एन्फा निर्वाचनः अपिलको समय आज

एन्फा निर्वाचनः अपिलको समय आज

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १९, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलका लागि समयावधि आजै (बिहीबार)देखि सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटीको बैठकले तय गर्ने जनाएको छ । 

निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटीले आज समयसीमा तोक्ने बताए ।

‘अपिलका लागि समय आजैदेखि सुरु भइसक्यो । तर, अब समयसीमा कति दिन हुन्छ भन्ने  पनि कमिटीले आजै निर्णय गर्नेछ’, भट्टराईले भने, ‘पछिल्लो कार्यतालिका प्रभावित पार्न मिल्दैन । यसका लागि धेरै दिन लिन मिल्दैन । यसबारे निर्णय पनि उहाँहरूले नै गर्नुहुनेछ ।’

आसन्न निर्वाचन तालिकाअनुसार मंगलबारसम्म दाबी-विरोधको समयसीमा थियो । दाबी-विरोधका १० उजुरी परेका थिए । यसमध्ये समितिले ४ मतदाताको मताधिकार खोसेको थियो, जसमा महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।  

यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएका ८ मध्ये ४ वटा उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको थियो ।

यससँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको ४ भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझे अब यो पक्ष पुनरावेदन समितिमा जान सक्नेछ, जसका लागि आज अपिलको समय तोकिएको छ ।