म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७९

म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले ४ हजार ९५० मत पाएका छन् । रानाले ४ हजार २३२ मत पाइन् । 

तनहुँको म्याग्देमा १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अघिल्लो पटक पनि म्याग्देको अध्यक्षमा यिनै २ जनाको चुनावी भिडन्त भएको हो । नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएकी राना दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित हुने दाउमा थिइन् । तर, अपेक्षाकृत नतिजा हासिल नहुँदा उनको यात्रामा ५ वर्षका लागि 'ब्रेक' लागेको छ । 

गएको निर्वाचनमा म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा थियो । अध्यक्षमा मायादेवी रानाले ४ हजार ५४२ ल्याउँदै १ हजार ८१ मतान्तरले एमालेका श्रीप्रसाद श्रेष्ठलाई पराजित गरेकी थिइन् । यसपालिका श्रेष्ठले हारको बदला लिँदै जित दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ५ हजार ३९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्नादेवी घिमिरेले ४ हजार २०० मत पाइन् । अघिल्लो पटक पनि यिनै २ जनाको भिडन्त थियो । तर, दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ । गएको निर्वाचनमा बालकृष्णले ४ हजार र रत्नादेवीले ३ हजार १५४ मत पाएका थिए ।

यसपालि म्याग्देमा एमालेले वडामा पनि नतिजा सुधार गरेको छ । वडा नम्बर १, ३ र ७ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २,४,५, ६ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडा- १ को अध्यक्षमा मणिभद्र वाग्ले,  २ मा शिवबहादुर क्षेत्री, ३ मा टुकराज अधिकारी, ४ मा दीपककुमार श्रेष्ठ, ५ मा शिवबहादुर आले, ६ मा हिरालाल गुरुङ र ७ मा वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । अघिल्लो पटक म्याग्देको वडा- २ र ६ मा  एमालेले वडाध्यक्षमा जित हासिल गरेको थियो ।