एक्लो व्यक्तिले नौजनाको हत्या कसरी गर्‍यो ?

एक्लो व्यक्तिले नौजनाको हत्या कसरी गर्‍यो ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडाैं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे हत्याकाण्डमा मारिएकाका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन् । दुई परिवारका नौजनाको हत्या एकजनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरूको आरोप छ । एक साताअघि धनराज शेर्माको घरमा नुनमा सिसा मिसाएर तरकारीमा हालिएको घटनालाई समेत प्रहरीले नजरअन्दाज गरेको आफन्तको गुनासो छ ।

शान्ता लिम्बूले एकै व्यक्तिबाट यति ठूलो जघन्य अपराध हुन नसक्ने दाबी गरिन् । अर्का आफन्त मिक्लाजुङ–२ का प्रेमकुमार राईले सिसाकाण्डमाथि प्रहरी गम्भीर नबन्दा हत्याकाण्ड निम्तिएको बताए । ‘सिसाकाण्डमा जाहेरी परे पनि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगर्दा सामूहिक हत्याकाण्ड भएको छ । छानबिनको प्रगति हामीलाई जानकारी नगराएसम्म शव जिम्मा लिँदैनौँ,’ प्रेमकुमारले भने । 

सोमबार राति मिक्लाजुङ–३ आरुबोटेमा ससुरा बमबहादुर फियाकको परिवारका चार र माइला ज्वाइँ धनराज शेर्माको परिवारका पाँचजनाको हत्या भएको थियो । आरुबोटेबाट २५ किलोमिटर टाढा मिक्लाजोङ–७ मा मंगलबार दिउँसो रूखमा झुन्डिएको अवस्थामा भेटिएका कान्छा ज्वाइँ मानबहादुर माखिम एक्लैले हत्या गराएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । श्रीमती र ससुरालीसँग सम्बन्ध राम्रो नभएका कारण पनि प्रहरीले मानबहादुरमाथि शंका गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।