‘सांसदलाई छुट्टै रकम दिनु भ्रष्टाचार निम्त्याउनु हो’

‘सांसदलाई छुट्टै रकम दिनु भ्रष्टाचार निम्त्याउनु हो’

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडौं । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदले १० करोड रुपियाँ माग गरेकोमा नागरिक समाजले कडा आपत्ति जनाएको छ । स्थानीय जनप्रतिनिधि नभएको सन्दर्भमा सुरु गरिएको यो अवधारणा अब अप्रासंगिक भएको विश्लेषकहरुको धारणा छ ।

‘मुलुकमा ७५३ स्थानीय निकाय छन् बजेट परिचालनका लागि, संघीय सांसदलाई किन चाहियो छुट्टै संरचना ?’, नागरिक समाजका अगुवा भवानी खरेल भन्नुहुन्छ– ‘सांसदलाई दिने भनिएको १० करोडले भ्रष्टाचार मात्र निम्त्याउँछ ।’

संघीय संसद्मा आगामी साता आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट प्रस्तुत हँुदै छ । सरकारले वजेट ल्याउने अन्तिम तयारी गरिरहँदा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी वार्षिक १० करोड रुपियाँको माग गरिरहेका छन् ।

सांसदहरुलाई विकास बजेट दिने काम बन्द गर्नुपर्ने भन्दै संघीय समाजवादी पार्टीको सचिव दुर्गा सोव भन्नुहुन्छ– ‘यो विशुद्ध व्यक्तिगत स्वार्थका कारण मागिएको बजेट हो, कुनै पनि हालतमा दिनुहुँदैन ।’ सांसदलाई विकास वजेट दिनु भनेको राज्यको ढुकुटीको दुरुपयोग हो भन्दै उहाँले विकासका नाममा राज्यको ढुकुटी दोहन हुने टिप्पणी गर्नुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।