तारा एयर दुर्घटनामा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो

तारा एयर दुर्घटनामा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १७, २०७९

तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टमार्फत मुस्ताङको कोवाङ्बाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव वाहनमा राखेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । 

यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो । दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका- २ सानुसरेबाट आज बिहान ८:३० बजे फिस्टेल एयरको हेलिकोप्टरबाट आधार स्थल कोवाङ ल्याइएको थियो । त्यहाँबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा उक्त जहाज दुर्घटनामा परेको थियो । विमानमा चालक दलका ३ जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।