प्रसंग रैथाने जडीबुटी उपयोगको: मनोवैज्ञानिक थेरापी र उपचारको लौकिक ज्ञानको अवसान !

प्रसंग रैथाने जडीबुटी उपयोगको: मनोवैज्ञानिक थेरापी र उपचारको लौकिक ज्ञानको अवसान !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  जेठ ११, २०७९

मेरा गाउँका मान्छे टाउको दुख्यो या पिनासको शंका लाग्यो भने हाम्रा हजुरबासित आएर भन्ने गर्थे– टाउको दुखेर मर्न लागेँ फुकिदिनु पर्‍यो बाजे ! त्यसपछि हजुरबा औँलामा अलिकति खरानी लिनु हुन्थ्यो अनि फुकि माग्नेको दुबै कन्चट एउटै हातले समातेर मन्त्र फुक्न थाल्नुहुन्थ्यो :‍-
अघि एक पाटन थिया देशबारी
तहाँ बग्दथिन् बाग्मती बापुतारी 
कुनै कालमा कालले फूल पायो 
खुसी साथ सन्तान हजारौँ बढायो
चट् चट् चट् 

भनेर फुकेपछि दुखेको दर्द शान्त ! तेहर्‍याइएर फुकेपछि जस्तो सुकै पिनास पनि दुर दुहाई ! अहिले  हजुरबाको नाडीमा तागत घटे होला तर मन्त्रमा शक्ति घटेको छैन । चिया खर्च चल्दै छ । यसरी मौखिक रुपमा पुस्तान्तरण हुँदै आएको लौकिक ज्ञान अव अवसानको चरणमा पुगेको छ । त्यस्तो कुरा गर्‍यो भने रुढीवादी र अन्ध विश्वासी हुने डर त छँदै छ । 

हजुरबासित अर्काे ज्ञान पनि थियो पेट दुखेमा उल्टी बनाएर खुवाउने । कचौरामा दही बेसार के के हो हाल्यो अनि हँसियाले चलायो ओठ मात्र काम्ने गरी मन्त्र पढ्यो बास ! उल्टा खाएपछि बिरामीको पेट सुल्टा नहुने कुरै भएन  !  विश्वास कै कुरा न हो ।

यी दुवै प्रसंग थेरापी र दबाईका उदाहरण मात्र  हुन् । हालसालै छोरीको आँखाबाट आँसु आइरह्यो भनेर अस्पताल कुदाए । डाक्टरले छोरीको आँखामा टर्च बालेर हेरेपछि सल्लाह दिए नाकतिर सिँगान निकाल्नु पर्ने नसा अवरोध भएकाले आँखामा समस्या देखिएको हो । आँखा र नाकको बिचमा बिस्तारै मालिस गरिदिनुस् । हजुरबाले पिनासको मालिस मन्त्र पढेर गर्नुभयो । डाक्टरले मालिस गर्नु त भने तर मन्त्र चाहिँ आफैँले राखे । डाक्टरले भनेपछि मन्त्र नभने पनि उपचार हुन्छ भन्ने अवस्थामा हामी पुगेका छौ । ग्यास्टिकको शंका लाग्ने बित्तिकै पेट थिच्दै ओखती पसलमा पुग्नुपर्छ स्वाद अनुसारका ओखती पाइन्छन् । उल्टी त 'कौन पुछे खेसरीका दाल ?'

प्राथमिक उपचारका लागि घरघरमा वैद्य थिए हाम्रा । घाँस काट्दा हात काटे तिते पातीको बेटाडिन, बनमाराको डिटोल, फरिया वा मजेत्रोको ह्यान्डी प्लास ।  

स्थानीय निर्वाचनको मेलो भ्याएर काठमाडौँ छिर्ने बित्तिकै हातमा एउटा किताब पर्‍यो 'नेपालका रैथाने जडिबुटी' । यो कसैले उपहार दिएको नभएर पसलबाट आफैँले किनेर ल्याएको किताब थियो ।  शीर्षकले संकेत गरेको विषयवस्तु आकर्षक लाग्यो । ल्याएर लगानी उठाउन तिर लागेँ । किताब पढ्दै जाँदा माथिका विषय र सन्दर्भ प्रासङ्गिक बन्दै आएका हुन् । 

'नेपालका रैथाने जडिबुटी' नामक किताबका लेखक नारायण घिमिरे हुन् उनैले लेखेको नेपालमा गाँजा भन्ने किताब पनि भर्खर बजारमा आएको छ । लेखकका बारेमा सामान्य जानकारी किताबबाट साभार गर्न चाहान्छु–१५ वर्षयता क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत नारायण घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्ट रहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्न सक्ने क्षमताको पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकासका शोधकर्ता हुन् ।

घिमिरे गाँजा, हर्बल र हिलिङ फुडको हाताहाती विकासका लागि इनोभेसनका सन्दर्भमा नियमित लेखहरु लेखिरहन्छन् । हाल उनी फ्लेभरक्यान इन्टरनेसनल इन्ट टोरन्टोमा खाद्य वैज्ञानिक र फ्लेबरिस्ट तथा टेक्निकल म्यानेजरका रुपमा कार्यरत छन् । उनको औपचारिक अध्ययन खाद्य प्रविधि तर्फको भए तापनि अवसर र चुनौतीले तानेर आयुर्वेदको जिज्ञासु बनाएको देखिन्छ । 

घिमिरे कुनै आयुर्वेद डाक्टर होइनन् तर आयुर्वेदिक औषधिमा प्रयोग हुने वनस्पतिको तत्त्व ज्ञानमा उनले विशेषज्ञता हासिल गरेका छन् । खाद्य सामग्रीमा आयुर्वेदिक तत्त्वको संयोजन कसरी गर्नुपर्छ भन्ने कुरामा उनले राम्रै अनुभव हासिल गरेका छन् । काम गर्दै जाँदा नेपालका पाखा पखेरामा उम्रेका जीवनदायिनी जडीबुटी कौडीको भाउमा बिकेको वा त्यसै खेर गएको अवस्थाले पीडित भएर लेखकको ध्यान नेपालका रैथाने जडीबुटी तिर गएको देखिन्छ । 

धर्म साधनलाई पूजापाठ र तीर्थ व्रतको अर्थमा मात्र लिइयो भने त्यो अलि अपुरो हुन्छ । धर्म भनेको क्रिया व्यापार हो । कुनै पनि क्रिया सम्पन्न गर्नका लागि साधन आवश्यक हुन्छ र त्यो साधन भनेको मानिसका हकमा शरीर हो त्यसैले शरीरलाई धर्म साधनका रुपमा सम्मान गरिनु विवेकपूर्ण चिन्तन हो । शरीर नै आत्माको निवास भएकाले आध्यात्मिक तथा भौतिक दुवै क्षेत्रको शरीरको उत्तिकै महत्त्व हुने नै भयो ।

बेल, धुर्सुल, काउसो, धतुरो, टिमुर, केरा, असुरो, दतिवन, भलायो, नीम, रुद्राक्ष, खयर, खिर्रो, गोकुल धुप जस्ता हाम्रो समाजले सदियौंदेखि जीवनयापनको साक्षी बनाउँदै आएका वनस्पतिको उपयोगिता र महत्त्वलाई वैज्ञानिक कारणसहित प्रस्ट पार्न काम यस किताबमा भएको छ । यसमा जडीबुटीको परिचय र प्रयोगलाई आकर्षक ढंगमा प्रस्तुत गरिएको त छ नै तिनलाई बदलिँदो परिवेशमा कसरी सहज प्रयोग गर्न सकिन्छ भन्ने पनि देखाउन खोजिएको छ । 

पूर्वीय चिन्तनमा मन्त्र विनाको कुनै अक्षर छैन, ओखती नलाग्ने कुनै वनस्पति छैन तर तिनलाई जानेर उपयोग गर्ने मानिसको मात्र अभाव छ भन्ने भनाइ खुब लोकप्रिय छ । त्यस्तै यो किताब पढ्दा पनि हरेक वनस्पतिमा औषधि देखिन्छ नै नोट पनि देखिन्छ ।

नेपालको जडिबुटीबाट कस्तो आम्दानी हुनसक्छ ? कसरी आर्थिक क्रान्ति हुनसक्छ ? जस्ता प्रश्नमा चित्तबुझ्दो उत्तर पुस्तकमा छ भने शाकाहारी मासु, छाला, अण्डा, रगत कसरी बनाइन्छ र बेचिन्छ ? त्यस्तै हावाबाट खानेकुरा वा प्रोटिन पाउडर बनाउने जस्ता विस्मयकारी कुरा पनि यस पुस्तकमा समेटिएका छन् । नयाँ विषयका कारण पुस्तक रोमाञ्चक हुनुका साथै ज्ञानवर्धक पनि छ । 

मानिसको पहिलो आवश्यकता भनेको निरोगी हुनु हो । आवश्यकताका साथै यो मानिसको इच्छा पनि हो । स्वस्थ शरीर स्वस्थ विचारको कारण हो । स्वस्थ र सकारात्मक विचारमा नै रचनात्मक र सिर्जनात्मक शक्ति लुकेको हुन्छ । शरीरमाद्यं खलु धर्मसाधनम् भन्ने भनाइ पनि यसै कारण सार्थक बन्न पुग्दछ ।

धर्म साधनलाई पूजापाठ र तीर्थ व्रतको अर्थमा मात्र लिइयो भने त्यो अलि अपुरो हुन्छ । धर्म भनेको क्रिया व्यापार हो । कुनै पनि क्रिया सम्पन्न गर्नका लागि साधन आवश्यक हुन्छ र त्यो साधन भनेको मानिसका हकमा शरीर हो त्यसैले शरीरलाई धर्म साधनका रुपमा सम्मान गरिनु विवेकपूर्ण चिन्तन हो । शरीर नै आत्माको निवास भएकाले आध्यात्मिक तथा भौतिक दुवै क्षेत्रको शरीरको उत्तिकै महत्त्व हुने नै भयो । त्यस्तो शरीरलाई स्वस्थ तथा निरोगी बनाइ राख्ने तिर मानिसको निरन्तर चिन्तन हुनु पनि स्वाभाविक छ । 

मानिसबाहेक अरु प्राणीले आफ्नो स्वास्थ्यका लागि अतिरिक्त प्रयत्न गर्नसक्ने अवस्था छैन उनीहरुको स्वस्थ्योपचारका लागि प्रकृति नै ठुलो चिकित्सक हो । तर मानिस भने प्रकृतिमा मात्र भर पर्ने जात होइन । मानिसले आफ्नो सुरक्षा र  सुविधाका लागि अनेकौँ यत्न गरेको छ । हजारौँ वर्ष संघर्ष गरेको छ । चिताए बमोजिमको सफलता हात पारेको छ ।

मानिसले सबैभन्दा बढी संघर्ष कि त प्रकृतिसित गरेको छ कि त आफ्नै शरीरमा लाग्ने रोगसित गरेको छ । यिनै दुई को प्रताडनाबाट बच्नका लागि जोहो गर्दा गर्दै हामी आजको युगमा आइपुगेका छौँ । प्राकृतिक चिकित्सादेखि आधुनिक चिकित्सासम्म मानव खोज र अनुसन्धानले यात्रा गरेको छ र त्यो यात्रा अविच्छिन्न पनि छ । 

केमिकल, मेसिनको जमाना सुरु हुनुपूर्व मानिसले थाहा पाएको उपचार पद्धति भनेको जडीबुटी, व्यायाम वा थेरापी, झारफुक आदि नै हुन् । यसमा अन्धविश्वासका पर्दा लागे पनि पर्दा भित्रको विज्ञानलाई देख्ने नजरको भने नितान्त आवश्यकता छ ।