बिहीबारदेखि मधेसको बजेट अधिवेशन, २१ जेठमा नीति तथा कार्यक्रम आउने

बिहीबारदेखि मधेसको बजेट अधिवेशन, २१ जेठमा नीति तथा कार्यक्रम आउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १८, २०७९

मधेस प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारदेखि सुरु हुँदै छ । बिहीबारदेखि सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार (२१ जेठ)मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । 

मधेस प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । 

उनका अनुसार २१ जेठमा बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । विगतका पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिए । 

कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले बताए । प्रदेश सरकारले आउँदो प्रदेश र प्रतिनिधिसभालाई लक्षित गरि चुनावमुखी नीति तथा कार्यक्रम ल्याउन लागिएको छ ।

आफ्नो कार्यकालको अन्तिम वर्षमा रहेका प्रदेश सरकारले चुनाव लक्षित गरी अनुदानमुखी कार्यक्रमहरू थपिन लागेको नीति तथा योजना आयोगका एक कर्मचारीले बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई स्वरोजगार बनाउन अनुदान, कृषि क्षेत्रमा रोजगार सिर्जना गर्नेलगायतका कार्यका लागि अनुदानमूलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी राख्न प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले जोड दिएका छन् ।