के भयो भने मत बदर हुन्छ ?

के भयो भने मत बदर हुन्छ ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०७९

३० वैशाखमा देशभर स्थानीत तह निर्वाचन हुँदै छ । सही तरिकाले मतदान नगरे मत बदर हुन्छ । यस कारण मतदान गर्दा केही कुरामा ध्यान दिन जरुरी छ । 

निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । यस्तै, औँठा छाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ । 

मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुनेछ । 

उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ । 

कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरेमा मत बदर हुनेछ । निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा पनि मत बदर हुनेछ । 

आयोगका अनुसार मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा, आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिकाभन्दा बाहिर राखिएमा र जाली मतपत्रको प्रयोग गरेमा मत बदर हुनेछ ।