सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित

सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७९

नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे ।  

रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे । 

उनले रिटमार्फत सा‌ंसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे छ ।

१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाऊ आदेश भने जारी भएको थियो । 

२४ चैत २०७७ मा संघीय संसद् सचिवालयलाई पत्र लेखेर माओवादी अध्यक्ष प्रचण्डले भट्टसहित सांसदहरू टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहलाई कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । 

प्रचण्डको पत्रको आधारमा २६ चैत २०७७ मा उनीहरू पदमुक्त भएको सूचना संसद् सचिवालयले टाँस गरेको थियो ।  यही निर्णयविरुद्ध भट्ट १४ साउन २०७८ मा सर्वोच्च पुगेका हुन् ।