श्रीलंकामा कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंकामा कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

एजेन्सी  |  विदेश  |  बैशाख २८, २०७९

श्रीलंकामा सरकारविरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सोमबार गोटाबायका दाजु महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए तर पनि हिंसा रोकिएको छैन । 

सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दशौँ हजार सेना, नौसेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन् ।

सुरक्षाकर्मीको परिचालनका बाबजुद मंगलबार दिउँसो एउटा भिडले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई सुरक्षा नदिएको आरोप लगाउँदै शहरका एक शीर्ष प्रहरी अधिकारीलाई आक्रमण गरेको थियो । कोलम्बोको गाले फेस ग्रिनमा पनि भिडहरू जम्मा भएका थिए ।

सोमबारदेखि भएको प्रदर्शनमा ८ जनाको मृत्यु भएको छ । झडपमा २०० भन्दा बढी घाइते भएका राजधानीको मुख्य अस्पतालले जनाएको छ । केही सरकार समर्थक भिडले गरेको हमलबाट घाइते भएका छन् भने कोही भिडमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्दा घाइते भएका छन् ।

प्रधानमन्त्रीका समर्थकविरुद्ध मुद्दा दायर गरिएको प्रदर्शनकारीहरूको पक्षमा काम गरिरहेका वकिलहरूले बताएका छन् ।