'केमिकल हालेर दुर्गन्ध हटाउँछौँ, अवरोध गरिदिनुभएन'

'केमिकल हालेर दुर्गन्ध हटाउँछौँ, अवरोध गरिदिनुभएन'

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीय बासिन्दासँग छलफल गर्न उनी त्यहाँ पुगेका थिए । 

उपप्रमुख सुनिता डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल पनि गरे । छलफलको क्रममा प्रमुख साहले तत्कालका लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताए । 

स्थानीयका कुरा सुनेपछि प्रमुख साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताए । त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा उनले जोड दिए । 

स्थानीयसँग उनले अर्को पनि प्रतिबद्धता जनाए । फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गर्ने बताए । ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि अघि सारे । यी दुवै कामका लागि कम्तीमा ४ महिनाको समय लाग्ने बताए । 

छलफलका क्रममा स्थानीयले राज्यसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा फोहोर विर्सजन गर्न नदिएको बताएका थिए । फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडोभन्दा चाँडो त्यसको व्यवस्थापन गर्न पनि प्रमुखसँग आग्रह गरे । 

सिसडोलबासीले फोहोर विर्सजनमा अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न प्रमुख साहले यसअघि बिहीबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका थिए । भेटका क्रममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान खोज्ने विषयमा छलफल भएको थियो । 

अहिले निर्माणाधीन अवस्थामा रहेको बन्चरेडाँडाको ल्याण्डफिल साइट संचालन गर्ने विषयमा पनि छलफल भएको थियो । प्रमुखमा निर्वाचित भएसँगै प्रमुख साह सिसडोल र बन्चरेडाँडाको अवलोकनका लागि पुगेका थिए । त्यसपछि आज बिहान उनी सिसडोल पुगेका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म कुनै पनि उत्सव नमनाउने उनले घोषणा गरेका छन् ।