७०५ पालिकाको मत परिणाम सार्वजनिक :  कांग्रेस ३११, एमाले १९० र माओवादी १२०

७०५ पालिकाको मत परिणाम सार्वजनिक :  कांग्रेस ३११, एमाले १९० र माओवादी १२०

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७९

काठमाडौँ । निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । 

आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । 

हालसम्म मतपरिणाम सकिएका पालिका मध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् । 

आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितिसकेको छ भने मतगणना भइरहेका मध्ये १४ पालिकामा अग्रता लिइरहेको छ । 

यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिका मध्ये १६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् भने २ पालिकामा अग्रता लिइरहेका छन् । 

जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना चलिरहेका मध्ये ३ पालिकामा जनता समाजवादी पार्टीको उम्मेदवारले अग्रता लिएका छन् । 

नेकपा (एकीकृत समाजवादी)ले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिका मध्ये दुईवटामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने ५ वटामा अग्रता लिइरहेका छन् । 

आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना भइरहेका मध्ये तीन पालिकामा अझै स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।