लमजुङ : अझै शुभ कार्यको खबर पुर्‍याउन जिम्मा 'कटुवाल' कै

लमजुङ : अझै शुभ कार्यको खबर पुर्‍याउन जिम्मा 'कटुवाल' कै

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ९, २०७९

लमजुङ । गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभ कार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिथितिअनुसार असिना बार्ने, बिउ बार्ने देखि विकास निर्माणका काममा सामूहिक काम गराउन, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको स्थानीय ईश्वर गुरुङले बताए । 

लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँ पारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडाे बनाउँदै उनलाई सुन्न थाल्छन् ।

चौतारीको डिलबाट उनी गाउँमा भैपरी आएका नयाँ सूचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई खबर सुनाउने मान्छे अर्थात् कटुवाल हुन् । गाउँका बासिन्दालाई सामूहिक रुपमा खबर गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको व्यवस्था  छ । वर्षौंदेखि कटुवालको चलन चल्दै आएको र आफूले चार वर्षअघि सो जिम्मेवारी सम्हालेको बिन बहादुरले बताए ।

घाम्राङ गाउँ मात्रै नभई आसपासका घिचे, साल्मे, घाम्राङ बेसी लगायतका गाउँमा पनि उनले नै खबर पुर्‍याउने गर्दछन् । गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफुलाई सन्तोष लागेको उनको भनाई छ । गाउँमा हुने कुनैपनि कार्यको खबर कटुवाल बाटै आफुहरुले थाहा पाउने स्थानीय सन्तबहादुर परियार बताउँछन् । कटुवालले एकै पटकमा सबैलाई खबर पुर्‍याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नहुने उनको भनाई छ ।

कटुवाल कराए बापत उनले गाउँलेहरु बाट सामुहिक रुपमा बार्षिक ४ मुरी धान, १ मुरी कोदो पाउँछन् । बर्सेनि गाउँमा थिति सभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै आएका उनले ११ जनाको परिवार धान्दै आएका छन् । 

क्व्होलासोथर मात्रै नभई जिल्लाको सुन्दरबजार, राई नास नगरपालिका, दोर्दी, दुध पोखरी र मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका ७५ वडा मध्येका अधिकांश गाउँमा अहिले पनि सामुदायिक सूचना प्रवाहका लागि परम्परागत ढंगमै कटुवालको व्यवस्था छ ।