'माओवादीको पहिचान संकट आयो'

'माओवादीको पहिचान संकट आयो'

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १८, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको संकट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । 

उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे । 

जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागेको पनि आफूले बुझेको प्रचण्डले सुनाए । 

तर, माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको उनको दाबी छ । समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको उनले बताए ।  

‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं । समाजवादी क्रान्तिको तयारीको गर्छौं । उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं । तर, हिजो हामी जनयुद्धमा थियौँ । क्रान्तिकारी जनआन्दोनलमा थियौँ । त्याग र बलिदानको कीर्तिमान गर्थ्यौं । हामी क्रान्तिकारी रूपान्तरणका अभियन्ता थियौँ । सामाजिक क्रान्तिका लागि जस्तोसुकै बलिदानी भन्थ्यौँ र गर्थ्यौं र माओवादी जनताले सजिलै चिन्थे । माओवादी अर्कै हुन् र अरू पार्टी अर्कै हुन् । तर, त्यस्तो रहेन ।’

उनले पहिले माओवादीले जनतासँगै रहेर खेतीपातीको काम गर्ने, जनता बिरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए ।