पर्यटकको सुविधाका लागि सटल बस सेवा

पर्यटकको सुविधाका लागि सटल बस सेवा

लोकसंवाद संवाददाता  |  पर्यटन  |  बैशाख २८, २०७९

निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बस सेवा संचालन गर्ने भएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने असुविधालाई ध्यानमा राखेर सटल बस संचालन गर्न लागेको हो ।

बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिस्ट बस एसोसिएसन अफ नेपाल र नेपाल टुरिस्ट भेहिकल एसोसिएसनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस संचालन गर्न लागेको हो ।

बोर्डले रुट नं. १ मा  विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल चोक, लैनचौर चोक, शंकर होटल हुँदै विमानस्थलसम्म, रुट नं. २ मा विमानस्थलदेखि होटल र्‍याडिसन, होटल साङ्ग्रिला, नारायणगोपाल चोक, महाराजगंज चोक, ह्यात होटल, चाबहिल हुँदै विमानस्थलसम्म कायम गरेको छ ।

यस्तै, रुट नं. ३ मा विमानस्थलदेखि तीनकुने चोक, होटल एभरेस्ट, माइतीघर चोक, होटल हिमालयन, होटल सोल्टी, ग्राण्ड होटल हुँदै विमानस्थलसम्म रहेको छ । सटल बस सेवा गरेबापत पर्यटकले सम्बन्धित बसधनीलाई ३०० रुपैयाँ बुझाउनुपर्ने बोर्डले जनाएको छ ।