'सत्ता गठबन्धन लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्यत'

'सत्ता गठबन्धन लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्यत'

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७९

बाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन शक्तिको दुरूपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्यत भएको आरोप लगाएकी छन् । शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेशनमा शुभकामना व्यक्त गर्दै शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारूढ गठबन्धन शक्तिशाली बन्न खोजेको आरोप लगाएकी हुन् ।

उनले बाग्मतीमा प्रदेश सरकार जनताले महसुस गर्न नपाएको बताएकी हुन् । ‘केन्द्रीय राजधानीमा दैनिक रूपमा विभिन्न घटनाहरू भइरहेका छन् । यस विषयमा प्रदेश सरकार मौन देखिन्छ’, उनले भनिन्, ‘काठमाडौं पनि प्रदेशको एउटा जिल्ला हो । त्यहाँको समस्या समाधानमा पनि हाम्रो ध्यान जान जरुरी छ ।’ स्थानीय तह निर्वाचन सकिएसँगै गठबन्धन प्रदेश र संघको चुनावको मिति तोक्न हतारिएको उनले बताइन् ।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले देखाएको चरित्रका कारण हाम्रो निर्वाचन प्रणाली, संघीयता र राजनीतिक दलप्रति नै प्रश्न उठेका छन्', उनले भनिन्, ‘एमालेलाई कमजोर बनाएर देश बलियो हुने होइन ।' लोकतन्त्र, गणतन्त्र र संघीयता सबैको साझा विषय भएकाले यसलाई जोगाउन उनले आग्रह पनि गरिन् । उनले प्रदेशसभा समितिलाई प्रभावकारी बनाउन जरुरी रहेको समेत बताइन् ।