सिद्धान्तको लेपन:जीवन सञ्चालन विचारले कि व्यवहारले?, समयको प्रवाहले ? या नियतिले ?

फर्कलान् र ती दिनहरु

सिद्धान्तको लेपन:जीवन सञ्चालन विचारले कि व्यवहारले?, समयको प्रवाहले ? या नियतिले ?
जीवनलाई केले सञ्चालन

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  जेठ १४, २०७९

सिद्धान्त भनेको के हो ? मान्छे किन कुनै सिद्धान्तप्रति मोहित हुन्छ र कसरी त्यही मोहित भएको सिद्धान्तप्रति मोहभङ्ग हुन्छ ? वास्तवमा जीवनलाई केले सञ्चालन गर्छ ? विचारले कि व्यवहारले ? समयको प्रवाहले ? या नियतिले ?

यी कुराहरुले सधैँ गिजोलिरहन्छन् मलाई । सायद अरुलाई पनि यी प्रश्नहरु आफैँमा उठ्दा हुन् या छलफलका क्रममा नितान्त नजिकका साथीहरुसँग गरिँदो हो । सामान्यतया हामी यस्ता कुलबुल कुलबुल हुने मनमा उठ्ने धारणाहरूको जबाफ खासमा कतै पाउँदैनौँ किनभने यस्ता प्रश्नहरूलाई मानिसहरुले दर्शनको नाम दिएका छन् र दार्शनिकहरूले मात्र यस्ता  प्रश्नहरुको उत्तर फेला पार्छन् र दिन्छन् भन्ने आम धारणा छ । त्यसो त प्रत्येक व्यक्ति आफैँमा अपूर्ण पनि हो र पूर्ण एकाइ पनि हो । ऊ अर्कोसँग उस्तै हुँदैन तर उस्तै हुन्छ भौतिक रुपमा, फरक हुन्छ मानसिक क्षमतामा र हेराइमा ।  

सिद्धान्त के हो त ? जीवन कुन दर्शनको आधारमा सञ्चालित हुन्छ ? या जीवन आफैँ एउटा सिद्धान्त हो ? जसको जीवन नै एउटा सिद्धान्तको आधार हो ? कसरी कुनै पनि सिद्धान्तको उत्पत्ति हुन्छ ? सिद्धान्त कसरी बन्छ र कसले तयार गर्छ ? हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्थे-उद्यानमा बस गई सब तत्व खुल्छन् । अर्थात् प्रकृतिको लीला हेर, त्यहाँ आउने स्वचालित परिवर्तन नै जीवनको उदाहरण हो । अर्थात् प्रकृति नै जीवनको आधार हो र मानिसको प्रकृति जस्तो विकास हुन सक्छ, त्यस्तै गरी जीवनको नयाँ पाटो तयार हुन्छ ।

एउटा जमाना थियो,  भनिन्थ्यो वेद नै जीवनको एउटा गोरेटो दिने आधार हो जुन कहिले तयार भयो भन्ने पनि थाहा छैन र जीवनको बाटो कोरिएको आधारका रुपमा मानिँदै आएको थियो र छ पनि । त्यही वेदका आधारमा वेदान्तको रुपमा उपनिषद्हरू तयार गरिए र तिनीहरूकै आधारमा पुराणहरू तयार गरिए । महाभारतको भीष्म पर्वमा भनिएको श्रीकृष्णको अमरवाणीलाई आज हामी श्रीमद्भागवत गीताको रुपमा मान्छौँ  जसलाई स्वयं गीताका गीत लेख्ने श्री कृष्णद्वैपायन व्यासले भने-वेद र उपनिषद्को सारको रुपमा मैले गीता तयार गरेको हुँ जबकि गीताको आधार भनेको युद्ध गर्न तयार भएका अर्जुनले जब आफ्ना कुटुम्ब जन युद्धमा देखे र आफूले तीनकै हत्या गरेर राज्य जित्नु छ र भावी दिनमा राज्य फिर्ता लिएर फेरि तिनै जनतालाई राज्य गर्नु छ , त्यसैले म युद्ध गर्दिन भन्ने ढिपीलाई साम्य पार्न दिइएको उपदेश थियो । त्यसलाई आज पनि विश्वभर सबैभन्दा बढी जीवनको गीतको रुपमा लिइन्छ र जीवनको सिद्धान्तको रुपमा ग्रहण गरिएको छ । 

कुनै पनि सिद्धान्तले गर्ने भनेको जीवनलाई सहज र सरल बनाउने हो । त्यस्ता धारणालाई मान्ने भनेको त्यो सिद्धान्तप्रति आस्था राख्ने भन्ने हो । हामीसँग आज दुई प्रकारले सिद्धान्तको प्रयोग भएको पाइन्छ - धर्मको नाममा सिद्धान्त र राजनीतिक रुपमा सिद्धान्त । यी दुई कहिले एउटै जस्तो गरी देखिन्छन् त कहिले नितान्त फरक तरिकाले अर्थ्याइन्छन्।

तर पनि धर्मले आज पनि कतिपय देशहरुमा राज्य सञ्चालनमा मुख्य सिद्धान्तको काम गरेका छन् भने कतिपय देशहरुमा राजनीतिक रुपमा सिद्धान्तको नयाँ रुप तयार गरेर राज्य सञ्चालन गरेको पाइन्छ । आम जनता या त धार्मिक रुपमा विभाजित हुनु पर्‍यो, या त राजनीतिकरुपमा विभाजित हुनु पर्‍यो । तर प्रत्येक सिद्धान्तका लागि सिद्धान्त तयार गरिएको हुन्छ र त्यसको प्रयोगले मात्र सिद्धान्त प्रतिको आस्था प्रमाणित गरिएको हुन्छ ।

जस्तो कि प्रत्येक धर्मका आफ्ना आस्थाहरू छन् , कति मूर्त छन् , कति  अमूर्त छन् । कति यही लोकका लागि छन् र कति परलोकका लागि छन् । कुनै धर्ममा योभन्दा अर्को लोक नहुन सक्छ, कुनै धर्ममा परलोक यो लोकभन्दा पनि महत्वपूर्ण मानिएको हुन्छ । कुनै धर्ममा पूर्व जन्म र पुनर्जन्मको विचारलाई त्यो धर्मको मुख्य सिद्धान्त मानिएको हुन्छ जुन न कसैले देख्यो, न देख्नेछ तर पनि त्यो नै मानक र आधारभूत जीवन सिद्धान्त मानिने गरेको छ ।

सनातन धर्मको एउटा सिद्धान्त रहेछ, मर्ने बेलामा जुन विचारले मृतकलाई गाँजेको हुन्छ, अर्को जन्ममा त्यही हुन्छ । त्यसैले पूर्वीय सिद्धान्त, खासगरी हिन्दु धर्ममा नाम राख्दा पनि छोरा छोरीको नाम भगवानका नामहरु मध्येबाट राख्ने चलन छ । जस्तो कि एउटा नास्तिक  अधर्मी पनि मर्ने बेलामा आफ्नो छोरा नजिक नजिक आउन नारायणलाई बोलाउँदा भगवानको नाम नारायण नारायण भनेकाले बैकुण्ठ गएको भन्ने कथा सुनाउने गरिन्छ । 

सिद्धान्त स्वैच्छिक हुन्छ तर समाजले देखाएको एउटा बाटो हुन्छ, त्योचाहिँ मान्नै पर्ने हुन्छ । राज्यले बनाएको कानुन पनि एउटा समाज सञ्चालनको सिद्धान्तमा आधारित हुन्छ । आजको स्वतन्त्रताको युगमा सिद्धान्तको आधार भनेको स्वतन्त्रता र आत्मसम्मानका लागि हुन्छ । स्वाभिमानी नागरिक बनाउनका लागि उसलाई धेरै स्वतन्त्रताको सम्मान दिइएको हुन्छ जसले गर्दा उसको जीवनमा ऊ आफैँ आफ्ना बारेमा बाटो तय गर्न सक्षम होस् । तर  सिद्धान्त जति स्वैच्छिक हुन्छ, त्यति नै मानेको अनुभूति आफूले मात्र गरेर हुँदैन, अरुले पनि त्यसलाई अवलोकनमा देखेको हुनुपर्छ जस्तो कि कसैको भौतिक उपस्थिति भएपछि मात्र उपस्थिति भएको मानिन्छ । 

राजनीतिमा तीन प्रकारका सिद्धान्तको अहिले चर्चा हुने गर्छन- एउटा पूर्ण नागरिक स्वतन्त्रतासहितको आधारभूत आवश्यकता विना पक्षपात वितरण गरिने राजनीतिक व्यवस्था जसलाई प्रजातान्त्रिक प्रणाली भनिन्छ जहाँ राज्यले आफ्ना निर्णयहरूको लागि चुनौतीको स्वीकारोक्तिका लागि स्वतन्त्र अदालतको व्यवस्था गरेको हुन्छ, अर्को साम्यवादी चलन जहाँ नागरिकहरुका मौलिक हकहरूलाई सीमित व्याख्यामा बाँधेर राज्यको आदेशलाई कुनै चुनौती दिन पाइँदैन र राज्यको इच्छा या राज्य सञ्चालक एकाङ्गी विचार नै प्रत्येक नागरिकको विचारको रुपमा मान्नै पर्ने अनि निश्चित वर्गका लागि भने सबै संविधानको व्यवस्था गरिएको तर विरोध नसहने असहिष्णु राज्य हुन्छ ।

इतिहास नागरिकहरुका लागि स्वतन्त्रताको सिद्धान्त बनाउने, नागरिकहरुको स्वतन्त्रता जोगाउने, नागरिकहरुको सुख र दुःखमा साथ रहनेहरूको मात्र इतिहासमा नाम सकारात्मक रुपले अमर रहन्छ, नत्र इतिहासमा कुपात्रका रुपमा ती पात्रहरु अंकित हुनेछन् जसले तत्कालका लागि समाजलाई गुमराह गराउने सफल हुन्छन् र असल सिद्धान्त निष्ठहरुलाई दुःख दिन्छन् ।

फेरि अर्को व्यवस्था देखिएको छ, यी दुवै गुणहरूको सम्मिलनमा नयाँ वर्णशंकर व्यवस्था जसलाई आजभोलि तेस्रो धारको रुपमा लिइन्छ जुन सिद्धान्तको रुपमा भन्दा पनि व्यवहारमा संसारभर देखिन्छ । अर्कोतिर निरंकुशताको डन्डा बर्साउनुका लागि सैनिकहरुको शासन हुन्छ तर त्यसले निकट भविष्यमा प्रजातन्त्रको प्रत्याभूति दिन छोड्दैन र आफ्नो विशिष्ट उद्देश्य पूरा नहुन्जेल सम्म न त निर्वाचन गराउँछ, न त नागरिक हक नै उपलब्ध गराउँछ । त्यस्ता शासकहरुले आफ्नो निहित स्वार्थ पूरा गराउनका लागि उग्र राष्ट्रवादको जामा पहिरेका हुन्छन् र तिनले प्रजातन्त्रलाई राष्ट्रवादको विपक्षमा उभ्याउने गर्छन् । 

वास्तवमा कुनै पनि स्वैच्छिक रुपमा मानिएको सिद्धान्तले  कुनै पनि व्यक्तिको वा समूहको पहिचान हुन्छ । कुनै पनि व्यक्ति जुनसुकै सिद्धान्त मान्न पनि स्वतन्त्र हुन्छ तर केही मानक हुन्छन् जसलाई हामी प्रचलित नैतिकताको कसी भन्छौँ, नैतिक सिद्धान्त भन्छौँ, त्यसले केही सीमाको निर्धारण गरेको हुन्छ । 

हुन त सिद्धान्तको चयन आफैँले आफ्ना लागि गर्ने हो तर चयन गरेको बाटो हिँड्ने कि नहिँड्ने भन्नेचाहिँ बाध्यकारी मानिन्छ सामाजिक परिवेशमा । या त भन्नुपर्‍यो, मलाई यो बाटो मन परेन, मैले परिवर्तन गरेँ किनभने अरुको बाटोमा हिँड्न कसैलाई कसैले बाध्य पार्न सक्दैन किनभने व्यक्ति स्वतन्त्र हुन्छ आफ्नो बाटो चयन गर्न । तर आफ्नो बाटो चयन गर्न स्वतन्त्र हुन्छ भन्दा समाजले असामाजिक र अनैतिक भनेको बाटो चाहिँ हिँड्न पाइँदैन जबसम्म त्यसलाई समाजले स्वीकार गरेको हुँदैन ।

दार्शनिक भनेको, सिद्धान्तको जनक भनेको पनि त्यही व्यक्ति हो  जसले नयाँ नयाँ सिद्धान्तको प्रतिपादन गर्छ र समाजलाई बाटो  देखाउन सक्छ । त्यस्ताका लागि समाजमा धेरै अवरोध आउँछ र अहिले पनि कतिपय सामाजिक अभियन्ताहरूलाई समाजमा नयाँ बाटोको गोरेटो देखाउन समस्या परेको हुन्छ तर निरन्तर लागिरहँदा ती बाटाहरु सिद्धान्तको रुप लिन सकेका पाइन्छन् । 

प्रजातन्त्र एउटा त्यस्तै सिद्धान्तको रुपमा विश्वव्यापीरुपमा परिचित छ । प्रजातन्त्रले यस कारणले किशोर अवस्थादेखि नै मानिसहरुलाई आकर्षण गर्छ कि प्रजातन्त्र प्राप्तिका लागि हाम्रै देशमा पनि कति युवाहरुले , प्रौढहरुले आफूलाई बलिदान दिए । प्रजातन्त्रले व्यक्तिमा आफू मानिस भएर बाँच्ने समाजका बारेमा समानताको ढाँचा देखाएको हुन्छ र कोही पनि कोही भन्दा ठुलो या सानो हुँदैन भन्ने  सन्देश प्रवाहित गरेको हुन्छ । तर प्रजातन्त्रमा विधिको शासन हुन्छ, विधिको उपायद्वारामात्र शासन गर्न पाइन्छ , विधिको शासनमा केही आवश्यक पूर्वाधारहरु पूरा गरेको हुनुपर्छ ।

जनताले जनतालाई शासन गर्ने प्रणाली हो प्रजातन्त्र सही अर्थमा । निर्वाचनमार्फत आएका जनताका प्रतिनिधिले मात्र जनतालाई शासन गर्न पाउँछन्, कर लगाउन पाउँछन् र त्यस्तो प्रतिनिधि बस्ने ठाउँमा बारम्बार जनादेश प्राप्त गरेर प्रतिनिधि आउनु पर्छ र आफूलाई जनताका भावनासँग साक्षात्कार भएको हुनुपर्छ र ती भावनाको प्रतिनिधित्व हुने गरी जनताको सेवा गर्नुपर्छ, जनताका लागि कानुन बनाउनु पर्छ र सेवाको लागि नयाँ नयाँ आयामहरू अपनाउनु पर्छ जसले गर्दा जनतालाई आफूले चुनेका व्यक्तिप्रति सम्मान रहोस्, जनताप्रति प्रतिनिधिको पनि सम्मान व्यक्त भएको होस् । 

कतिपय बहादुर व्यक्तिहरुले सिद्धान्तको सम्मानका लागि आफूलाई बलिदान दिएका छन् निरंकुश शासनका अघिल्तिर, जबकि ती स्वार्थी शासकहरुले सिद्धान्त विहीन समाजको सृजना गर्नका लागि आफूलाई भगवानको रुपमा अर्थ्याइएका  हुन्छन् । कतिपय निर्वाचित जनप्रतिनिधिहरुले पनि निर्वाचनका आधारमा एकपटक सत्तामा पुगेपछि जसरी पनि सत्तामा रहन सिद्धान्तको आडमा सिद्धान्त विहीनतालाई पनि सिद्धान्तको लेपन लगाएका हुन्छन् । 

सिद्धान्त विहीनता त निर्जीव राजनीतिको द्योतक हो । तत्कालका लागि, सत्तामा पुग्नका लागि र कसैको रिसले सिद्धान्त छोड्दा संसारका कतिपय सम्मानित तथा सक्रिय व्यक्तित्वहरु इतिहासमा कलङ्कित भएर हराएका छन् । सत्ताका लागि, तत्काल सिद्धान्त छोड्दा हुने फाइदाबाट आकर्षित रहेकाहरु इतिहासमा कता गए थाहा छैन  । तर आफूले प्रतिपादन गरेका, आफूले मानकका रुपमा जीवनको बाटो बनाएकाहरु, त्यही सिद्धान्तको रक्षाका लागि, आफ्ना पछि लागेका जनताका लागि जो जो लडिरहे, सत्ताको भन्दा सिद्धान्तको प्रतिपादन गरेर जनतालाई बाटो देखाउँदै रहे र इतिहासमा जीवित रहे ।

आज पनि भगवान बुद्ध शान्तिको खोजीका लागि विश्व इतिहासमा जीवित हुनुहुन्छ, बडा महाराजा पृथ्वीनारायण शाह नेपाल एकीकरण गरेकाले नेपाल भन्ने देशका नाममा जीवित हुनुहुन्छ, उनकै सन्तान राजा त्रिभुवन नेपालको इतिहासमा प्रजातन्त्रप्रति आस्था राख्ने र बरु सत्ताको बागडोर छोड्ने तर जनताका अधिकारका लागि आफ्नै भारदारहरूसँग विद्रोह  गर्ने राजाका रुपमा सिद्धान्त वादी मानिएका छन् ।

आधुनिक नेपालको इतिहासमा सबैभन्दा चर्चित र सिद्धान्त वादी नेताका रुपमा, प्रजातन्त्रलाई नेपाली माटोमा सिद्धान्तको रुपमा प्रतिपादन गर्ने बीपी कोइरालालाई सिद्धान्त निष्ठ राजनेताको रुपमा मानिएको हो । अर्थात् जसले जसले सिद्धान्तको लागि, स्वतन्त्रताको लागि, दासता विरुद्ध आफूलाई उभ्याउँछन्, तीमात्र सिद्धान्त निष्ठ मानिन्छन् ।

सिद्धान्तले आफूलाई मात्र दिग्दर्शन दिने होइन, पछि पछि लाग्नेहरूका लागि र अरु पनि त्यही बाटोमा आउने प्रेरणाका लागि पनि सिद्धान्त निष्ठता आवश्यक छ । तत्कालको सत्ता प्राप्ति अनि छिनमा सत्ताको साँचो अर्कोले लान लाग्यो भनेर फेरि उसैका पछि लाग्ने सिद्धान्त जसको होला, उसैका लागि होला, तर ऊ त या उसका पक्ष धरहरु इतिहासमा अटाउँदैनन् । 

इतिहास नागरिकहरुका लागि स्वतन्त्रताको सिद्धान्त बनाउने, नागरिकहरुको स्वतन्त्रता जोगाउने, नागरिकहरुको सुख र दुःखमा साथ रहनेहरूको मात्र इतिहासमा नाम सकारात्मक रुपले अमर रहन्छ, नत्र इतिहासमा कुपात्रका रुपमा ती पात्रहरु अंकित हुनेछन् जसले तत्कालका लागि समाजलाई गुमराह गराउने सफल हुन्छन् र असल सिद्धान्त निष्ठहरुलाई दुःख दिन्छन् । सिद्धान्त छोड्नका लागि बाध्य बनाउँछन् । क्रमशः