एन्फाको चुनावमा खेलाडीहरूको आधारभूत आवश्यकता भन्दा पनि लाखौँको यार्सागुम्बाको चर्चा

एन्फाको चुनावमा खेलाडीहरूको आधारभूत आवश्यकता भन्दा पनि लाखौँको यार्सागुम्बाको चर्चा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७९

काठमाडौं । २१ औं साधारण सभाको संघारमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) मा यतिबेला खेल र खेलाडीका विषय भन्दा यार्सागुम्बाको चर्चा चुलिएको छ । 

हालै मात्र स्पोर्ट क्षेत्रबाटै संचालित ‘चेन्ज एन्फा’ नामको फेसबुक पेजमा वर्तमान अध्यक्ष तथा आसन्न निर्वाचनमा पून: अध्यक्ष पदमा उम्मेद्वारी दिएका कर्मा छिरिङ शेर्पाको विरुद्धमा एउटा तथ्य सार्वजनिक भएको छ ।

‘राष्ट्रका लागि दिनरात रगतपसिना बगाउने खेलाडीहरुले राम्रो खानपान र बस्ने ठाउँको व्यवस्था गरि दिनुस् भन्दा अपमानित गरेर टिमबाट निकाल्ने, तर पदाधिकारीका लागि ८० हजार रुपैयाँको यार्सागुम्बा किनेर भुक्तानी दिने कर्मा प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेदवार शिक्षित पराजुली, आर्थिक समितिका प्रदेशसिंह राठौर उम्मेदवार अनि एन्फाको आजीवन महासचिव  रहँदै आएका जस्तो गर्ने इन्द्रमान तुलाधरले यसको जवाफ दिनु पर्ने भएको छ । सुशासनसहितको भ्रष्टाचारको 'नमुना’ लेख्दै यार्सागुम्बा किनिएको एउटा बिल सार्वजनिक गरिएको छ ।

प्राप्त बिलमा एसएनएम इन्टरनेसनल प्रालि, ज्याठासँग  प्रतिग्राम एक हजार रुपैयाँका दरले ८० ग्राम यार्सागुम्बा खरीद गरी ८० हजार रुपैया भुक्तानी गरेको प्रमाण सार्वजनिक भएपछि खेल र खेलाडी क्षेत्र मात्र नभई सारा खेल प्रेमी र सरोकारवालाहरुले प्रश्न खडा गरेको छ  ।

एकातिर खेलाडीहरुले आधारभूत आवश्यकता सुद्ध खाने पानी,पोषणयुक्त खाना र स्तरीय आवासको माग गर्दा  कार्वाहीको शिकार भएका छन् भने अर्कोतिर लाखौंको यार्सागुम्बा खरीद प्रकरण र त्यसको प्रयोगको कहाँ कस्ले र कसरी गरिंदैछ छ भन्ने चर्चा चुलिएको छ ।

विशेष सूत्रका अनुसार यार्सागुम्बा खरीद कार्य यो पहिलो पटक नभएर पटक पटक भएको बताइन्छ । यस सवालमा जानकारी लिन खोज्दा अध्यक्ष र महासचिवले एक आपसमा टाउको हालाहाल गरेर एकले अर्कोलाई देखाएर पन्छिने गरेका छन् ।

पछिल्लो पटक गत कात्तिक ५ गते ८० ग्राम यार्चागुम्बा  खरिद गरेको बिल र एन्फाबाट पास भएको भुक्तानी पत्र सार्बजनिक भएपछि नेपाली खेल जगतमा एन्फा भित्रको पछिल्लो वेथिति छरपस्ट भएको हो । एन्फाका फाइनान्स डाइरेक्टर निरञ्जन शाह अध्यक्ष शेर्पाका ज्वाई नाता पर्ने भएकोले पनि एन्फा भित्रको अनियमिततामा अध्यक्षको पक्षमा सहयोग भएको देखिन्छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरसँग यस विषयमा जिज्ञासा राख्दा उनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

 यौनवर्द्धक औषधि मानिने बहुमूल्य यार्सागुम्बा एन्फाले कसका लागि किनेको हो भन्ने कौतुहलता अहिले सामाजिक सञ्जालमा व्याप्त छ ।
एन्फाका अध्यक्ष शेर्पा, एन्फाको आजीवन महासचिव हो जस्तो गर्ने इन्द्रमान तुलाधर र वर्तमान कार्यसमितिले यसको जवाफ दिनुपर्ने सरोकारवालाहरुको भनाई छ । 
 विदेशीहरुलाई उपहार दिनको लागि खरीद गरेको भन्ने हल्का जवाफ दिएर शेर्पाले आफ्नो पक्षको बचाउ गर्दै खोजे पनि सिंगो खेल र खेलाडीहरु त्यस्तो जवाफबाट सन्तुष्ट नभएको बताउँछन् । उनीहरु कुन विदेशी पाहुनालाई कति परिणाममा कति पटक दिइयो त्यसको जवाफ चाहियो ।

फिफा र एएफसीले आर्थिक अनियमितको प्रश्न उठाउँदै आर्थिक प्रतिवन्ध लगाईएको एन्फामा नेशनल क्लव हरुले  न त पुरस्कार राशि पाएका छन् नत खेलाडीले सेवा सुविधा नै । उता जिल्ला संघहरूले बार्षिक रुपमा पाउने घरभाडा र जिल्ला लिग प्रतियोगिता वापतको रकम समेत प्राप्त गर्न सकिराखेका छैनन भने एन्फाले  करिव १३ करोड बरावरको रकम वजारमा भुक्तानी गर्ने देखिन्छ । यस्तो अवस्थामा लाखौं मुल्यको यार्चागुम्बा खरीद गरी अध्यक्ष लगायत पदाधिकारीले सिंगो खेल क्षेत्रको बद्नाम गरेको भन्दै यसको सत्य तथ्य छानविन हुनुपर्ने माग सर्वत्र सुरु भएको छ । 

आसन्न साधारणसभाको लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा एन्फा कार्य समितिभित्रकै दुई परस्पर विरोधी प्यानल चुनावी मैदानमा उत्रिएका छन्  ।