'कुन तथ्यांकमा आधारित रहेर बजेटको आकार बढाउनुभयो ?'

'कुन तथ्यांकमा आधारित रहेर बजेटको आकार बढाउनुभयो ?'

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १९, २०७९

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् । 
गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए ।

गत मंगलबारदेखि संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ । 
सोही छलफलमा बिहीबार सहभागी हुँदै थापाले बजेटको आकार तथा स्रोत व्यवस्थापनसहितका विषयमा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका हुन् । 

उनले २० प्रतिशत बजेटको आकार वृद्धि गर्दा कुन तथ्य र तथ्यांकमा आधारित रहेर बढाइएको हो ? भन्दै प्रश्न गरेका छन् । साथै, राजस्व २० प्रतिशत बढाउने लक्ष्यप्रति प्रश्न गर्दै उनले भने,  ‘अर्थतन्त्र ७ प्रतिशत बढ्दै गर्दा राजस्व वृद्धि २० प्रतिशतभन्दा कसरी हुन्छ ?'

स्रोत व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने विषयमा जिज्ञासा राख्दै उनले २० प्रतिशत राजस्व वृद्धि गर्नेगरी कुन तथ्य, तथ्यांक, प्रमाणमा आधारित रहेर बजेटको आकार बढाइएको हो, यसबारे जानकारी गराउन अर्थमन्त्री शर्मासँग माग गरे । 

साथै, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको अर्थमन्त्री शर्मालाई धन्यवाद पनि दिएका थापाले प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गर्दा सम्बन्धित पक्षसँग संवाद नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।