जाजरकोट : वन उपभोक्ता समूहका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

जाजरकोट : वन उपभोक्ता समूहका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्ती कोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानमा अध्यक्ष बस्नेतले घुम्ती कोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरी २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।