कृष्ण प्रसाईं: जेन कविताका पारखी तथा साहित्यका सारथी
बैशाख ३१, २०७९

जेन कवितामा रमिरहनु भएका प्रसाईंका ‘घामको आयु’ पुस्तकबाट शीर्षक नभएका चार वटा जेन कविताहरु यस्ता छन् । 

०००
असङ्ख्य प्रहार सहँदै 
ढलिरहेको रुखलाई थाहा थिएन 
उसलाई ढाल्ने बन्चरोको बिँड 
उसैको हाँगोबाट निर्मित थियो ।

००० 
जब अंशवण्डाको कुरा उठ्यो 
मुस्किल पर्यो मिलाउन
बा–आमा
कसैको भागमा पर्नुभएन ।

०००
मृत्युले त सबैलाई समाउँछ नै 
तर धनीहरू यसरी ठट्टा उडाउँदै भन्दछन्–
गरिब थियो, त्यसैले मर्‍यो ।

०००
आर्यघाटमा 
कुनै पनि लास 
नोटका बिटाले जलिरहेको थिएन ।

०००
झापाबाट निस्कने सूर्योदय पत्रिकामा ‘कविप्रति उठेको सम्झना’ भन्ने शीर्षकको कविता उहाँको पहिलो रचना हो । उहाँ त्यस बेला कक्षा ९ मा पढ्नु हुन्थ्यो । बालबाटिका भन्ने छुट्टै शीर्षक अन्तर्गत सूर्योदय पत्रिकामा १६ वर्ष मुनिका कवि, लेखक, स्रष्टाहरूले मात्र भाग लिन पाउँथे । अहिलेका नाम चलेका कृष्ण धरावासी, प्रतिक ढकाल, युवराज गौतम, सीता पाण्डे लगायतका स्रष्टाहरू त्यसबेला बाल बाटिकामा लेख्नुहुन्थ्यो । पहिले उहाँ यी नामहरूसँग परिचित हुनु हुन्थेन । पछि भने राम्रो बसउठ भयो यी लगायतका नामहरूसँग । 
उहाँ त्रिचन्द्र कलेज पढ्दाताका धेरै साहित्यकारसँग प्रभावित पनि हुनुभयो र साहित्य कर्ममा लाग्नु भयो । यसै बेला उहाँको ‘प्रक्षेपण’ भन्ने कथा संग्रह निस्कियो । जसको अहिले तेस्रो संस्करण बजारमा आइसकेको छ । 

झण्डै, झण्डै नौ सय पेजको भारत, भुटान र नेपालका चिनिएका केही कविहरूको कविता सम्पादन गर्ने काम पनि गर्नुभयो उहाँले । जुन अहिलेसम्म नेपालमा सम्पादन गरिएका कृति सबैभन्दा ठूलो पृष्ठको रुपमा रहेको छ । जसमा नेपाल, भुटान र भारतका मानक कविहरुलाई उहाँले त्यसमा अटाउनु भएको थियो । 

‘छरिएका केही पृष्ठ’ भन्ने निर विक्रम प्यासीको किताबको सम्पादन पनि उहाँले नै गर्नु भएको हो । ‘घाम नभएको बेला’ भन्ने कविता संग्रह निस्कियो यो सम्पादनपछि उहाँको । यो कृति सँगै अंग्रेजीमा पनि अनूदित थियो । जसको अनुवाद गर्ने काम तारानाथ शर्माले गर्नु भएको थियो । 

यस पछि ‘घामको वर्षा’ भन्ने उहाँले जेन कविता लेख्नुभयो । यो नेपालमा नौलो प्रयोग समेत हो । ‘घामको वर्षा’ २४ वटा भाषामा छापिएको छ । त्यस पछि ‘घामको विरासत’ भन्ने उहाँको अर्को गद्य कविताको कृति आयो । ‘घामको विरासत’को अंग्रेजी अनुवाद ‘नेभर से गुडबाई’ पनि आयो पछि । 

हालै वैशाख ४ गते मात्र उहाँले इलामको श्री अन्तुमा जेन कविता ‘घामको आयु’ प्रकाशमा ल्याउनु भएको छ । उदाउँदो सूर्यलाई देखाएर तथा कञ्चनजंघालाई साक्षी राखेर उक्त कृति विमोचित भएको थियो । त्यस बेला भारत र नेपालका गरी २९ जना साहित्यकारहरु थिए । सिक्किम, दार्जिलिङ, सिलिगुडी तथा नेपालका कविहरू सम्मिलित कृतिको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले विमोचन गर्नु भएको थियो । 

‘घामको आयु’ पनि जेन कविता हो । दुई महिना अघि श्रीलंकाको सिंहाली भाषामा अनूदित यस कृति अंग्रेजी, नेपाली र हिन्दी तीनवटा भाषामा अनूदित भइसकेको छ । चिनियाँ भाषामा पनि यो अनूदित हुने क्रममा छ । 

उहाँ धेरै विदेश भ्रमण गर्ने नेपालका साहित्यकारहरु मध्य  अग्रपंक्तिमा पर्नुहुन्छ । उहाँ ४२ पटक चिन, हङकङ ४२ पटक भन्दा धेरै, कोरिया २० पटक, जापान ५ पटक जानु भएको छ । उहाँ ५/७ पटक नगएको एशियाको कमै मुलुक होला । यही घुमघामलाई समेट्दै उहाँको ‘अनुभूतिका छालहरू’ भन्ने नियात्रा संग्रह समेत प्रकाशित छ । 

मलेसिया, चीन, जापान, हंङकंङ्ग, कोरिया र भारत भ्रमणका सामग्रीहरु ‘अनुभूतिका छालहरू’मा समेटिएका छन् । 

जेन कविता भनेको मृत्यु चेतका कविताहरु हुन् । उहाँ कोरियामा बस्दा त्यहाँको महाकविले यस्ता खालका मृत्यु चेतका कविताहरु अर्थात् जेन कविताहरु लेख्नु भएको पाउनु भयो । जेन कविता विशेषगरी जेन मास्टरहरू र भिक्षुहरूले लेख्ने गरेका छन् । जापान तथा कोरियामा जेन कविता धेरै चर्चित पनि छ । 

कोरियन महाकवि ‘कोहुन’ को जेन कविता हेरिसकेपछि उहाँलाई जेन कविता लेख्न उत्प्रेरणा जागेको हो । अहिले उहाँको साहित्य सृजना जेन चेतसँग बढी जोडिएको छ । 
०००
उहाँको हजुरबा जमिन्दार हुनुहुन्थ्यो । तर, बुबाको पालासम्म आइपुग्दा अवस्था त्यस्तो रहेन । उहाँको बुबा कृषक तथा ब्रिटिश सेनाको जागिरे हुनुहुन्थ्यो । आमा भने गृहिणी । तर, पनि उहाँ आफूलाई भने आर्थिक हिसाबमा मध्यम वर्गीय परिवारको सदस्य भन्न रुचाउनुहुन्छ । बुबा अलि सोझो हिसाबको अनि अरुले पैसा पनि खाइदिएका कारण आर्थिक स्तर अलि कमजोर रहेको उहाँको बुझाइ छ । 

उहाँको जन्म २०१७ साल कार्तिक २८ गते भारतको मणिपुरमा भएको हो । एक वर्ष पछि बुबा फर्केर आउने क्रममा उहाँ पनि सँगै नेपाल आउनु भएको हो । उहाँको बाल्यकाल झापाको धाइजनमा बितेको हो । उहाँको बाल्यकाल पनि आम नेपाली झैं धुलो माटोमा खेल्दै नै बितेको हो । भोगटेको बल खेल्ने, कपर्दी खेल्ने, गुच्चा खेल्ने आदि गरेरै बितेको हो उहाँको बाल्यकाल । 

धाइजन तराईको जस्तो गर्मीमा ज्यादा गर्मी हुने अनि धेरै चिसो हुने ठाउँ होइन । हरियाली युक्त रमाइलो वातावरण थियो धाइजनमा । उहाँले किसानले भोग्नुपर्ने र देख्नुपर्ने जति सबै गाउँमा देख्नु, भोग्नु भएको  छ । 

०००
उहाँको प्रारम्भिक शिक्षा धाइजन स्थित बलभद्र जनता निमाविबाट शुरु भएको हो । पहिलो धाइजन गाविस थियो । अहिले धाइजन मेचीनगर पालिका– १४ मा पर्छ । त्यस बेला बलभद्र स्कूलमा एउटा कक्षामा झण्डै ४०/५० जना विद्यार्थी हुन्थे । डेस्क/बेञ्च हरु राम्रा थिए । स्कूल पनि सम्पन्न नै थियो । स्कूल हडिया खोलाको छेउ तथा जंगलको बीचमा सुन्दर ठाउँमा छ । उहाँले बलभद्र स्कूलमा ७ कक्षासम्म पढ्नु भएको हो । कक्षा ८ देखि उहाँ धुलाबारी माविमा पढ्नु भएको हो । जहाँबाट उहाँले माध्यमिक शिक्षासमेत पूरा गर्नुभयो । 

उहाँ जरा फाउण्डेशनको संस्थापक अध्यक्ष हुुनुहुन्छ । फाउण्डेशन स्थापना भएको १५ वर्ष भयो । उहाँ आफैं पढेको जेहेन्दार तथा आर्थिक रुपमा कमजोर विद्यार्थीलाई केही आर्थिक सहयोग दिएर जरा फाउण्डेशनको शुरुआत भएको हो । पछि स्कूललाई चाहिने आवश्यक सामग्री पनि फाउण्डेशनले दिने गरेको छ ।  

त्यसबेला सदनहरू छुट्ट्‌याइने प्रचलन थियो । उहाँ अमरसिंह सदनमा हुनुहुन्थ्यो । वृक्षरोपण लगायत अन्य अतिरिक्त क्रियाकलापमा पनि उहाँको संलग्नता हुन्थ्यो । यसका अलावा नजिकै रहेको नक्सलवाडीमा स्कूल भागेर गएर पनि फिल्म हेर्न उहाँले छुटाउनु भएको थिएन । 

उहाँ माध्यमिक शिक्षा पूरा गरुन् जेल खासै उम्दा विद्यार्थी होइन । ठीकै विद्यार्थी हो । उहाँले २०३५ सालमा एसएलसी दिनुभएको हो । एसएलसीको केन्द्र धुलाबारी थियो । धुलाबारीमा त्यसबेला झण्डै एक/डेढसय विद्यार्थीले एसएलसी दिएका थिए । उहाँ भन्दा जान्ने विद्यार्थी पनि फेल भएको अनुभव छ उहाँको । हालका सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडाल पनि त्यसबेला अनुत्तीर्ण हुनुभयो । तर, पछि चुँडालले ल क्याम्पस टप गर्नुभयो । उहाँले भने त्रिचन्द्र कलेज टप गर्नुभयो । 

०००
उहाँको घर र स्कूलको दूरी झण्डै अढाइ किलोमिटर मात्र हो । तर पनि उहाँहरु बस चढेरै स्कूल जानुहुन्थ्यो । त्यति बेला बस आइसकेको थियो । बस स्कूलको नभएर भाडाको थियो । त्यस बेला बूढासुब्बा, पूर्वाञ्चल, मोरङ–पशुपति नाम गरेका बसहरु चल्थे । बस आधा आधा घण्टामा चल्थ्यो । 

एसएलसीको परीक्षा सकि सकेपछि कलेज पढ्न भने उहाँ भद्रपुर क्याम्पस जानुभयो पढ्नका लागि । राजनीति शास्त्र र नेपाली थियो मूल विषय । विषय छुट्टिने भन्दा पनि छनौट गर्न भने पाइन्थ्यो । उहाँले भने राजनीति शास्त्र लिएर पढ्नु भयो । 

त्यसबेलासम्म पनि उहाँ मध्यम नै विद्यार्थी हो । भद्रपुरबाट आइए सकेपछि उहाँको यात्रा त्रिचन्द्र कलेजतर्फ मोडियो जहाँबाट उहाँले स्नातक सकाउनु भयो । यो २०३९/४१ सालको कुरा हो । उहाँ त्यस बेला कलेजमा प्रथम हुनु भएको थियो । पछि भने उहाँले समाजशास्त्र तथा नेपालीमा एमए गर्नुभयो । 

कलेज पढ्दा पनि २०३६ सालको आन्दोलनले गर्दा उहाँको झण्डै डेढ/दुई वर्ष नोक्सान हुनपुग्यो । 

०००
त्रिचन्द्र कलेजमा स्नातक पढ्नु अगाडि उहाँ एक पटक काठमाडौँ  आउनु भएको थियो । कुनै प्रयोजन नभएका कारण बसाइ लामो रहेन । पछि भने उहाँ बि ए पढ्नका लागि काठमाण्डौ आउनु भयो । 

उहाँलाई पढाइको ठूलो भोका थियो । त्यो भोक झापाले पूरा गर्ला जस्तो नलागेपछि उहाँ काठमाडौँ आउनु भएको हो । 

पहिलो पटक काठमाडौँ आउँदा भने उहाँ राजदूत भन्ने बसमा चढेर आउनु भएको हो । राजदूत बसका मालिक राजविराजका कुनै दास थर भएका व्यक्ति हुनुहुन्थ्यो । दास बस सर्भिसलाई राजदूत नामाकरण गरेर यता चलेको थियो । त्यस बेला कन्काई भन्ने बस पनि थियो । 

उहाँ दोस्रो पटक काठमाडौँ  आउँदा पनि राजदूत बसमै आउनु भएको हो । त्यस बेला उहाँले ५५ रुपैयाँ भाडा तिर्नु भएको थियो । उहाँ पहिलो पटक काठमाडौँ आउँदा कमला नदीमा पुल बनिसकेको थिएन । त्यसकारण उताको बस उतै अनि यताको बस यतै हुन्थ्यो । दोस्रो पटक आउँदा भने उहाँ हेटौंडामा बास बस्नु भयो । पृथ्वी राजमार्ग अर्थात सात घुम्ती भएर आउनु भएको थियो । भोलिपल्ट बिहान १२/१ बजेमात्र काठमाडौँ  उतार्थ्यो गाडीले । 

पहिलो पटक काठमाडौँ  आउँदा उहाँ पुतलीसडकमा झर्नु भएको थियो । बस स्ट्याण्ड नै पुतलीसडक थियो त्यस बेला । पहिलो पटक काठमाडौँ आउँदा पनि खासै अलमल भने भएन उहाँलाई । घट्टेकुलो को हरिहर शर्मा वाग्लेको घरमा उहाँको दाइ बस्नुहुन्थ्यो । उहाँले घरबेटीको फोन नम्बर लिनुभएको थियो उहाँले । वाग्ले नेपाल सरकारको सह सचिवबाट अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ । 

दोस्रो पटक भने दाइ त्यहाँ नबसे पनि सिधै उहाँ घट्टेकुलो को वाग्लेको घरमा आउनु भयो । उहाँ झण्डै आठ/दश वर्ष नै त्यहीँ बस्नु पनि भयो । हुनत पछि अन्त पनि सर्नुभयो । तर, सर्दा पनि यही क्षेत्र जस्तो मैतीदेवी, डिल्लीबजार, घट्टेकुलो आदि यही परिसरतिर मात्र उहाँको बसाइ रह्यो । 

०००

त्रिचन्द्र कलेज पढ्दा उहाँका धेरै रचनाहरू गरिमामा छापिने गरिसकेका थिए । गरिमाको सम्पादक विष्णुविभू घिमिरे हुनुहुन्थ्यो त्यस बेला । तारानाथ शर्मासँग उहाँको सामीप्यता बडो गजबको थियो । 

उहाँका लेख रचना तारानाथ शर्मा तथा महाकविबाट धेरै प्रभावमा परेर लेखिएका छन् । तारानाथ शर्मालाई नौ/दश कक्षामा नै पढिसकेको हुनाले उहाँ व्यक्तिगत रुपमा परिचित नभए पनि भावनात्मक रुपमा भने नजिक हुनुहुन्थ्यो । त्यस बेला शर्मा विश्वविद्यालय पढाउनुहुन्थ्यो । उहाँ पनि शर्मालाई भेट्न विश्वविद्यालय जानुभयो । 

शर्मालाई भेटि सकेपछि किन आएको, कसरी आएको, कसलाई भेट्न आएको भनेर अलि खरो खालको प्रश्नहरु गर्नुभयो । उहाँको व्यक्तित्व पनि त्यस्तै खालको थियो । उहाँले समालोचक तथा उहाँको काका गणेश कुमार प्रसाईंको नाम लिएर चिनेको छ भनेर सोध्नुभयो । उहाँले काका तथा घर पनि सँगै रहेको बताउनु भयो । 

त्यसपछि शर्माले मेरो के के पढेको छ भनेर सोध्नुभयो । जमर्काहरु र बेलायततिर बरालिँदाको नाम उहाँले लिनुभयो । त्यसभित्र पनि कुन मन पर्यो भन्ने उहाँको प्रश्नमा उहाँले यालिसलाई लेखेको चिठीको नाम लिनुभयो जुन उहाँलाई कन्ठस्थ थियो ।

‘वसन्त बिदामा पेट ग्यालरी र क्यू गार्डेन्सहरु सँगै घुमौं हौ भनेर लेखेकी रहिछौ । हुन्छ, धेरै धेरै पटक हुन्छ, तीमै तारा’ भनेर उहाँले कण्ठस्थै सुनाउनु भयो । शर्माले त्यसपछि उहाँलाई ग्वाम्ल्याङ्ग अंगालो हाल्नु भयो । त्यसपछि त्यो अँगालोसँगै प्रगाढ रहेको मित्रता उहाँको अन्तिम दिनसम्म पनि उत्तिकै रह्यो । 

उहाँको त्यही सम्झना हालेर उहाँ बित्दा कसले के भने भन्ने समवेदनाका शब्दहरु हालेर उहाँ जेठ महिना भरमा एउटा पुस्तक प्रकाशनको पनि तयारीमा हुनुहुन्छ । त्यसमा शर्माले उहाँलाई अमेरिकाबाट लेखेका १४ वटा चिठीहरू पनि समावेश छन् । 

०००

जागिरको प्रसंगमा भने उहाँले भर्खरै स्नातक तह मात्र सकाउनु भएको थियो । पद स्नातकोत्तर पास भएकाका लागि थियो । उहाँ त्यस बेला त्रिचन्द्रबाट भर्खरै कलेज टप गरेर बाहिरिनु भएको थियो । 

उहाँले आवेदन दिनु भयो र छनौट पनि हुनुभयो । पद थियो नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सूचना अधिकृत । अशेष मल्ल, विमल चापागाइँ, हेम हमाल जस्ता साहित्यकारहरु त्यसबेला जागिर खानेमा सँगै हुनुहुन्थ्यो । 

त्यस बेला उहाँको तलब १३ सय ५० थियो । त्यसलाई राम्रै तलब मानिन्थ्यो । त्यस बेला घरभाडा १ सय ५० थियो । घरभाडा तथा अन्य आवश्यकताका सामान किनेर सकियो उहाँको पहिलो तलब । उहाँ नेपाल सरकारको अधिकृत भए पनि एउटै कोठामा गुजारा चलाउनुहुन्थ्यो । त्यस्तो फुर्माइस गर्न मन पर्दैनथ्यो उहाँलाई । उहाँको जीवनमा लाउने, खाने कुरा खासै प्राथमिकतामा परेनन् । जुन क्रम अहिलेसम्म पनि चलिरहेको छ ।  

त्यो भन्दा पनि त्यहाँबाट विदेश घुम्ने अवसर प्रशस्त हुन्थ्यो । प्रायः त्यहाँका अधिकृतहरु विदेश नगएका कोही पनि हुँदैनथे त्यस बेला । त्यस समयमा उत्कृष्ट काम गरेवापत उहाँले युएनएफपीए अवार्ड समेत पाउनु भएको थियो । 

००० 

उहाँ जरा फाउण्डेशनको संस्थापक अध्यक्ष हुुनुहुन्छ । फाउण्डेशन स्थापना भएको १५ वर्ष भयो । उहाँ आफैं पढेको जेहेन्दार तथा आर्थिक रुपमा कमजोर विद्यार्थीलाई केही आर्थिक सहयोग दिएर जरा फाउण्डेशनको शुरुआत भएको हो । पछि स्कूललाई चाहिने आवश्यक सामग्री पनि फाउण्डेशनले दिने गरेको छ ।  

अहिले पनि जरा फाउण्डेशनले धेरै मान्छेलाई पुरस्कृत पनि गर्ने गर्छ भने विभिन्न कार्यक्रम पनि गर्ने गरेको छ । जरा फाउण्डेशनको अहिले विदेशमा १३ वटा शाखाहरु छन् । चीन, श्रीलंका, दुबई, जापान, थाइल्याण्ड, कोरिया, हंङकंङ्ग लगायतका देशमा जरा फाउण्डेशनले कला साहित्य तथा संस्कृतिसँग सम्बन्धित कार्यक्रम गर्ने गरेको छ । एशियाका प्राय देशमा कार्यक्रम गरे पनि फाउण्डेशनले अहिलेसम्म युरोप, अमेरिकामा भने कार्यक्रम गरेको छैन । 

यही जेठ २० गते प्रज्ञा प्रतिष्ठान तथा जरा फाउण्डेशनको संयुक्त पहलमा कविता गोष्ठी आयोजना हुँदैछ । कला प्रतिष्ठान तथा प्रज्ञा प्रतिष्‍ठानसँग मिलेर फाउण्डेशनले धेरै काम गरेको छ । उहाँ देवकोटा–लुसुन फाउण्डेशनको पनि संस्थापक कोषाध्यक्ष हुनुहुन्छ । 

उहाँ युएनएफपीए तथा योगी नरहरिनाथ पुरस्कार, धरणीधर कोइराला पुरस्कार, मेधावी छात्रवृत्ति लगायतका पुरस्कारबाट पुरस्कृत हुनुहुन्छ भने सम्मानका हकमा असंख्य छन् । 

उहाँको श्रीमती तथा एक छोरा, एक छोरी हुनुहुन्छ । छोरा अमेरिका तथा छोरी फिनल्याण्डका हुनुहुन्छ ।