स्थानीय तह निर्वाचन: सहरले खोजेको परिवर्तन, गाउँले पचाउन नसकेको विद्रोह !

लोकसंवाद टिप्पणी

स्थानीय तह निर्वाचन: सहरले खोजेको परिवर्तन, गाउँले पचाउन नसकेको  विद्रोह !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७९

मंगलबार बिहानसम्म करिब २५० स्थानीय तहको निर्वाचनको मत परिणाम आइसकेको छ । जसमा सबैभन्दा ठूलो दलका रुपमा नेपाली कांग्रेस उदाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेसँग पछि परेको कांग्रेस यसपटक भने सत्ता गठबन्धनमा रहेका पाँच दलको साथमा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ ।

तर कांग्रेस आफू ठूलो दल बने पनि सत्ता सहयात्री दलका उम्मेदवारलाई मत हाल्न भने निकै अनुदार देखियो । गठबन्धनमा रहेको कांग्रेसका उम्मेदवारले जित निकालेका धेरै स्थानमा सहयात्री पार्टीका उम्मेदवार पराजित भए । सबैभन्दा धेरै घाटा भने यो निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले नै व्यहोर्ने देखिएको छ ।

देशैभर ठूलो जनमत हुनुका बाबजुद पनि टुटफुट र विभाजनका कारण कम्युनिस्ट पार्टीहरु जित निकाल्न असफल देखिएका छन् । सबैभन्दा ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यो निर्वाचनमा आफ्नो क्षमता अनुसारको परिणाम निकाल्न असफल भएका छन् । कम्युनिस्ट पार्टीमा देखा परेको दम्भ, अहंकार र विचलनले निर्वाचनमार्फत राम्रै झापड भने खाएको छ । 

निर्वाचनको परिणाम आइरहँदा अब नेपाली राजनीतिमा केही नयाँ परिदृश्य भने देखिएको छ । पहिलो, नेपाली जनता अब विस्तारै परिवर्तनको पक्षमा छन् भन्ने उजागर भएको छ । कुनै बेला काठमाडौंमा नानीमैयालाई जिताएर विद्रोहको झण्डा उठाएको काठमाडौंले यसपटक बालेन साहमार्फत परिवर्तनको संकेत दिएको छ । देशका ठूला राजनीतिक पार्टीका उम्मेदवारलाई सबक सिकाउँदै काठमाडौंमा बालेनले लिएको अग्रताले अब सहरी जनमत विस्तारै परिवर्तन हुँदैछ भन्ने देखाएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शनासहित नयाँ एजेन्डा बोकेका साना पार्टीले काठमाडौंमा राम्रो मत पाएका थिए । यसपटक बालेनमार्फत काठमाडौंले परिवर्तनको धुन बजाएको छ । भलै दलीय यो प्रणालीमा भोलि हरेक निर्णय गर्न उनले नगर कार्यपालिकामा राजनीतिक दलका जनप्रतिनिधिको अवरोध झेल्नुपर्नेछ, तर जनताले देखाएको यो परिवर्तनको लहरलाई राजनीतिक दलहरुले बुझेनन् भने अब विस्तारै उनीहरुको पतनका दिन आउनेछन् भन्ने यसबाट पुष्टि हुन्छ ।

जनता सधैं राजनीतिक दलको अत्याचार पूर्ण गालीगलौजले भरिएका भाषण सुन्न, महंगीको मारमा पिल्सिन, अराजकता र बेतिथिको सिकार भइरहन सक्दैनन् र परिआएका बेला कठोर निर्णय लिन सक्छन् भन्ने पुष्टि काठमाडौंले देखाएको छ । 

सुनसरीको धरानमा हरेक चुनावमा एउटै नारा हुन्छ, खानेपानी ल्याउने । तर चुनाव जितेपछि त्यो नारा अर्को चुनावसम्मका लागि अलपत्र पर्छ । यसपटक पनि त्यहाँका उम्मेदवारले खानेपानी ल्याउने बाचा गरेका छन् । तर राजनीतिक दलबाट यो पूरा हुने सम्भावना नदेखेका धराने जनताले खानेपानीको नारा बोकेका हर्क साङपाङलाई मत दिएर दलहरुको धोकाविरुद्ध विद्रोह गरेका छन् भने धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रताले दलहरु सहरी क्षेत्रमा कति अलोकप्रिय बन्दै गइरहेका छन् भन्ने पुष्टि गर्छ ।

राजनीतिक दलहरुको अलोकप्रियता सहरी क्षेत्रमा बढेजस्तो ग्रामीण क्षेत्रमा भने पाइएन । यद्यपि धेरै स्थानमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । यसमा मुख्यतः राजनीतिक दलकै समर्थन रहेको पाइएको छ । जनताले परिवर्तन खोजेका छन्, तर जनता विप्लवी परिवर्तन पनि चाहँदैनन् भन्ने प्रष्ट भएको छ । जनतामाझ ठूलै क्रान्तिको सपना देखाउने विप्लव नेकपाका उम्मेदवारहरुको पराजयले जनताहरु हिंसात्मक परिवर्तनको पक्षमा छैनन् ।

दलीय राजनीतिक व्यवस्थामा दलहरु नै मुख्य हुन्, तर उनीहरुमा विकास भएको स्वेच्छाचारिता र जनतालाई ठग्ने प्रवृत्ति विरुद्ध स्वतन्त्र उम्मेदवारमार्फत सहरी क्षेत्रले विद्रोहको सुरुवात गरेका छन् । भलै स्वतन्त्र उम्मेदवारले जित्ला या नजित्लान अहिले नै भन्न सक्ने अवस्था आइसकेको छैन । तर राजनीतिक दलहरुको रबैया यस्तै रहने हो भने एउटा बिन्दुमा गएर यिनीहरु बढारिन्छन् भन्ने चै यो एउटा संकेत हो । 

अर्को, गठबन्धन गरेर चुनाव जित्ने परम्परा विश्वका धेरै देशमा पाइन्छ । नेपालमा पनि एक्लै बहुमत ल्याउने अवस्था नभएका कारण दलहरुले गठबन्धन बनाउन थालेका छन् । तर नेपालमा गठबन्धन प्रभावकारी हुन सक्दैन भन्ने यो निर्वाचनले देखाएको छ । सजातीय गठबन्धनमा जसरी जनताको मत तान्न सहज हुन्थ्यो, बिजातीय गठबन्धनमा त्योभन्दा कयौं गुणा कठिन हुने देखिएको छ ।

यसपटक सिद्धान्त छेउटुप्पो नमिल्ने कांग्रेस, माओवादी र उपेन्द्र यादवको गठबन्धनले यही संकेत गर्छ । उता एमाले, राप्रपा, कांग्रेस बीपीसहित ठाउँ अनुसार बनेका रंगी विरंगी गठबन्धनले पनि अपेक्षित परिणाम ल्याउन सकेनन् । आफ्नो स्पष्ट जनमत पनि नदेखिने, गठबन्धनको ठूला दलका मतदाताले साना दलका उम्मेदवारलाई नपत्याउँदा यस्ता गठबन्धन त ठूला दलका लागि चुनाव जित्ने साधन र त्यो भन्दा केही कम जनाधार भएका राजनीतिक दलका लागि मन्द बिष साबित भएका छन् । 

सबैभन्दा महत्वपूर्ण भनेको यो निर्वाचनले फेरि पनि राष्ट्रिय राजनीतिमा परिवर्तनको संकेत देखाएको छ । स्थानीय चुनावको परिणाम जसरी देखा परेको छ, यसले सबैभन्दा ठूलो दल भएर पनि कांग्रेसको बार्गेनिङ शक्ति घटेको छ । किनकि उसले अघिकांश स्थानमा माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको मतले चुनाव जित्दा कांग्रेसको मतका कारण धेरै कम उम्मेदवार मात्रै चुनाव जितेका छन् ।

यसबाट अब एक्लै लड्दा कांग्रेसले धेरै स्थानमा पराजित हुने खतरा देखिएको छ भने अर्कोतिर कांग्रेससँग गठबन्धनका लागि दलहरु विश्वस्त हुन नसक्ने अवस्था सिर्जना भएको छ । त्यसैले अब कांग्रेसले गठबन्धनमा रहेका अन्य दललाई विश्वासमा लिन अधिक सिट दिएर तालमेल गर्नुपर्नेछ, कि त कांग्रेस बाहेकका दलको गठबन्धनको सामना गर्न तयार हुनुपर्नेछ । 

अन्त्यमा, राजनीतिक दलहरुको अलोकप्रियता सहरी क्षेत्रमा बढेजस्तो ग्रामीण क्षेत्रमा भने पाइएन । यद्यपि धेरै स्थानमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । यसमा मुख्यतः राजनीतिक दलकै समर्थन रहेको पाइएको छ । जनताले परिवर्तन खोजेका छन्, तर जनता विप्लवी परिवर्तन पनि चाहँदैनन् भन्ने प्रष्ट भएको छ । जनतामाझ ठूलै क्रान्तिको सपना देखाउने विप्लव नेकपाका उम्मेदवारहरुको पराजयले जनताहरु हिंसात्मक परिवर्तनको पक्षमा छैनन् । बरु यही व्यवस्थालाई अधिकतम जनतामुखी बनाउन शान्त आँधीबाट विशाल सन्देश दिएका छन् ।