भारतमा मोदीको आँधी

भारतमा मोदीको आँधी

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ १०, २०७६

मुम्बई । भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट पुर्‍याएको छ । 

प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२ पुर्‍याएको छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट पनि उसले जुटाउन सकेन । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए)को कुल सिट ८८ मात्र पुगेको छ । 

१३५ वर्ष पुरानो कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पारिवारिक सिट अमेठीबाट हारेका छन् । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो । यसपालि राहुलले चार लाख १२ हजार र स्मृतिले चार लाख ६७ हजार मत पाए । तर, निर्वाचनअघि नै हारको अनुमान गरिसकेका राहुलले केरलाको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे । यसरी केरलामा चार लाख ३२ हजार मतान्तरले राहुलले जिते । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।