै कारण कुनै अयोग्य पात्रले जित्यो भने आगामी पाँच वर्ष उसले हाम्रो बजेटको दुरुपयोग पनि गर्न सक्छ । हाम्रो पालिकाको बजेट भनेको उसको निजी पैसा हैन ।

तपाईँ हामीले नै तिरेको करबाट सङ्कलित रकम हो । हामीले नचाहेको मानिसले जितेपछि त हामीले नचाहेका काम हुने नै भयो नि ! त्यसैले हामीले छानेको योग्य मानिसलाई मत दिएर जिताउनु नागरिकको कर्तब्य हुन आउँछ ।  मत हामीले उमेदवारलाई दिएको उपहार होइन । हाम्रै लागि प्रयोग गरेको मनको अभिव्यक्ति हो । आफ्नो र देशका लागि दिएको भद्र योगदान पनि  हो ।

आज हामीलाई मत फकाउन कसैले चिया खाजा खुवाउँदै छ भने भोलि उसले त्यो रकम उठाउन पक्कै पनि भ्रष्टाचार गर्छ । आज चुनाव प्रचारप्रसारमा धेरै खर्च कसैले गरेको छ भने भोलि हाम्रै विकासका बजेटबाट उसले उठाउँछ नै !

 किनभने चुनावमा उमेदवारले गरेको कुनै पनि खर्च राज्यले व्यहोर्दै न । उसले हामीले थाहा नपाउने गरी असुलउपर गरिरहेको हुन्छ नै ।  यसो गर्दा हामीले एउटा खराब मानिस उत्पादन गर्न पुग्छौँ । हामीले हाम्रो मतको व्यापार नगरीकन योग्य व्यक्तिलाई प्यार गर्नुपर्छ । अन्यथा हामीले आगामी समय धेरै दुःख भोग्नुपर्ने छ ।

चुनावमा काका उठ्नु भएको छ, माइजू हुनुहुन्छ भनेर उहाँको योग्यताबिना हामीले भोट हाल्यौँ भने नातावादको सुरुवात त्यहीँबाट हुन्छ । भोलि कुनै नेताले आफन्तलाई मात्र काम दियो भन्ने अधिकार हामीसँग रहँदैन ।  उमेदवारसँगको नाता आफ्ना ठाउँमा छ । कोही मानिस रगतको सम्बन्ध भएर पनि आफ्ना हुन सक्दैनन् कोही पराई भए पनि आफन्त हुन सक्छन् । हामीले दिएको जिम्मेवारीको सम्पादन गर्ने योग्यता अर्कै कुरा हो । यसको राम्ररी मापन गर्न सक्नुपर्छ ।

उमेदवारको औपचारिक पढाइ मात्र पनि ठुलो कुरा होइन । औपचारिक पढाइ धेरै भएका कति मानिस अविवेकी छन् । औपचारिक शिक्षा नभएका तर व्यवहार पढेका कति मानिस इमानदार र असल छन् । विद्यालयको पढाइले मात्र मान्छेलाई मान्छे बनाउने होइन ।

परिवार, समाज, वातावरण, अनौपचारिक शिक्षा र व्यक्ति स्वयंको स्वभावले पनि मान्छेलाई ज्ञानी बनाएको हुन्छ । उमेदवारमा हामीले यो कुरा पनि हेर्नुपर्छ । कोठा थुनेर पढ्नेले परीक्षामा राम्रो परिणाम ल्याउन सक्छ तर राजनीतिका लागि योग्य हुन्छ नै भन्ने छैन । सफल डाक्टर, इन्जिनियर, शिक्षक आदि हुँदैमा सफल राजनीतिज्ञ हुन्छ भन्ने छैन ।

सबै कुरामा सफल हुने मानिसहरू कमै हुन्छन् । राजनीतिका लागि निष्ठा र धैर्य भएको मानिस चाहिन्छ । राजनीति सकेसम्म इमानदार काम गरेर धेरैको चित्त बुझाउने प्रयास हो । शासक नभएर सेवक बन्ने प्रयास हो । त्याग र समर्पण हो । जसले यी कुरा गर्छ ऊ नै हाम्रा लागि योग्य उमेदवार हो ।

आज पढेका सक्षम मानिस राजनीतिबाट टाढा बस्ने हो भने ऊ भन्दा कमजोर मानिसले अघि सर्छ नै । कुनै घरमा छोराछोरीले पढेर राजनीति गर्छु भन्यो भने परिवारमा स्वीकार्य हुँदैन । यी सब राजनीतिमा भएका बेइमानीका कारण उत्पन्न परिणाम हो । राजनीतिबाट भागेर हैन भिडेर मात्र यी काम सच्याउन सकिन्छ । सके उमेदवार बनेर नसके आफ्नो भोटको इमानदार प्रयोग गरेर पनि राजनीतिमा सहभागी जनाउनु नागरिक कर्तब्य पनि हाे ।

राजनीतिमा युवा भन्ने कुरा पनि छ । हो हरेक काममा युवा चाहिन्छ । युवा उमेरको दृष्टिले एउटा निश्चित उमेर होला तर जाँगरका दृष्टिले अनवरत हुन्छ । युवामा काम गर्ने जोश जति बढी हुन्छ विचारमा अस्थिरताको सम्भावना पनि त्यति नै हुन्छ ।

हामीलाई शारीरिक भारी बोक्ने पात्र चाहिएको होइन भावनात्मक र न्यायसंगत काम गर्ने मानिस चाहिएको हो । कोही मानिस सत्तरी वर्षको उमेरमा पनि सक्रिय काम गरिरहेको हुन्छ । कोही मानिस बिस वर्षको उमेरमा पनि निराशाको भारी बोकेर हिँडिरहेको हुन्छ । अर्थात् कोही सत्तरी वर्षको युवा हुन सक्छ भने कोही बिस वर्षको वृद्ध पनि हुन सक्छ ।

विकासका लागि बाटो, पुल, विद्यालय, अस्पताल, उद्योग, रोजगार, कृषि, पर्यटन जस्ता कुराको खोजी र निर्माण चाहिन्छ । तर चुनावमा दिइने आश्वासन र पछि दिन सक्ने सामान्य सेवा अहिल्यै छुट्याउनु पर्छ । हामीलाई वारिपारि जोड्ने पुलसँगै मानिस मानिस जोड्ने हृदयको नदेखिने पुल पनि त्यतिकै जरुरी विषय हाे ।  

 चन्द्रमामा जाने बाटोभन्दा पहिला छिमेकीका मै जाने बाटो बनाउनु जरुरी छ । सुरक्षाका लागि पर्खाल लगाउनु पहिले एकआपसमा लागेका विभेदका पर्खाल भत्काउनु छ । हामीलाई जिल्ला हेर्ने अग्ला भ्यु टावर चाहिन्छन् नै तर त्यो भन्दा पहिला दुःख सुखमा आँगनका डिलमा उभिएर हाम्रा दिलमा बस्ने नेता चाहिएको छ । मेरा छोराछोरीलाई स्कुलमा छुट गराइदिने नेताभन्दा सबैका छोराछोरीले पढ्नसक्ने स्कुल बनाउने मानिस चाहिएको छ ।

आधा पैसा खाएर मेरा घरअगाडि पिच गरिदिने  नेता भन्दा पुरै पैसा खर्चेर सबैको घरमा पुग्ने ग्राभेल बनाइदिने नेता चाहिएको हो । अभरमा मलाई आर्थिक सहयोग गर्ने नेताभन्दा हाम्रो पैसालाई दुरुपयोग हुन नदिने नेता चाहिएको हो । देशमा संविधान बनिसकेको छ अब सबै अटाउने संविधान बनाउने नेता चाहिएको हो । अथाह सम्भावना छन् तर सबैमा सम भावना राख्ने नेता चाहिएको हो ।

कतैकतै चुनाव प्रचारमा झुटको खेती पनि मौलाएको छ । नजित्नेका धेरै आश्वासन होलान् । तिनका पछि लाग्नु हुँदैन । जित्नेका गलत भ्रम होलान् तिनलाई सच्याउनु पर्छ । सूर्य नभए उज्यालो केले दिन्छ ? रुख नभए केमा शितल बस्ने ? हँसिया हतौडा नभए केले काम गर्ने ? छाता नभए के ओड्ने ? हलो नभए केले जोत्ने ? कलम नभए केले लेख्ने ? लौरो नभए के टेक्ने ? जस्ता अनेकन प्रश्नका गलत प्रचार भइरहेको पाइन्छ । 

नागरिकले गलत प्रचारलाई चिर्नु जरुरी छ । यो कुरा विशेष वृद्धवृद्धालाई बुझाउनु छ । चुनाव चिह्न गधा होस् कि गाई हामीलाई केही फरक पर्दैन तर उमेदवार चाहिँ मानिस चाहिएको हो । मानिसभित्रको पनि मनुष्यत्व जीवित रहेको उच्च मानिस चाहिएको हो ।

मताधिकार प्रधानमन्त्रीदेखि लिएर गुमनाम नागरिकसम्म सबैको एउटा एउटा नै हुन्छ  अर्थात् सबैले एक भोट दिन पाउने हो । त्यसैले आफ्नो भोट खेर नजाओस् । भोट जिताउनुपर्ने मानिसलाई दिन पाइयोस् । आफूले भोट दिएका मानिसले जितोस् ।

हामीले पहिला जिताएका मानिसले र दलले राम्रो काम गरेको भए तिनैलाई निरन्तरता दिनुपर्छ । यदि उनीहरूले हाम्रो सामूहिक हितलाई पूरा गरेका छैनन् भने व्यक्ति फेर्न सक्नुपर्छ । व्यवस्था क्रान्तिले परिवर्तन गर्छ । व्यवस्थाभित्रको अवस्था चुनावले परिवर्तन गर्छ । परिवर्तित देश चाहनेले कहिलेकाहीँ आफ्नो निर्णयलाई पनि परिवर्तन गर्न सक्नुपर्छ ।

sarojdaju@gmail.com