डीआईजी र एआईजीको मुद्दालाई ‘लगाऊ’मा राख्न आदेश

डीआईजी र एआईजीको मुद्दालाई ‘लगाऊ’मा राख्न आदेश

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १७, २०७९

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा विवादबारे दायर रिटको सुनुवाइ गर्दै ‘लगाऊ’मा राख्न आदेश दिएको छ । 

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुँडालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । 

इजलासको यस आदेशसँगै एआईजी पोखरेलको आईजीपी हुने सम्भावना न्यून हुँदै गएको छ ।  

रिट निवेदक पोखरेलले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिनुपर्ने माग गरेका छन् । 

वर्तमान आईजी धीरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ । 

यस्तै, सिंहलगायतलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट एआईजी बनाउँदा पनि वरीयता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । 

हाल सेवा निवृत्त भइसकेका ३ डीआईजी र एआईजी पोखरेलको मुद्दालाई न्यायाधीशद्वयको इजलासले ‘लगाऊ’मा राख्न आदेश दिएको हो ।