मौन अवधि: मत माग्ने, मतदातालाई प्रभावित पार्ने र आतङ्कित बनाउने कार्यमा होडबाजी !

मौन अवधि: मत माग्ने, मतदातालाई प्रभावित पार्ने र आतङ्कित बनाउने कार्यमा होडबाजी !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७९

स्थानीय तहको निर्वाचनमा मतदानअघि लागू भएको मौन अवधि उल्लंघन गर्नमा यसपटक होडबाजी नै देखिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । यो अवधिमा कसैले पनि चुनावी प्रचारप्रसार गर्ने, मत माग्ने र मतदाता प्रभावित पार्ने कुनै पनि क्रियाकलाप गर्न निर्वाचन आचारसंहिताले प्रतिबन्ध लगाएकाे छ  । 

तर, मौन अवधिको पहिलो दिन देशका विभिन्न स्थानमा मतदाता प्रभावित पार्ने प्रयास भएका घटनाहरु सार्वजनिक भएका छन् । कतिपयले भने सामाजिक सञ्जालमा नै पोस्टर र भिडियो पोस्ट गरेर मत मागेका छन् । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले भिडियो नै पोस्ट गरेर मत मागेका थिए भने कतिपय स्थानमा मत माग्न स्थानीयस्तरमा भेलाहरू भएका र रातिसम्म उम्मेदवारहरु गाउँगाउँमा पुगेका खबर समेत आइरहेका छन् । 

केही नेताहरु भने मौन अवधिमा प्रत्यक्ष मत नमागे पनि विभिन्न बहानामा गाउँगाउँ घुमेका देखिए । यसबाट समेत मतदाता प्रभावित हुनसक्ने भन्दै विरोधदेखि  उजुरी समेत  परेका छन् । गोरखामा रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बुधबार बिहानैदेखि स्थानीयसँग भेटघाटमा व्यस्त भए । उनले प्रत्यक्ष मत मागेनन् तर गाउँघरमा घुमघाममा व्यस्त देखिन्थे । 

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एमाले उम्मेदवार बाबुराम भट्टराईमाथि पैसा बाँड्न खोजेको आरोप समेत लागेको छ । कांग्रेसले लगाएको यो आरोपको एमालेले भने खण्डन गरेको छ । भट्टराईकी श्रीमती माया भट्टराई उपमहानगरको वडा नम्बर ११ सुकुम्बासी बस्तीमा पुगेपछि कांग्रेसका स्थानीय कार्यकर्ताले होहल्ला र नाराबाजी गर्दै प्रहरी बोलाएका थिए । उनले भने आफू क्यान्सरको बिरामी भेट्न गएको दाबी गरिरहेकी  छन् । 

सामाजिक सञ्जालमा विभिन्न पार्टीका नेतादेखि कार्यकर्तासम्म ले मत माग्ने र मतदाता प्रभावित पार्ने कोसिस गरेको पाइएको छ । निर्वाचनको मौन अवधि निकै संवेदनशील भए पनि यसको उल्लंघनमा होडबाजी देखिएको छ । निर्वाचनमा आश्वासनदेखि मत प्रभावित पार्न आर्थिक गतिविधि समेत हुने गरेका छन् ।

उता उदयपुरमा निर्वाचनको मौन अवधिमा बोइलर कुखुरा वितरण गरेको भेटिएको छ । सदरमुकाम गाईघाटको डि एम  गेट स्थित सप्तकोशी कोल्ड सेन्टरबाट कुखुरा वितरण गरेको भिडियो नै सार्वजनिक भएको पाइएको छ । नेपाली कांग्रेसका त्रियुगा नगरपालिका– १२ का दाउत अलि,  मुक्तार अलि र दिल शेर  अलिले  कुखुरा वितरण गरेको  आरोप लागेको छ । दिलशेर त्रियुगा १२ का वडा सदस्यका उम्मेदवार हुन् । 

सिरहाको गोलबजार २ मा पैसा राखेर नमूना मतपत्र वितरण गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले ५४ हजार रूपैयाँ बरामद गरेको छ । 

प्यूठानको सरुमारानी गाउँपालिकामा मौन अवधिमा मत माग्दै हिँडेको विषयलाई लिएर सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच झडप भएको छ । सो झडपमा ४ जना घाइते समेत भएका छन् । 

उता रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ मा एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित ३ जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् । वडा नम्बर ११ का वडा अध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुमार सिंह बुढा पक्राउ परेका हुन् । 

वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा विवाद भएपछि विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीय डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए । बुढा टक्सेरा देखि करिब ४ किलोमिटरमाथि जंगलमा कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । सो गाउँपालिकामा नेपाली कांग्रेस र एमाले बीचको गठबन्धन भएको छ । 

त्यसैगरी बुटवलमा मौन अवधिको समयमा नै शक्तिशाली बम बिस्फोटन भएकाे र त्यसको नजिकै नेकपा (बहुमत) को पर्चा समेत भेटिएको बताइएको छ । 

सामाजिक सञ्जालबाट मतदाता प्रभावित पार्ने कोशिस

यसपटक सामाजिक सञ्जाल समेत मतदाता प्रभावित पार्न प्रयोग भएको छ । यसअघि ग्रामीण क्षेत्रमा मतदाता प्रभावित पार्ने काम बढी हुने गरेको र शहरी क्षेत्रमा मौन अवधि कडा रुपमा लाग्ने गरेकोमा यसपटक भने शहरी क्षेत्रमा समेत सामाजिक सञ्जालबाट मतदाता प्रभावित पार्ने कोसिस भएको हो । 

एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिता विपरीत बुधबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा भिडिओ सेयर गर्दै भोट मागे । उनको यो कदमको विरोध भएपछि करिब चार/पाँच घन्टापछि सो सामग्री हटाएका छन् । भिडियो पोस्ट गरे पनि उनीमाथि निर्वाचन आयोगले कारबाही भने गरेको छैन । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालमाथि भने मत मागेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालको पक्षमा उनले मत मागेकी थिइन् । एउटै प्रकृतिका घटनामा निर्वाचन आयोगले भने कसैलाई छुट दिने र कसैलाई कारबाहीको डन्डा बर्साइहाल्ने गरेको देखिएको छ ।

यस्तै सामाजिक सञ्जालमा विभिन्न पार्टीका नेतादेखि कार्यकर्तासम्म ले मत माग्ने र मतदाता प्रभावित पार्ने कोसिस गरेको पाइएको छ । निर्वाचनको मौन अवधि निकै संवेदनशील भए पनि यसको उल्लंघनमा होडबाजी देखिएको छ । निर्वाचनमा आश्वासनदेखि मत प्रभावित पार्न आर्थिक गतिविधि समेत हुने गरेका छन् ।

कतिपय घटनामा भने एक अर्काप्रति आरोप प्रत्यारोप भए पनि प्रमाणको अभावमा कारबाही गर्न समस्या पर्ने गरेको छ । जसलाई निर्वाचन आयोगले सुक्ष्म अध्ययन नगर्ने र भएका प्रमाणमा पनि कारबाही नगर्ने हो भने निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने तर्फ सजग हुन जरुरी देखिएको छ ।