पल शाहकै कानुन व्यवसायीको आग्रहमा मुद्दाको सुनुवाइ फेरि सर्‍यो

पल शाहकै कानुन व्यवसायीको आग्रहमा मुद्दाको सुनुवाइ फेरि सर्‍यो

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ १२, २०७९

नाबालिका बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको हो ।

उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । शाहका कानुन व्यवसायीको निवेदनपछि सुनुवाइ स्थगित गरिएको हो । यो इजलासको पहिलो नम्बरमै मुद्दाको पेसी थियो ।

पलसँगै उनका म्यानेजर कृष्ण जोशीको समेत सुनुवाइ स्थगित भएको हो । यतिबेला उनी पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध ३ वटा निवेदन उच्च अदालत पोखरामा परेका छन् ।

दुवै जिल्ला अदालतले पल शाहलाई थुनामा पठाउने आदेश दिएका थिए । तनहुँको आदेशविरुद्ध १८ चैत २०७८ र नवलपुरको आदेशविरुद्ध १३ वैशाखमा पलले उच्च अदालतमा निवेदन दिएका थिए । उनले थुनामुक्त भएर मुद्दा लड्न पाऊँ भनी निवेदन दिएका थिए । 

त्यस्तै, सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा २५ वैशाखमा निवेदन दिएको थियो । तनहुँ अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसलाई बदर गरी जोशीलाई पनि थुनामा राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो । 

२४ चैत २०७८ मा दुवै पक्षका कारण स्थगित भएको थियो । त्यसपछि ८ वैशाखमा पेसी तोकिएको थियो । तर, त्यसबेला शाहका कानुन व्यवसायी नवलपुरमा बकपत्रका लागि पुगेका थिए । भोलिपल्टै पोखरा पुग्न नसक्ने भन्दै उनीहरूले नै स्थगित गराएका थिए । 

त्यसपछि १५ वैशाखमा मुद्दाको पेसी तोकिएको थियो । त्यतिबेला उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको इजलासले शाहका तर्फबाट अर्को पनि निवेदन परेको भन्दै त्यसलाई पनि साथै राख्न आदेश दिएको थियो । सुरुमा तनहुँको आदेशविरुद्ध निवेदन दिएका शाहले पछि नवलपुरको आदेशविरुद्ध पनि उच्चमा निवेदन दिएका थिए । यी दुवै मुद्दा साथै राख्न आदेश दिएको थियो । 

दुवै मुद्दाका लागि २२ वैशाखमा पेसी तोकिएको थियो । तर, सरकारी वकिल कार्यालयले कृष्ण जोशीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै निवेदन दिएको थियो । त्यस दिन उक्त मुद्दा पनि साथै राख्न आदेश दिएको थियो ।

त्यसपछि अर्को सुनुवाइका लागि ५ जेठमा पेसी तोकिएको थियो । त्यो दिन पनि पलकै कानुन व्यवसायीको निवेदनपछि स्थगित गरिएको थियो भने आजको सुनुवाइ पनि पलकै कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित भएको हो ।