बुवाद्वारा सम्पादित तथा प्रकाशित पत्रिका ‘प्रगति’ : छोराद्वारा सबै अङ्क प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण

बुवाद्वारा सम्पादित तथा प्रकाशित पत्रिका ‘प्रगति’ :  छोराद्वारा सबै अङ्क प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ ५, २०७९


काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा साहित्यिक पत्रकार नारायणप्रसाद बाँस्कोटाद्वारा सम्पादित तथा प्रकाशित चर्चित साहित्यिक पत्रिका ‘प्रगति’का प्रकाशित सम्पूर्ण अङ्कहरू बाँस्कोटाका साहिँला सुपुत्र प्रा.डा. कमल बाँस्कोटाले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ ।

बुधबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित समारोहमा प्रा.डा. बाँस्कोटाले वि.सं. २०१० देखि २०१३ सालसम्म प्रकाशित ‘प्रगति’का १६ ओटा मुद्रित प्रति र १६ ओटै विद्युतीय प्रति कुलपति गङ्गाप्रसाद उप्रेती मार्फत् प्रज्ञा–प्रतिष्ठानको पुस्तकालयका लागि हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा प्रा.डा. बाँस्कोटाले आफू र प्रा.डा. बद्री विशाल भट्टराईद्वारा सम्पादित ‘प्रगति र नारायणप्रसाद बाँस्कोटा स्मृति भेट’ नामक स्मृति ग्रन्थ र नारायणप्रसाद बाँस्कोटा सहित उहाँका समकालीन लेखकहरूको सामूहिक तस्बिरसमेत कुलपति उप्रेती मार्फत् प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको साहित्यिक पत्रकारिताको इतिहासमा ‘प्रगति’ पत्रिकाको विशिष्ट स्थान रहेको उल्लेख गर्दै उहाँले नेपालमा प्रगतिशील साहित्यको प्रवद्र्धनमा प्रगति पत्रिकाको ठुलो योगदान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महाकवि देवकोटा आफैँले प्रगति पत्रिकाको  ग्राहक बनाएको पाइन्छ ।” कुलपति उप्रेतीले प्रगतिका सम्पादकीय अन्य पत्रिकाका सम्पादकीय भन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ती सम्पादकीयहरूलाई प्रज्ञा–प्रतिष्ठानको अनुसन्धान परियोजनाअन्तर्गत तयार पार्न सकिने बताउनुभयो ।