खण्डीकरणले घट्दैछ भक्तपुरको खेतीयोग्य जमिन

खण्डीकरणले घट्दैछ भक्तपुरको खेतीयोग्य जमिन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

भक्तपुर । भक्तपुरमा जमिनको खण्डीकरण बढेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ । जग्गा प्लटिङ गरी खरिद बिक्री र आवास निर्माण गर्ने क्रमले खेतीयोग्य जमिन मासिएको हो । खेतीयोग्य जमिनमा कंक्रिट ठड्याउने र आवास क्षेत्र बनाउने क्रम बढेकाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये कसैले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएका छैनन् । भएको कृषिभूमिको उपयोग र व्यावसायिक कृषि प्रवर्द्धनका लागिसमेत स्थानीय सरकार केन्द्रित नभएको किसानको गुनासो छ । 

मानव अधिकार सञ्चार प्रतिष्ठानले दूधपाटीमा बिहीबार गरेको ‘अग्र्यानिक कृषि र स्थानीय सरकारको नीति’ विषयक अन्तक्र्रियामा सहभागी गैर–सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम बजगाईंले  भने, ‘यहाँ पर्याप्त खेतीयोग्य जमिन छ, तर हाम्रै बजारमा स्थानीय उत्पादन पर्याप्त छैन, कृषि क्षेत्र बर्सेनि निरुत्साहित बन्दैछ ।’ 

कृषि क्षेत्रमा स्थानीय सरकार र जनप्रतिनिधिको चासो कम भएको चाँगुनारायण नगरपालिकास्थित सुडालका किसान सञ्जिव दुलालले बताए । ‘बजेट थोरै राखेका छन्, त्यो पनि किसानमुखी हैन, कार्यकर्तामुखी छ,’ उनी भन्छन् । स्थानीय सरकारले वितरण गर्ने अनुदानका कार्यक्रमसमेत लक्षित किसानसम्म नपुगेको उनी बताउँछन् । आलुको पकेट क्षेत्र रहेको सुडालमा असिनाले क्षति गरेपछि सिजनको उत्पादन कुहिएर नष्ट भएको उनले बताए । ‘सुडाल र ताथलीमा लगाएको करिब ८० हेक्टर क्षेत्रको आलु खेती असिनाले नष्ट ग-यो, हामीलाई क्षतिपूर्ति कसले दिने ?,’ उनले भने । नयाँ पत्रिकाले यो समाचार प्रकाशित गरेको छ ।