रिभर फल्स पावरको आईपीओ बिक्री खुला

रिभर फल्स पावरको आईपीओ बिक्री खुला

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख २८, २०७९

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार कुल २७ लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्कासित शेयरमा लगानिकर्ताले आजदेखि छिटोमा आगामी ४ जेठसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यो समयमा मागबमोजिम आवेदन नआए आगामी ११ जेठसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रतिमेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ दिएको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि साधारण शेयरको निष्कासन र बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।