३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १२, २०७९

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । 

निर्वाचन आयोगका अनुसार अब १८७ जना जनप्रतिनिधिको परिणाम आउन बाँकी छ । 

आयोगले ३० वैशाखमा एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिका लागि निर्वाचन गरिएको थियो । 

निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

निर्वाचनमा हालसम्म अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार बढी विजयी बनेका छन् । 

आयोगका अनुसार कांग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फबाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन् ।