देउवा र मोदीद्वारा संयुक्त रूपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

देउवा र मोदीद्वारा संयुक्त रूपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त रूपमा शिलान्यास गरेका छन् । 

सेन्टरको निर्माणपछि २ देशबीचको सांस्कृतिक र जनता-जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ । 

भारतीय प्रधानमन्त्री मोदी बिहान भारतीय वायु सेवाको हेलिकोप्टरमा लुम्बिनी आएका हुन् । त्यहाँ उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । त्यसपछि उनीहरूले सेन्टरको शिलान्यास गरेका हुन् ।  

‘लुम्बिनीमा न्यानो स्वागतका लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु’, मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपाल आइपुगेको छु । बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनतामाझ हुन पाउँदा खुसी लागेको छ । लुम्बिनीमा हुने कार्यक्रमहरूमा सहभागी हुने अपेक्षामा छु ।’ 

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनीमा ६ घन्टा बिताएर उनी आजै स्वदेश फर्कने जनाइएको छ ।