स्थानीय तहमा 'बालेन-क्रेज': राजनीतिक दलप्रति वितृष्णाको उपज कि संयोग !

स्थानीय तहमा 'बालेन-क्रेज': राजनीतिक दलप्रति वितृष्णाको उपज  कि संयोग !

अनुरोध शर्मा  |  दृष्टिकोण  |  जेठ २, २०७९

नयाँ संविधान जारी भएपछिको स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको छ । केही ठाउँमा अशान्त भए पनि धेरै ठाउँमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनले आगामी ५ वर्षका लागि स्थानीय सरकारका शासकहरू चयन गर्नेछ ।

निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । कतिपय स्थानमा केन्द्रीय सरकारमा गठबन्धन गरेका राजनीतिक दलहरूको तालमेल भएर निर्वाचन लडेका छन् भने केही स्थानमा उनीहरूबीच 'मित्रवत् प्रतिस्पर्धा' भएको छ ।

सुरुवाती मत परिणाम हेर्दाचाहिँ 'तालमेलमा झेल' भएको आशंका गर्ने आधार पनि देखिएको छ, जुन हाम्रो जस्तो 'अनुशासनहीन' र 'गैरराजनीतिक' राजनीति चलिरहेको देशमा अस्वाभाविक पनि होइन ।

जे जसो भए तापनि निर्वाचन सहज ढंगले सम्पन्न भइसकेको छ र जोजसले जितेर आउँछन्, तिनलाई ५ वर्षका लागि हामीले शासक स्वीकार्नुपर्ने बाध्यता छ । बाध्यता यश अर्थमा कि हामीकहाँ हाम्रा जनप्रतिनिधिले बेइमानी गरेमा वा सही ढंगले काम नगरेमा फिर्ता बोलाउने (रिकल) प्रावधान छैन । अदालतले मन नपरेका उम्मेदवारलाई भोट दिन्नँ भन्न पाउने (राइट टु रिजेक्ट) र गैरजिम्मेवार जनप्रतिनिधिलाई फिर्ता गरिपाऊँ भन्ने (रिकल)को प्रावधान कानुनमा राख्न भनेर आदेश दिएको लामो समय हुँदा पनि सरकारले त्यसलाई मानिरहेको छैन ।

एउटा 'अर्थपूर्ण' जोक काठमाडौं महानगरमा भयो । एउटा प्राविधिक पेसाकर्मी तथा र्‍यापर (गीतको शैलीमा तथानाम भन्ने) युवाले काठमाडौं जस्तो देशकै राजधानी रहेको महानगर हाँक्ने जोश र इच्छा देखाए । धेरैले उनको यस्तो जोश र इच्छाको उच्चप्रशंसा गरे ।

यदि यी प्रावधान राख्ने हो भने तस्कर, डन, भ्रष्ट र अनैतिकहरू कि निर्वाचनमै भाग लिँदैनथे वा सुध्रिने/सच्चिने र जिम्मेवार बन्ने थिए ।

यतातिर धेरै नअल्मलिऔँ- भर्खर सम्पन्न स्थानीय तह निर्वाचन र मत परिणामको छोटो समीक्षा गरौँ ।

यस पटकको निर्वाचनमा केही 'जोक'हरू भए । जोक भन्दा केहीलाई 'झोँक' चल्ला, चलोस् । तर, जोक त जोक नै हो ।

एउटा 'अर्थपूर्ण' जोक काठमाडौं महानगरमा भयो । एउटा प्राविधिक पेसाकर्मी तथा र्‍यापर (गीतको शैलीमा तथानाम भन्ने) युवाले काठमाडौं जस्तो देशकै राजधानी रहेको महानगर हाँक्ने जोश र इच्छा देखाए । धेरैले उनको यस्तो जोश र इच्छाको उच्चप्रशंसा गरे । भोट माग्ने क्रममा घरदैलोका बेला २ पटक काठमाडौं महानगरका प्रमुख भइसकेका केशव स्थापितका भन्दा धेरै गुणा बढी पछुवाहरू बालेन साहसँग देखिन्थे ।

त्यसबेलै बालेनले बाल्ने भे कि क्या हो ? भन्ने अनुमान गरियो । तर, एउटा व्यक्ति, जो राजनीतिक होइन, उसले वर्षौं राजनीतिमा रहेका र स्थापित विरासत बोकेकाहरूसँग कसरी प्रतिस्पर्धामा आउन सक्छ ? भन्ने पनि ठानियो ।

सुरुवाती मत परिणामले भने केही सवाल अवश्य उठाएको छ । एकातिर राजनीतिमा पनि स्थापित र काठमाडौंकै स्थानीय केशव स्थापित, अर्कातिर लामो पारिवारिक राजनीतिक विरासत बोकेकी काठमाडौंकै रैथाने सिर्जना सिंहसँग उपत्यकाबाहिरको एउटा ठिटो बालेनले राम्रै चुनौती दिइरहेका छन् । हालसम्मको मत परिणामअनुसार बालेन उनका दुवै मुख्य प्रतिस्पर्धीभन्दा निकै अगाडि छन्, भनूँ न- स्थापित र सिंहको मत जोड्दा पनि बालेनको जति हुँदैन ।

यही पाराको मत परिणाम अन्तिमसम्म नै देखियो भने बालेनले काठमाडौं महानगरपिताको ताज पहिरिनेछन् । र, त्यसपछि प्रस्ट हुनेछ- काठमाडौंले अब खाल्डोका र रैथानेलाई मात्र विश्वास गरिरहन छाडेको छ । सँगसँगै यो पनि प्रस्ट हुनेछ कि काठमाडौं पुराना अनुहारदेखि दिक्क भइसकेको छ । नयाँ नेतृत्व र नवीन सोचका जनप्रतिनिधि चाहिरहेको छ काठमाडौं ।

यससँगै अन्य सवाल पनि उत्पन्न भएका छन् यसबाट ।

काठमाडौंवासीले मात्र होइन, आमनेपालीले नै यसबेला नेतृत्वमा परिवर्तन चाहेका छन् । यसबीचमा जनताले विश्वास गरेकाहरूले जनतालाई विश्वास गरेनन्, जनतालाई वास्ता गरेनन्, यही भएर वर्तमान र पुराना नेतृत्वप्रतिको वितृष्णा बढ्यो । यसकै परिणाम आज बालेन साहहरू जन्मिए । राजनीतिक नेतृत्वमा रहेको 'भ्याकुम'मा बालेनहरू छिरे । यो उनीहरूको दीर्घकालीन सोच र उद्देश्यको परिणाम होइन, क्षणिक लहड र च्याँखे थपाइ मात्र हो ।

यसर्थ, बालेनहरूले यदि जिते नै भने पनि नेपालको राजनीतिक संरचना र कर्मचारीतन्त्रसँग अभ्यस्त र 'एडजस्ट' भएर बालेनहरूलाई काम गर्न सजिलो हुनेछैन । नगरसभा नामको राजनीतिक संरचनामा सबै 'हाँस' (राजनीतिक दलका प्रतिनिधि) हुनेछन्, जहाँ प्रमुख मात्र 'स्वतन्त्र' हुनाले उनले चाहेका प्राय: काम र योजना सफल बनाउन सक्नेछैनन् ।

यस्तो अवस्थामा बालेन(हरू)को राजनीतिमा उपस्थिति आमजनको मूलधारका पार्टी र नेतृत्वको वितृष्णाको उपजबाहेक केही हुनेछैन । विकासका सवालमा पनि गति लिन सक्ने अवस्था रहँदैन । पञ्चायतमा नानीमैयाँ दाहाल र प्वाँतु चौधरीलाई बहुदलेहरूले जिताएजति पनि हुन सकेन बालेन(हरू)को जित भने आमजनले पुन: ५ वर्ष टाउकोमा हात राख्नुपर्नेछ ।

यसको मूल आशय हो- राजनीतिक संरचना र संस्कारमा अभ्यस्त नभएकाहरू राजनीतिमा आउँदा 'पेण्डुलम' भएका उदाहरण धेरै छन् । बालेन त्यसको अपवाद बनून्, हार्दिक शुभकामना ।