सिस्नु पानी नेपाललाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान

सिस्नु पानी नेपाललाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ ११, २०७९

२०७९ जेठ ९ गते सम्माननीय उपराष्ट्रपति नन्द बहादुुर पुनको प्रमुख आतिथ्यमा युुगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती समारोह भव्यताका साथ सम्पन्न भयो ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ कवि वैरागी काइँलाको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथि सम्मननीय उपराष्ट्रपतिले एक लाख राशिको युुगकवि सिद्धिचरण पुरस्कार सिस्नुुपानी नेपाललाई प्रदान गर्नुभयो ।

साथै २०७७–०७९ को युुगकवि युवा पत्रकारिता पुरस्कारबाट क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई सम्मान गरियो । यस अवसरमा प्राज्ञ डा. देवी नेपालद्वारा लिखित ‘युुगकवि सिद्धिचरणका कवितामा छन्दविधान’ अनुुसन्धानात्मक कृतिको लोकार्पणसमेत गरिएको थियो । 

समारोहमा बोल्दै प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपतिले युुगकवि सिद्धिचरणबाट राणाकालमा पनि निर्भीकताका साथ क्रान्तिकारी सिर्जनाहरू भएका र युुगलाई सही मार्गनिर्देश गर्ने काम गरेका हुनाले नै उनलाई युुगकवि भनिएको विचार व्यक्त गर्नुभयो । उहाँले युुगकविले चाहे जस्तै विकृतिमुक्त समाज निर्माणका लागि हास्य र व्यङ्ग्यका माध्यमबाट नेपाली समाजका सबै खाले विकृतिहरूमाथि प्रहार गरी खबरदारी गर्दै आएको हुँदा सिस्नुुपानी नेपाललाई युुगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिएकोमा खुसी लागेको विचार व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले डा. देवी नेपालले ‘युुगकवि सिद्धिचरणका कवितामा छन्दविधान’ अनुुसन्धानात्मक कृति लेखेर एकातिर युुगकविको कर्मप्रति सम्मान गरेको र अर्कातिर युुगकविका कवितासम्बन्धमा चासो राख्ने र अनुसन्धान गर्न चाहनेहरूका लागि बाटो खुला गरिदिएको कुरामा जोड दिनुुभयो । विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले युुगकविका युुगीन कार्यहरूको स्मरण गर्नुुका साथै प्राज्ञ नेपालले प्रज्ञा–प्रतिष्ठानका कामहरूलाई भ्याएर पनि आफ्नो सिर्जनात्मक एवम् समालोचनात्मक कार्यलाई थप गतिशील बनाउन सकेकामा खुसी व्यक्त गर्नुभयो भने प्रधान सेनापति प्रभुराम शर्माले युुगकविको कवित्व, सिस्नुपानीको व्यङ्ग्यचेतना र विमोचित कृतिको महत्त्वका बारेमा बोल्नुुभएको थियो ।

समारोहमा कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले युुगकविको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै युुगले जन्माएका मान्छेहरू धेरै हुन्छन् जसको कुनै भूमिका हुँदैन तर युुगलाई जन्माउने थोरै मान्छेले समाज, राष्ट्र, विश्व र सिङ्गो मानव जातिका लागि विशिष्ट योगदान दिएका हुन्छन्, तिनैमध्येमा एक व्यक्ति युुगकवि सिद्धिचरण पनि हुन् भन्ने विचार व्यक्त गर्दै त्यस्तो अमर व्यक्तित्वको नाममा स्थापित पुरस्कार सिस्नुपानी नेपालले पाउँदा दाता र प्राप्तकर्ता दुवै सम्मानित भएको कुरामा जोड दिनुभयो । साथै प्राज्ञ नेपाल नेपाली छन्द कविताको पुनर्जागरण कालका अत्यन्त सक्रिय अभियन्ता भएको हुँदा उनको ‘युुगकवि सिद्धिचरणका कवितामा छन्द विधान’ त्यसैको निरन्तरता भएको विचार व्यक्त गर्नुभयो ।

विमोचित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै प्रखर समालोचक प्रा.डा. भागवत ढकालले प्राज्ञ नेपालले युुगकवि सिद्धिचरणका कवितामा प्रयुुक्त वार्णिक, मात्रिक, लोक र मुक्त चारै प्रकारका सम्पूर्ण छन्दहरूको लक्षण र उदाहरणसमेत प्रस्तुत गरी वस्तुुपरक विश्लेषण गरेका हुनाले यो कृति सामान्य पाठकदेखि लिएर विशिष्ट अनुसन्धाताहरूका लागि समेत उपयोगी हुने विचार व्यक्त गर्दै छन्द विधानको चर्चा गर्ने क्रममा वस्तुुपरक समालोचनाको र व्यक्तित्व र कृतित्वको मूल्याङ्कनका क्रममा प्रभाव वादी समालोचनाको प्रभाव रहेको कुरामा जोड दिनुभयो ।

कृतिकार प्राज्ञ डा. देवी नेपालले युुगकविका  चार ओटा कवितांशहरू प्रस्तुत गर्दै एउटै व्यक्ति वार्णिक, मात्रिक, लोक र मुक्त छन्द सबैमा सफल हुनुु सामान्य कुरा होइन, त्यसमा पनि तुलनात्मक रूपमा जटिल मानिने मात्रिक छन्दका सम मात्रिक, अद्र्धसम मात्रिक र विषम मात्रिक अन्तर्गतका विभिन्न छन्दमा ५ वटा खण्डकाव्य र १८३ ओटा कविता रचना गरेका हुनाले र एउटै कविका सन्दर्भमा नेपाली साहित्यमा मात्र नभएर संस्कृत काव्यपरम्परामा समेत यो तथ्य फेला नपर्ने हुनाले सिद्धिचरण ‘मात्रिक छन्दका दिग्विजेता’ नै भएको दाबी गर्दै कृति प्रकाशनका लागि प्रतिष्ठानलाई धन्यवाद दिनुुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञहरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली तथा प्रा.डा. गार्गी शर्मा, डा. फणीन्द्रराज निरौला, डा. शैलेन्दुुप्रकाश नेपाल, सूूब सेन ओली, रामबाबुु सुवेदीलगायतका विशिष्ट व्यक्तित्वहरू र सयौँ स्रष्टाहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन यादव भट्टराईले गर्नुभएको थियो, प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. मोहन लोहनीले स्वागत गर्नुुभएको थियो भने युवाकवि देवुु लुुइटेलले युुगकविद्वारा रचित ‘परोपकार’ कविता वाचन गर्नुुभएको थियो । कार्यक्रममा युुगकविद्वारा रचित प्रथम राष्ट्रिय गान ‘हिमगिरि मण्डित..’, अमर कविताहरू ‘मेरो प्यारो आखलढुुङ्गा...’ र ‘क्यारूँ म यो देश निमित्त क्यारूँ...’ को श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो भने ‘हिमगिरि मण्डित..’ राष्ट्रिय गीतका सङ्गीतकार एलिस कार्की र गायकद्वय राजेशकुमार श्रेष्ठ र गीता पाण्डेलाई कदर–पत्र प्रदान गरिएको थियो । 

समारोहमा सिस्नुुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले नेपाली समाजमा पुरस्कारका बारेमा अनेकौँ विकृतिहरू बढ्दै गएको कुराप्रति व्यङ्ग्य गर्दै युुगकविका नामको पुरस्कार सिस्नुुपानी नेपाल जस्तो व्यङ्ग्यविद्रोहमा हुर्केको संस्थाले पाउँदा गर्वबोध भएको विचार व्यक्त गर्नुभयो । संस्थाका तर्फबाट सबैलाई धन्यवाद दिने क्रममा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युुगकविजस्ता अमर स्रष्टाहरूको योगदानलाई सदैव जीवित राख्ने दायित्व राष्ट्रको र हामी सबै सिर्जना कर्मीहरूको रहेको विचार व्यक्त गर्नुभयो भने कार्यक्रमको समापन गर्दै सभाध्यक्ष वैरागी काइँलाले युुगकविका सिर्जनाले हामीलाई केही काम गर्न ऊर्जा प्रदान गर्ने, पुरस्कार पाउने व्यक्ति र संस्थालाई थप जिम्मेवारी प्रदान गर्ने र उनका बारेमा अध्ययन र अनुसन्धान गर्नेहरूलाई पनि गर्वबोध हुने हुनाले युुगकवि साँच्चै युुगकवि बनेर नेपाली धर्तीमा बाँचिरहने विचार व्यक्त गर्नुभयो ।