थाइल्यान्डमा आधुनिक भन्ज्याङ चौतारीको सम्झना: बहुभाषी शिक्षाको मेलो मेट्रो रेलको कल्पना !
जेठ ६, २०७९

सानो छँदा मैले एउटा गीत सुनेको थिएँ, ‘चार भन्ज्याङ हजुर भित्र छैन इष्टमित्र, बानेश्वरमा एउटा मित ।’ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित बाँड भन्ज्याङ, दक्षिणमा रहेको फर्पिङ भन्ज्याङ, पूर्वी नाका साँगा भन्ज्याङ र उत्तर तर्फको पाँचमाने भन्ज्याङलाई नै ‘चार भन्ज्याङ’ भनिएको रहेछ भनेर पछि मात्रै बुझेँ । 

धादिङको आम भन्ज्याङ देखी बेल भन्ज्याङसम्म हिँड्डुल गरेर हुर्किएको मान्छे मलाई ‘देउराली भन्ज्याङले बिर्सेको छैन प्रवासी दाजु तिमीलाई’ बोलको पुरानो गीतले पनि उल्कै मन छोएको थियो । आफ्नो दिनचर्या वा पेशागत जीवनमा ‘भन्ज्याङ’ सँग जम्काभेट गर्न पाउनेले भन्ज्याङको महत्वलाई अनुभूत गर्नु स्वाभाविकै पनि हो ।   

पैदल यात्रा गर्नुपर्ने बेलामा भन्ज्याङको महिमा अपरम्पार थियो । बेँसीबाट उकालो चढ्दै जाँदा भन्ज्याङ चौतारीको पेटीमा भारी बिसाएर आराम गर्नुको मिठास अतुलनीय हुन्थ्यो । गाउँबाट ओरालो झर्दा एकछिन चौतारीको शीतल छहारीमा बसेर पात बजाउँदै रमाउनुको आनन्द बेग्लै हुन्थ्यो ।  

तेर्सो बाटो हिडेर आउँदा पनि बस्न मिल्ने सजिलो ठाउँ हो भन्ज्याङ । सबैलाई पायक पर्ने आनन्द दिने स्थान भन्ज्याङ ।  

चार–पाँच दशक अघि समाजसेवी धर्मात्माहरूले पुण्य कमाउने अभिप्रायले भन्ज्याङमा बर पिपलको चौतारी बनाउने र त्यसको विवाह (प्रतिष्ठा) गरिदिने गर्दथे । माटोको गाग्रोमा दैनिक रूपमा खानेपानी लगेर चौतारोमा राखिदिने परोपकारी मनहरूको पनि खडेरी थिएन त्यतिबेला ।   

जिन्दगीका रहर लाग्दा एघार बर्ष मैले प्लान इन्टरनेशनलका काम गरेर बिताएँ । त्यसको एशिया क्षेत्रीय कार्यालय बैंककमा भएको र आफू नेपालको राष्ट्रिय कार्यालयमा प्रारम्भिक बाल विकास तथा सिकाइ संयोजक भएको नाताले थाइल्याण्डको बैंकक यात्रा पानी–पँधेरो जस्तै थियो । कहिले प्रारम्भिक बाल विकास त कहिले शिक्षा संजालको बैठक भइ नै रहन्थ्यो एशिया क्षेत्रको । त्यस माथि एशिया स्तरका अन्य कार्यशाला गोष्ठीहरू पनि बैंककै हुने गर्दथे ।  

मलाई त्यतिबेला लागेको थियो, ‘यो बैंकक त आधुनिक भन्ज्याङ पो रहेछ ।’ हिडेर हैन, उडेर आउँदा भारी बिसाउने भन्ज्याङ । सबैलाई पायक पर्ने भन्ज्याङ । जता जाँदा पनि सजिलो हुने बैंककको ‘ट्रान्जिट’ !

हो, त्यही आधुनिक भन्ज्याङ अर्थात बैंककको यात्रा गर्दै थिएँ म २०७३ कार्तिक २ गते । यसअघि धेरै पटक थाइल्याण्डको भ्रमण गरिसकेको भएता पनि अनुसन्धाताको रूपमा चाहिं  यो पहिलो पटक नै थियो ।  

युनेस्को, युनिसेफ, इन्स्टिच्युट अफ लिंग्विस्टिक्स्, सेभ द चिल्ड्रेन, केयर, आदि संस्थाद्वारा संयुक्त रूपमा थाइल्याण्डको बैंककमा २०७३ कार्तिक ३–५ मा आयोजित भाषा र शिक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनको मूल विषय थियो ‘बहुभाषी शिक्षा मार्फत दिगो विकास’ ।  

एक बर्ष अघि शिक्षा मन्त्रालयको तत्त्‍वावधान तथा डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेड (डिफ्याट) र अष्ट्रेलियाली दूतावासको आर्थिक सहयोगमा ‘शिक्षणको माध्यम र शिक्षाका भाषाहरू: नेपालमा शिक्षाका नीति, योजना र अभ्यासका लागि अबको बाटो’ विषयमा अनुसन्धान गरिएको थियो । अनुसन्धानधाता थियौं अमान्दा सील, प्रा. डा. योगेन्द्र प्रसाद यादव र म  त्यही अनुसन्धानमा आधारित हाम्रो पेपर छानिएको थियो सम्मेलनको लागि । 

अनुसन्धान टोलीको एक सदस्यको नाताले गर्दा अष्ट्रेलियाली दूतावासमा बरिष्ठ शिक्षा सल्लाहकारको रूपमा कार्यरत भइसकेता पनि मलाई अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तोताको रूपमा भाग लिन जाने अवसर मिलेको थियो । बहु भाषी शिक्षा र अनुसन्धान प्रति दुतावासको चासो र चिन्ता प्रशंसनीय थियो ।  

‘प्रि फ्लाइट ड्रिंक’ बाट सुरू भएको थाइ विमानको बिजनेस क्लासको यात्रामा खानपिनको सुबिधा राम्रो थियो । आरामदायी सिटको त कुरै गर्नु परेन । लन्च खाइसक्ने बित्तिकै ल्यापटप झिकेर आफ्नो प्रस्तुतीकरणको तयारीको लागि बाँकी काम गर्न थालें मैले ।  

तीनजना मिलेर एउटा प्रस्तुतीकरण गर्नुपर्ने हुँदा भद्रगोल पो होला कि भन्ने चिन्ता पनि थियो । तीनजना तीनतिर भएको र भेट नभएको कारणले गर्दा हामीले इमेल मार्फत कामको बाँडफाँड गरेर जोखिम न्यूनीकरणको प्रयास गरेका थियौं ।  

एकातिर तयारी गर्नुपर्ने बाध्यता थियो भने अर्कोतिर पटक पटक यात्रा गरिसकेको ठाउँ तर्फ जाँदै गरेकोले झ्यालबाट हेर्न तिर मन खासै लालायित भएन ।  

बैंककको सुवर्ण भूमि अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाजले अवतरण गरेपछि पहिलेभन्दा बेग्लै माहौल दृष्टिगोचर भयो । झण्डा आधा झुकेका थिए । इमिग्रेसनका कर्मचारीहरू कालो वा सेतो पोशाकमा थिए । केवल पाँच दिन अघिमात्र थाइल्याण्डका राजा भूमि बोल अदुल्यादेजको निधन भएकोले त्यस्तो अवस्था सिर्जना भएको थियो ।  

सम्मेलनका आयोजकले इमेल मार्फत ‘कालो ड्रेसमा आउँदा राम्रो हुने’ कुरो उल्लेख गरेकाले मैले पनि केही दिन अघिमात्र बिल्कुल कालो सर्ट किनेको थिएँ । मेरो जीवनकै पहिलो कालो सर्ट थियो त्यो ।  महिलाको पहिरनमा कालो सारी तथा कुर्थाको हमेसा तारिफ गर्न रुचाउने मान्छे आफ्नो लागि चाहीँ कालो सटमा  ध्यान दिएको रहनेछु मैले ।  

कालो सट, कालो पाइन्ट र कालो जुत्तामा बैंककको आगमन कक्षबाट बाहिर निस्किँदा थाइ जनताको शोकमा ऐक्यबद्धता जनाइरहेको छु जस्तो अनुभूति भयो मलाई ।  

बाहिर निस्किने क्रममा शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमालसँग भेट भयो । उहाँ र मेरो गन्तब्य उही भएको थाहा भएपछि एकदम रमाइलो भयो । हामी एउटै ट्याक्सीमा पारिवारिक तथा पेशागत कुराकानी गर्दै गयौं सुकुम्भित रोडमा अवस्थित पाँच तारे होटेल ल्याण्डमार्क तिर ।    

थाइल्याण्डमा ७० बर्ष १२६ दिन शासन गरेका ८८ बर्षिय लोकप्रिय राजाको निधनले शोक सन्तप्त थियो बैंकक शहर । कार्यालयका झण्डाहरू आधा झुकेका थिए । सडकमा देखिने अधिकांश मानिसहरू कालो पहिरनमा थिए । ट्याक्सी चालकको पनि कालो ड्रेस नहुने त कुरै भएन ।    

संसारमा लामो समयसम्म राजा हुनेमा थाइ नरेश भूमि बोल दोस्रो नम्बरमा पर्ने रहेछन् । उनीसँग ३० जना प्रधानमन्त्रीले काम गरेका रहेछन् । पहिलो नम्बरमा चाहीँ ७२ बर्ष ११० दिन शासन गर्ने फ्रान्सका राजा लुइस चौधौँ रहेछन् ।  

जसरी भन्ज्याङको चौतारीमा यात्रुहरू आउँछन् । विश्राम गर्छन् । आफ्नो कुरा अरुलाई सुनाउँछन् । अरूका कुरा सुन्छन् । केही प्रतिक्रिया दिन्छन् । छलफल गर्छन् । एकछिनमा थकाई मर्छ अनि आफ्नो बाटो लाग्छन् । त्यसैगरी सम्मेलनमा पनि कोहीले पुरै अवधी भाग लिए । कोही आफ्नो पालो पर्ने बेलामा मात्र आए । आफ्नो प्रस्तुतीकरण दिए । सहभागीहरूका प्रश्नहरू ध्यान दिएर सुने । प्रश्नको उत्तर दिए । तर्क वितर्क गरे । त्यसपछि बिदा भए । 

सन् २०२२ सम्म आइपुग्दा त ९६ बर्षिया बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले ७० बर्ष ९४ दिन आफ्नो जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । अब डेढ महिनामा नै उनले राजा भूमि बोललाई उछिनेर लुइस चौधौँसँग प्रतिस्पर्धा गर्न गाइरहेकी छिन् । बेलायतमा मात्र हैन अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानाडामा समेत लोकप्रिय महारानी एलिजाबेथको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न मन लाग्यो मनमनै ।  

होटेलमा पुग्ने बित्तिकै ‘चेक इन’ गरेर म थाइल्याण्ड स्थित अष्ट्रेलियाली दूतावास तिर हानिएँ । किनकी काठमाडौँबाट अष्ट्रेलियाली दूतावासका स्टिभले एउटा महत्वपूर्ण सामग्री पठाउनु भएको थियो । दूतावासको कम्पाउण्डको पर्खालमा सेतो कपडा बेरिएको थियो । शोक मनाउने तरिका रहेछ त्यो ।  

अमान्दा बेलायतबाट आएर अर्को होटेलमा बस्नु भएको रहेछ । उहाँ आउनु भएपछि हामी तीनजनाले तयारीको लागि एकछिन भेटघाट गर्यौं ।  

उहाँले सुरुमै नेपालमा भूकम्पले पुर्याएको क्षतिबारे सोध्नुभयो । निरन्तर आएको परा कम्पनले त्रसित बनाइ रहेको समयमा फिल्डको बाँकी काम सम्पन्न गर्न सफल भएकोमा टोली नेताको हैसियतमा उहाँले आफ्नो टिमको प्रशंशा गर्नुभयो ।  

योगेन्द्र सरले ‘छोटो अवधिमा राम्रो रिपोर्ट लेख्न सक्ने’ भन्दै उहाँको लेख्ने सीपको तारिफ गर्नुभयो । मैले पनि ठट्टा गर्दै उहाँलाई भने, ‘भुइँचालो आएको बेला आफ्नो घर छोडेर पालमा बस्नुपर्दा उकुसमुकुस भयो ।’ 

धेरै बर्ष पहिले स्वयंसेविकाको रूपमा पोखरामा काम गर्नु भएकी अमान्दालाई सामान्य नेपाली भाषामा कुराकानी गर्न आउँथ्यो । आफ्नो नेपाली नाम ‘माया’ तथा ‘मन्दाकिनी’ राख्नु भएकी उहाँले ‘उकुसमुकुस’, ‘कलकल’, ‘साँच्चै’ जस्ता शब्दहरू समेत प्रयोग गर्नुहुन्थ्यो ।  

अमान्दाले झापामा फिल्डको काम गरेको बेला भारतको सिमानामा गएको र रसुवाको स्याफ्रुबेँसीमा अनुसन्धान कार्य सकेर चीनको सिमानासम्म गएको कुराको स्मरण गर्नुभयो ।  

सम्मेलनको पहिलो दिन एउटा ठुलो हलमा सुरु भएको उद्घाटन सत्र पश्चात केही सेसन चलेपछि विभिन्न हलमा बाँडिएर समानान्तर रूपमा सेसनहरू संचालन गरिएको थियो ।

नेपालबाट सहभागी हुनेहरूको संख्या उल्लेख्य थियो । प्रा. डा. योगेन्द्र प्रसाद यादव, प्रा. डा. दानराज रेग्मी,  डा. डिल्लीराम रिमाल, डा. अम्बिका रेग्मी, पुस्कर कँडेल, सीमा आचार्य, रूप श्री जोशी, चूर्ण चौधरी, आस्मानी चौधरी आदिको सहभागिता थियो ।  

नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा सँगै अध्ययन गरेका तथा बहु भाषी शिक्षामा पीएचडीको अनुसन्धान गरेका मेरा मिल्ने साथी दक्षिण कोरियाका सांगसोक सन पनि सम्मलेनमा पेपर प्रस्तुत गर्न आएका रहेछन् । उनीसँग भेट हुँदा अत्यन्तै रमाइलो लाग्यो ।  

हाम्रो सेसनको मोडरेटर पनि नेपालकै चिरपरिचित व्यक्तित्व तथा युनेस्को बैंककमा कार्यरत प्रा. डा. मीनबहादुर बिष्ट हुनुहुन्थ्यो । हामी तीन जनालाई प्रश्नोत्तर सहित डेड घण्टा समय दिइएको थियो ।  नेपालको परिस्थिति राम्रो बुझेका नेपाली विज्ञको सेसन अघि बढाउने शैली पनि रोचक थियो ।  

योगेन्द्र सरले अनुसन्धानको परिचय, पृष्ठभूमि तथा सैद्दान्तिक परिप्रेक्षबारे प्रस्तुतीकरण दिनुभयो । मैले फिल्डको अनुसन्धान कार्य, धरातलीय यथार्थता तथा नेपालमा बहु भाषी शिक्षाको अभ्यास तथा चुनौतीबारे प्रस्तुत गरें । अमान्दाले भाषा र शिक्षाको राजनैतिक अर्थशास्त्र तथा परिवर्तनको लागि ‘रोडम्याप’ प्रस्तुत गर्नुभयो । 

हामी तिनै जनाले संयुक्त रूपमा धनकुटा, झापा, काठमाडौं उपत्यका र रसुवा जिल्लामा अनुसन्धान कार्य गरिसकेपछि अमान्दा बेलायत जानुभएको थियो । तर नेपालमा प्रलयकारी भूकम्प आएपछि बेलायत सरकारले आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न रोकी दिएकोले उहाँ फेरी आउन पाउनु भएन । 

त्यसपछि योगेन्द्र सरले धनुषा र मैले तनहुँ, पाल्पा, कपिलवस्तु, बाँके, बर्दिया, कंचनपुर र डडेल्धुरा जिल्लामा एक्लै फिल्डको अनुसन्धान कार्य सम्पन्न गरेका थियौं । त्यसैले भूकम्पको असर र सफल बहु भाषी शिक्षा कार्यक्रमको बारेमा सान्दर्भिक प्रश्नहरू गर्ने तर्फ केन्द्रित हुनुभयो सहभागीहरू ।  

प्रस्तुत गरिएको सोध पत्रमा नेपालमा शिक्षणको माध्यम र शिक्षाका भाषाहरू सम्बन्धी एउटा विस्तृत नीतिको विकास गरिनुपर्ने सुझाव दिइएको थियो । उक्त नीतिले ‘समाजमा मातृभाषा, नेपाली र अंग्रेजीको महत्व स्पष्ट उल्लेख गर्नुपर्ने र यी प्रत्येकले एक अर्कालाई कसरी मद्दत गर्छन् तथा समावेशीकरण, शान्ति स्थापना, सामाजिक सामन्य जस्ता र सामाजिक–आर्थिक विकासमा कसरी सहयोग गर्छन् भन्ने कुराको व्याख्या गर्नुपर्ने’ कुरा उल्लेख गरिएको थियो ।

साथै, ‘त्रि भाषिक’ अवधारणा प्रतिको प्रतिबद्धताका आधारमा बालबालिकाको सिकाइलाई अधिकतम बनाउने लक्ष्य सहित मातृभाषा, नेपाली र अंग्रेजीको सु स्पष्ट क्रम निर्धारण गर्नुपर्ने सुझाव दिइएको थियो । 

बिदेशी सहभागीहरूले नेपालको प्रस्तुती निकै राम्रो भएको बताएपछि चौपट्टै खुसी लाग्यो । धेरैले रिपोर्ट इमेल गर्नको लागि अनुरोध समेत गर्नुभयो ।

सेसनको समापन गर्ने क्रममा शैक्षिक तथा अनुसन्धानको पृष्ठभूमि, तालिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको आधारमा हेर्दा हाम्रो टिम बेजोडको रहेको कुरा दिल खोलेर भन्नुभयो सहजकर्ताले । 

भन्ज्याङको न्यास्रो लागेर ‘आधुनिक भन्ज्याङ’को कुरा गरीरहेको बेला सम्मेलनलाई पनि एउटा चौतारीको रूपमा पुनर नामाकरण गरिदिन मन लाग्यो मलाई । 

जसरी भन्ज्याङको चौतारीमा यात्रुहरू आउँछन् । विश्राम गर्छन् । आफ्नो कुरा अरुलाई सुनाउँछन् । अरूका कुरा सुन्छन् । केही प्रतिक्रिया दिन्छन् । छलफल गर्छन् । एकछिनमा थकाई मर्छ अनि आफ्नो बाटो लाग्छन् । त्यसैगरी सम्मेलनमा पनि कोहीले पुरै अवधी भाग लिए । कोही आफ्नो पालो पर्ने बेलामा मात्र आए । आफ्नो प्रस्तुतीकरण दिए । सहभागीहरूका प्रश्नहरू ध्यान दिएर सुने । प्रश्नको उत्तर दिए । तर्क वितर्क गरे । त्यसपछि बिदा भए । 

त्यसैले साझा चौतारीको झझल्को दिलाउने रहेछ सम्मेलनले पनि । वीचमा आउने जाने भइरहने । समानान्तर सेसनमा ‘वल्लो घरको नरे पल्लो घरमा सरे’ भने जस्तो भइरहने ।  
सेसन सकिएपछिका ब्रेकमा थाइल्याण्डकै खोनकेन का सहभागीसँग भेटघाट भयो । उहाँले पनि हाम्रो रिसर्चको तारिफ गर्दै रिपोर्ट पठाइदिन अनुरोध गर्नुभयो । मैले सन् २००३ मा स्थानीय पाठ्यक्रम सम्बन्धी कार्यशाला गोष्ठीमा भाग लिन खोनकेन गएको र त्यहाँका विद्यालयहरूमा गरिएको स्थानीय पाठ्यक्रमको अभ्यासलाई राम्रोसँग अवलोकन गरेको कुरा बताएपछि उहाँ धेरै खुसी हुनुभयो ।  

वास्तवमा खोनकेन विश्वविद्यालयका प्राध्यापकहरूद्वारा सहजीकरण गरिएको त्यो कार्यशाला ज्यादै नै राम्रो थियो । नेपालमा पनि त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय सँगको सहकार्यमा पाठ्यक्रम विकास केन्द्रले स्थानीय पाठ्यक्रम कार्यन्वयन गर्न पहलकदमी लिएमा कत्ति राम्रो हुन्थ्यो होला भन्ने लागेको थियो त्यतिबेला मलाई । 

कार्यक्रमको समापनमा एउटा होटेलमा भएको सांस्कृतिक कार्यक्रम उधुमै रमाइलो थियो खोनकेनमा । नाचगानमा रम्न चाहने मेरा सहकर्मी मित्र ओमप्रकाश उप्रेतीको सहभागिता पनि सम्झना गर्न लायक थियो ।

साँझमा सांगसोकसँग भेटघाट गर्दा जेएनयूमा हामी सँगै अध्ययन गरेकी थाइल्याण्डकी साथी सिभानकोर्न बारे कुराकानी भयो । फेसबुक म्यासेन्जरबाट मार्फत उनीसँग पनि भेट गर्ने जमर्को गरें तर सफल हुन सकेन किनकि उनी त बैंकक बाहिर पो रहिछन् । 

प्लान इन्टरनेशनलको एशिया क्षेत्रीय कार्यालय, बैंककमा भएका मेरा चिरपरिचित साथीहरू डा. होवा फुवान ट्रान (भियतनाम) र स्याण्डी फर्टुना (फिलिपिन्स) ले प्लान छोडिसकेका रहेछन् । 

सम्मेलनको समापन पश्चात डा. रिमाल र म किनमेलको लागि बाहिर निस्कियौँ । मेट्रो चढेर जाँदै गर्दा उहाँले भन्नुभयो, 'हाम्रो काठमाडौंमा पनि यसैगरी मेट्रो चढ्ने दिन कहिले आउला ?' 

'दशकौं लाग्ला नि ! अहिलेसम्म गाडी जाने एउटा ‘ओभर पास’ त छैन । भिजन, बजेट र प्रतिबद्धता भएमा बनाउन नसकिने कुरो त थिएन । म सुरूमा बै‌ैंकक आउँदा मेट्रो थिएन । किनकी बैंकक मेट्रोको उद्घाटन राजा भूमि बोल र रानी सिरिकिटले केवल सन् २००४ जुलाईमा मात्र गरेका थिए ।' मैले आफ्नो राय दिएँ । 

मेट्रो को कुरा चली रहेको बेला मेरो मन चाहीँ सवैभन्दा पहिले आफूले चढेको पेरिसको मेट्रो तिर पुगेछ । सन् १९०० मा सुरू भएको पेरिसको मेट्रो संजाल देखेर पहिलो पटक म छक्क परेको थिएँ । त्यसपछि सन् १९७७ मा बनेको र संचालनमा आएको आमस्टरडामको मेट्रो र सन् २००२ मा संचालनमा आएको दिल्ली मेट्रो मा यात्रा गर्दाका क्षणहरूको स्मरणले मनमा आनन्द आइरहेको थियो । 

'के सोचाइमा डुब्नु भो कडेल सर ?' डिल्ली सरको यो प्रश्नले मलाई झसङ्ग बनाइदियो । आफू कता हराएको भन्ने कुरा बताएँ उहाँलाई मैले ।

मेट्रो चढेका बहुसंख्यक यात्रुहरूले कालो तथा सेतो लुगा लगाएका थिए । मेट्रो बाट बाहिर हेर्दा फेरी पनि देखिए झुकेका झण्डाहरू । सरकारले ३० दिनसम्म सरकारी कार्यालय तथा शिक्षण संस्थाहरूमा झण्डा आधा झुकाउने निर्देशन दिएको रहेछ । 

सपिङ कम्प्लेक्समा कालो ड्रेस किन्नेहरूको घुइँचो थियो । जताततै स्वर्गीय राजा भूमि बोल प्रति अपार जनआस्था र सम्मान भएको पाइयो । 

मनमनै सोचेँ । हाम्रो देशमा अलोकप्रिय भएर राजतन्त्र समाप्त भयो । थाइल्याण्डमा चाहीँ उल्कै लोकप्रिय रहेछ ।  

साँझमा डिनर खाने क्रममा धेरै देशका सहभागीहरूसँग सम्मेलनको उपलब्धी तथा बहु भाषी शिक्षाको भावी गन्तव्यबारे अनौपचारिक रूपमा छलफल गर्ने अवसर पनि मिल्यो । त्यो क्षणमा सम्मेलनले आधुनिक चौतारीको झझल्को दिइरहेको अनुभूति गरें मैले ।
 


डा. कडेल शैक्षिक अनुसन्धाता तथा नीति विश्लेषक हुनुहुन्छ ।