बलिउड स्टार सलमानका अनौठा सोख

बलिउड स्टार सलमानका अनौठा सोख

एजेन्सी  |  लोकरञ्जन  |  जेठ १५, २०७९

बलिउडका नायक सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूला सुपरस्टार हुन् । आफ्ना फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा सोखिन छन्- चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा ।

सलमान बाल्यकालदेखि नै यस्ता काममा चासो राख्थे, जुन कामले उनलाई आनन्द दिलाओस् । सलमानको बाल्यकालका केही सोख आफैँमा रमाइला किसिमका थिए, जुन कुरा पढ्दा जोकोही पाठक हाँस्छन् ।

आँप चोर्ने काम

सलमानका पिता सलिम खानले धेरै पटक आफ्ना ३ छोरामध्ये सबैभन्दा फटाहा सलमान नै रहेको खुलाउँदै आएका छन् । सलमान बाल्यकालमा ग्वालियरको सिन्धिया स्कुलमा पढ्थे । स्कुलबाट गर्मीको बिदा भएपछि बिदाको आनन्द लिन इन्दोर आउँदा नियमित रूपमा साइकल कुदाउँथे । साइकलमा टाढा पुगेर बगैँचाहरूमा साथीहरूसँग आँप चोर्दै खान्थे । उनी आँपसँगै जामुन पनि उत्तिकै चोर्थे ।

कुवामा पौडी

सलमानले पौडीको मामलामा महारथ नै हासिल गरिसकेका छन् । यो दाबी उनी स्वयं गर्छन् । तर, बाल्यकालमा सलमान पानीमा पौडिन निकै डराउँथे । एक दिन उनकी ठूली आमाले सलमानलाई डरबाट मुक्त राख्नका लागि शरीरमा डोरी बाँधेर कुवामा धकेलिदिएकी थिइन् । यसपछि सलमानलाई पानीमा डुब्ने डर समाप्त भएको थियो ।

स्कुटर र बलयगाडा चलाउने सोख

कलेज जीवनमा सलमानका अनौठा सोख थिए । अन्य साथीहरू बाइकमा कलेज जाँदा सलमान भने स्कुटरमा पुग्थे । गाउँमा जाँदा भने उनी गाउँ घुम्नका लागि बयलगाडा चलाउँथे ।

बाइक स्टन्टमा घाइते

बाइक चलाउने जोकोही खुला सडकमा बाइक चलाउन चाहन्छन् । तर, सलमान यस मामलामा केही फरक थिए । उनी बिग्रिएका सडकमा बाइक र जिप स्टन्ट गर्थे । एक पटक उनले स्टन्ट दिँदा बाइक लडेपछि हात नै भाँचिएको थियो, जसका कारण उनले पिता सलिमबाट गाली खानुपरेको थियो ।