भो ! भो ! मलाई थाहा पाउनु छैन तपाईँका यी समाचार !!!

भो ! भो ! मलाई थाहा पाउनु छैन तपाईँका यी समाचार !!!

अंशु भूसाल  |  दृष्टिकोण  |  जेठ ११, २०७९

मलाई समाचार हेर्नु छैन न त पढ्नु नै छ । मलाई मेरो समाजमा, देशमा के भइरहेको छ ? त्यसबाट अनभिज्ञ हुन मन छ। हरेक दिन बलात्कार, यौन दुर्व्यवहार, लैङ्गिक हिंसाका समाचार सुन्दा, पढ्दा मलाई दिक्क, वाक्क, प्याक्क लागिसक्यो ।

आफ्नै बुवा, दाजुभाइ, काका, पति, ससुरा वा भनौँ आफ्नो भनिएको मानिसले नै यस्तो जघन्य अपराध गरेको सुन्दा र पढ्दा कहाली लागेर आउँछ । जब पीडितले आफ्नो अवस्थाका बारेमा आफ्नो परिवार अझ भन्नै पर्दा आमालाई भन्छन्, ‘सहनुपर्छ, यस्तो कुरा बाहिर आयो भने समाजको अगाडि बेइज्जत हुन्छ’ भनेर उनीहरूले बल्ल बल्ल गरी जुटाएको साहसलाई कुल्चिदिन्छन् । कति घटनामा परिवारलाई थाहा हुँदा पनि अपराधले निरन्तरता पाएको छ ।

हाम्रो समाज बिग्रिसकेको छ । हिंसा हुन र अपराध हुनका लागि बलात्कार नै हुनपर्छ भन्ने आम मानिसमा असामान्य सोच देखा पर्न थालेको छ । ‘अपराधी त्यस्तै हुन्छन्’, ‘समय बित्दै जाँदा ठिक हुन्छ’, एक चोटिलाई भयो, माफ गर्देऊ’ भन्ने सुन्न मिल्छ तर घटना दोहोरिँदै, तेहेरिँदै जाँदा ‘पहिला किन भनेनौँ ? मन मिलेन अनि अहिले भनेको ! ’ जस्ता तुच्छ कुराहरूको प्रहार हुन्छ ।

तर ‘तिम्रो यो लडाइमा म साथ छु’ भन्ने कुरा एकदम कम सुन्न पाइन्छ । प्रायः पुरुषद्वारा हुने हिंसामा महिला स्वयंलाई नै आफै सचेत हुनुपर्छ, आफै बच्ने उपाय गर्नुपर्छ भन्ने सुनिन्छ तर छोराले गरेको अपराधको लागि उसलाई सजाय दिनुपर्छ भनेको उसको परिवारबाट एकदम कम सुनिन्छ । छोरी मान्छेले आफ्नो वस्त्र, खुवाइ मा ध्यान दिनुपर्छ भन्ने सुनिन्छ तर किन हाम्रो परिवार, समाज छोरालाई यी कुरा सिकाउन त्यति अग्रसर हुनु ? पीडितहरूको मृत्यु हुँदाको अवस्थाले मात्र चर्चा पाउनुभन्दा उनीहरूको पीडालाई सहज रुपमा निर्मूल गर्ने उपायहरू अपनाउनुपर्छ । 

भगवान् सरह मानिने गुरुले बलात्कार गर्दा सो पेसाको मर्यादा घट्न थालेको छ । ध्यान दिने हो भने, हामी वा हाम्रा साथीहरू विद्यालयमै गुरुबाट अस्वाभाविक तरिकाले नजिक हुन खोज्ने, छुने जस्ता दुर्व्यवहारका सिकार भएका छौँ । यही समाजमा, कुनै महिलाको सम्बन्ध परपुरुषसँग छ भन्ने अड्कल गरेर उसको चरित्र हत्या गरिन्छ । ऊ माथि अमानवीय कार्य गरिन्छ ।

तर पुरुषले वास्तवमै विहेत्तर सम्बन्धमा रहँदा पनि आफ्नो, छोराछोरी, परिवारको इज्जतको लागि श्रीमतीले सबै कुरा लुकाउनु पर्ने, सोही व्यक्तिसँग बाँकी जीवन गुजार्नु पर्ने बाध्यता छ । मान्छेलाई कुनै व्यक्तिको इज्जत, स्वास्थ्य भन्दा पनि समाजको इज्जत ठुलो लाग्दछ । खुट्टा ढोगेर माफी माग्दै मा पुनः अपराध हुँदैन वा भनौँ त्यो अपराधले गर्दा पीडितले सहनु परि रहेको भोगाइ कम हुन्छ या हुन सक्छ भनेर कुन विज्ञानले भनेको छ, जान्न छ मलाई ! बलिको लागि साना नानीहरू आफ्नो फन्दामा पार्छन् । पैसा भएकाले पैसाको प्रलोभनमा पार्न कोसिस गर्दछन् तर कहिल्यै गल्ती महसुस गर्दैनन् । पञ्चायतमा कुरा गराएर मिलाउन खोजिन्छ, मानेनन् भने समाजबाट निकाला गर्ने धम्की दिइन्छ । बलात्कारका पीडितलाई बलात्कारीकै ‘जिम्मा’ लगाइने दिने जस्तो असंवेदनशील काम गरिन्छ ।   

आफ्नो सन्तानको खुसी र स्वस्थ जीवन भन्दा पनि मानिसलाई समाजबाट पाइने खोक्रो इज्जत र सम्मान प्यारो लाग्दछ । सन्तान खुसी छ र छैन, अभिभावकको सहयोग चाहिएको छ कि, कस्तो जिन्दगी बिताउन चाहन्छन् भन्ने कुरा मतलब छैन तर वैवाहिक सम्बन्धलाई यति हावा दिनुको कारण के ? के बिहे जादुको छडी हो, जुन गरे पछि पीडितले सहेको पीडा छुमन्तर हुने  ! 

हाम्रोमा जे कुरा या काम गर्न थाल्दा आफूलाई कस्तो लाग्छ वा त्यो काममा आफूले कत्तिको मिहिनेत गर्न सकिन्छ भनेर सोच्नुपर्छ भन्ने सिकाइ नै छैन भन्दा फरक पर्दैन । हामीलाई फरक पार्ने भनेको, हाम्रो ‘समाज’ र ‘यसका मापदण्ड’। त्यही समाज जसले पीडितलाई भन्दा पीडकलाई साथ दिन्छ । कुरा बाहिर निस्कियो भने, कसले बिहे गर्छ भन्ने चिन्ता गर्छन् अभिभावक ।

महिला माथि घरायसी हिंसा हुँदा उसका माइती पक्षलाई जानकारी हुँदा पनि उनीहरू आफ्ना छोरी, चेलीबेटीलाई सहनुपर्छ भन्ने अर्ति दिन्छन् । छोरीलाई कानुनी प्रक्रिया अगाडि बढाउन केही परिवारले मात्र हिम्मत दिन्छन् । जब पीडितको सहने शक्ति सकिन्छ, उसको जीवन जिउने आधार पनि सकिन्छ । त्यसपछि घर परिवारले हिंसाको विरुद्ध कुरा गर्छन् ।

त्यही कुरा केही समय अगाडि गरेको भए, पक्कै ज्यान जोगिन्थे , तर समय बितिसकेको हुन्छ । आफ्नो सन्तानको खुसी र स्वस्थ जीवन भन्दा पनि मानिसलाई समाजबाट पाइने खोक्रो इज्जत र सम्मान प्यारो लाग्दछ । सन्तान खुसी छ र छैन, अभिभावकको सहयोग चाहिएको छ कि, कस्तो जिन्दगी बिताउन चाहन्छन् भन्ने कुरा मतलब छैन तर वैवाहिक सम्बन्धलाई यति हावा दिनुको कारण के ? के बिहे जादुको छडी हो, जुन गरे पछि पीडितले सहेको पीडा छुमन्तर हुने  ! 

‘बलात्कार भइरहन्छ’, ‘बलात्कृत भनिएको ९० प्रतिशत महिलाले 'ईन्जोय' गर्छन्, दिनमा ७ जति मात्रै बलात्कार हुन्छ, विकसित मुलुकमा यसको दर धेरै छ’ भन्ने जस्ता अ संवेदनशील अभिव्यक्ति दिएका जिम्मेवार व्यक्तिबाट के आशा गर्न सक्छौँ ? केही एकाधले बलात्कारको झुटो मुद्दा लगाएको कुरालाई नजिर बनाउन मिल्दैन भन्ने कुरा सबैलाई ज्ञान हुन जरुरी छ र सो घृणित कार्यको लागि कानुनी रूपले सजाय दिनुपर्दछ । डिप्रेसन, बलात्कारलाई मजाकको विषय बनाउनु अत्यन्त अमानवीय कुरा हो । 

तर यति भनिरहँदा, सबै पुरुष गलत, अपराधी हुन्छन्, केटाहरू भनेका त्यस्तै हुन् भन्न मिल्दैन । असल सोच भएका र सही व्यवहार गर्ने पुरुषलाई प्रोत्साहन गर्नुपर्दछ । बलात्कार, यौन हिंसा महिलालाई मात्र हुन्छ भन्न खोजिएको कदापि होइन । महिलामाथि हुने दुर्व्यवहार विरुद्ध लड्न तम्तयार हुन खोजिरहेको हाम्रो समाजले पीडितको लैगिंक तथा यौनिक पहिचानभन्दा पनि एक ‘मानिस’ माथि भएको अमानवीय व्यवहार भनेर लड्नु पर्दछ । 

जुन सुकै, जस्तो किसिमको अपराध, हिंसा १ प्रतिशत भए तापनि त्यसलाई सामान्य रुपमा लिनु हुँदैन । यो कुन समय, नियन्त्रण बाहिर जान्छ भनेर अड्कल गर्न सकिँदैन । महिला माथि हिंसा हुँदा सडक तताउनेहरू पुरुष पीडित हुँदा कतै देखिँदैनन् । आफ्नो मतलबको वकालत गरेर न व्यक्ति न त समाज नै कहिल्यै उँभो लाग्दछ !  सञ्चार माध्यमको तरिका त्यस्तै देखिन्छ । कुमारीत्वको कुरा ऋिषी धमलाले उठाउँदा धमलालाई गाली गर्नेहरू निकिसा श्रेष्ठलाई सोही प्रश्न सोध्दा मजाकका रुपमा लिइरहेका छन् ।

रमाइलो कुरा के छ भन्दा, हामीले सबै नराम्रो कार्यको जस समाजलाई दिन्छौँ तर आफू त्यही बाटोको अगुवा भएको पत्तो पाएका छैनौँ । अहिले यी कुरालाई रमाइलो, मजाक बनाउनेहरू त्यही हुन् जो भोलिका दिनमा मानसिक स्वास्थ्यलाई महत्त्व दिनुपर्दछ भनेर आफ्नो हरेक सामाजिक सञ्जाल रङ्गाउने छन् ।

वर्तमान अवस्थामा, हामी नौ दिन दुर्गादेवीको नौ रूपलाई पुजिने दसैँ मनाई सक्यौँ, साना कन्याहरूलाई पनि पूजा गर्‍यौँ । अब केही समयमै दाजुभाइ, दिदीबहिनी बीचको सद्भावलाई सम्मान गर्ने तिहार आउँदै छ । तर, त्यो सिर्फ चाडको लागि मात्र हो जस्तो देखिएको छ । हरेक दिन बलात्कार, यौन दुर्व्यवहारका घटनाका बारेमा सुन्दा, पढ्दा यो त महामारी हैछ है भन्ने भान पर्न थाली सक्यो ! 

हाम्रो समाजलाई हेर्दा दिक्दार लाग्दछ । मानवता त इतिहासकै पानामा छ जस्तो लाग्दछ । कतै दुर्घटना भएको छ भने पक्कै ख्याल गर्नु भएको होला । धेरैले आफ्नो हात अगाडि सार्छन् , सहयोगको लागि होइन ! आफ्नो गोजीमा रहेको मोबाइलमा सो दृश्य कैद गर्न । ती व्यक्तिहरू नै हुन् जो साइरन बजाइरहेको एम्बुलेन्सलाई बाटो दिँदैनन् तर सामाजिक सञ्जाल र चिया पसलमा  ‘समयमै अस्पतालमा जान नसकेर बिरामीको एम्बुलेन्समै मृत्यु’ समाचारलाई आधार बनाएर अरूको आङको जुम्रा देख्छन् !