सञ्जय साह 'मित्र': साइड इफेक्ट'रहित आनन्ददायी भोज्य पदार्थसहितको ‘व्यङ्ग्यम्’ निबन्ध पाठकलाई

सञ्जय साह 'मित्र': साइड इफेक्ट'रहित आनन्ददायी भोज्य पदार्थसहितको ‘व्यङ्ग्यम्’ निबन्ध पाठकलाई

रूपक अलङ्कार  |  साहित्य  |  जेठ २१, २०७९

हास्य व्यंग्य साहित्यको विधा नभएर शैली हो । साहित्य भनेकै पाल्सी भाषामा जीवन्त हुन्छ । त्यसलाई अलिक सम्मान पुर्‍याएर बक्रोक्ति भन्न सकिन्छ । हुनत बक्रोक्तिजीवितम्का नाममा संस्कृतमा काव्य शास्त्रीय ग्रन्थ नै छ । समग्र वाङ्‍मयलाई स्वभावोक्ति र बक्रोक्तिमा विभाजन गरी साहित्यलाई चाहिँ बक्रोक्तिमा समेटिएको पनि पाइन्छ । सामान्य बाटो परित्याग गरी उबडखाबड भाषिक मार्गमा हिँड्न थालेपछि साहित्यिक भाषाको सुरुवात हुन्छ । 

हास्य र व्यंग्यलाई छुट्टाछुट्टै हेर्ने हो भने नवरसमध्ये एक रसका रूपमा हास्यलाई स्मरण गर्नुपर्छ । हास्य रसको स्थायी भाव हास हो, हाँसो उठ्ने खालको भाषा, दृश्य, अभिनय, परिस्थिति वा सन्दर्भबाट हास्य रसको उद्घाटन हुन्छ । व्यंग्य भनेको अभिधा, लक्षणा र व्यञ्जना नामक ३ वटा शब्द शक्तिमध्ये तेस्रो व्यञ्‍जनाको समानार्थक शब्द हो ।

उत्कृष्ट साहित्यिक अभिव्यक्तिका लागि महत्त्वपूर्ण मानिएको व्यञ्‍जनाको भाववाची शब्द नै व्यंग्य हो । अतः प्रभावकारी साहित्य सिर्जनाका लागि व्यञ्जना वा व्यंग्य अनिवार्य शर्त हो । तर, हास्य व्यंग्य एउटै शब्दका रूपमा प्रयुक्त भएर आउँदा भने हास्य र व्यंग्यको काव्य शास्त्रीय महत्त्वमा अलिअलि खिया लागेकाे देखिन्छ । त्यसको कारण हास्य व्यंग्यमा कमेडी वा सटायरको  अनुवादात्मक असर बढी देखिनु हो । यसले गर्दा लिखित साहित्यमा अभिव्यक्तिको अन्य शैलीका तुलनामा हास्य व्यंग्यको भाउ अलिक कमजोर देखिन आएको छ । बरु संचार, चलचित्र आदिको सहजताका कारण श्रव्यदृश्य विधामा भने हास्य व्यंग्य लोकप्रिय देखिन्छ । 

नेपाली साहित्यमा हास्य व्यंग्यको निकै महत्त्वपूर्ण स्थान रहेको छ । कतिपय लेखकका रचनामा हास्य व्यंग्य छिटपुट मात्र भेटिन्छ, प्रसंगवश प्रयोग भएका त्यस्ता हास्य व्यंग्यले साहित्यिक रचनाको स्वाद शक्तिलाई प्रभावशाली बनाउने कार्य गरेका हुन्छन् । तर, कुनै लेखकले भने आफ्नो अभिव्यक्ति कौशल नै हास्य व्यंग्यमा प्रकट गर्न खोजेका हुन्छन् ।

हास्य व्यंग्यलाई साधन मात्र नभएर साध्य नै बनाउन खोज्ने साहित्यकार पनि हाम्रा माझमा छन् । त्यस्ता लेखकलाई नै हामी हास्य व्यंग्य साहित्यकार भन्छौँ । यद्यपि, हास्य व्यंग्य पनि साहित्यको एउटा साधन मात्र हो, साध्यका लागि छुट्टै भाष्यको आवश्यकता पर्न आउँछ । विशेषगरी हास्य व्यंग्यलाई प्राथमिक महत्त्व दिएर लेखिएको आकृति 'क्रियसन'द्वारा २०७८ सालमा प्रकाशित निबन्धसंग्रह ‘व्यंग्यम्’लाई यस आलेखमा सुमसुम्याउने अवसर मिलेकाले त्यतैतिर लागूँ होला । 

गरुडा नगरपालिका रौतहटका सञ्जय साह ‘मित्र’ ‘व्यंग्यम्’ निबन्धसंग्रहका सर्जक हुन् । उनका सबै कृति, सम्मान र पुरस्कारहरूको उल्लेख गर्ने हो भने यो समीक्षा श्रीमद्भागवत पुराण भन्दा पनि विशालकाय हुन्छ र सप्ताह लगाएर पढ्नुपर्ने हुन्छ । नेपाली भाषा, साहित्य र बज्जिका  भाषा, साहित्यमा सञ्जय साह 'मित्र'को बिर्सी नसक्नुको योगदान छ ।

मुनामदनलाई बज्जिका भाषामा अनुवाद गर्ने जस्तो जटिल काम मित्रबाट सम्पन्न भएको छ । नेपाली र बज्जिका भाषामा दर्जनौँ साहित्यिक रचना प्रकाशित छन् । समग्रमा उनले साहित्यमा खली खाइसकेका छन् । यहाँ त यति मात्र भनिन्छ कि उनी पेसाले शिक्षक र पत्रकार हुन् अनि सोखले साहित्यकार । पेसा एकातिर, सोख एकातिर हुनु खतरनाक कुरो हो तर शिक्षण, पत्रकारिता अनि साहित्य रचना सबै भाषाकै गर्भमा अंकुरित हुने भएकाले यहाँ चित्त बुझाउने ठाउँ भने छ । 

निबन्धसंग्रहको नामै ‘व्यंग्यम्’ भएपछि यसमा करुण रस वा शृंगार रसको शंका गर्नु आफैँलाई व्यंग्य गर्नु हो । नामले नै यो कृति व्यंग्यको कारखाना होला कि भन्ने लाग्छ । अझ पाठकले किताबको आवरण नै नजर गर्‍यो भने त आफूलाई हास्य व्यंग्यको गंगामा डुबुल्की मारिरहेको पाउँछ । यतिबेलाका साहित्य स्वास्थ्यमैत्रीका हिसाबले त्यति उपयुक्त छैनन् । खाँदा चटपटिला छन् तर खाएपछि पेट काट्ने, कब्जियत हुने तथा दीर्घ शंकाका बेला पीडा दिने खालका छन् ।

व्यंग्य उत्पादन कम्पनीका लागि हाम्रो समाज, संस्कृति, राजनीति उपयुक्त कच्चा पदार्थ हुन् । ती कच्चा पदार्थलाई आफ्नो चेतना, विश्लेषण र शैलीको मेसिनमा प्रशोधन गरी अकर्षक  प्यकमा बजारमा पठाइएको स्वादिष्ट खाद्य पदार्थ हो ‘व्यंग्यम्’ निबन्धसंग्रह । 

कतिपय साहित्य त उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्ता दीर्घ रोग जन्माउने खालका पनि छन् । त्यस्ता साहित्यले पाठकको स्वास्थ्यमाथि भैलो त खेलेकै छन् साथसाथै साहित्यको फसललाई कमजोर, निरस पनि बनाएका छन् । यस्तो विष्मयकारी अवस्थामा 'साइड इफेक्ट'रहित आनन्ददायी भोज्य पदार्थ उत्पादनमा ‘व्यंग्यम्’  निबन्धसंग्रह लेखेर मित्रले पाठकलाई गुन लगाएका छन् । 

लेखकलाई विकृतिले डस्छ र विसंगतिले पोल्छ । त्यसका विरुद्ध बन्दुक बोकेर निस्कन अलिक भएन । मनमा त्यस्तो नलाग्ने त होइन तर कार्यान्वयन गर्न कठिन छ । त्यसको विकल्पमा लेखकले गर्ने भनेको कलमबाट भडाँस पोख्ने हो । यस कार्यमा मित्रको सफलता प्रशंसनीय छ । 

‘व्यंग्यम्’ निबन्धसंग्रहमा २७ वटा निबन्धहरू संगृहीत छन् । यसमा बाह्र सत्ताइस कुरा पनि समेटिएका छन् । प्रायः व्यंग्य सर्जकहरूलाई राजनीतिक विषय मात्र रमणीय लाग्ने गरेको देखिन्छ आजकाल तर मित्रले राजनीतिका अतिरिक्त समाजका यावत् विषयलाई आफ्ना निबन्धमा समेटेका छन् ।

‘अझै स्मार्ट बन्नुभएन ?’ शीर्षकको निबन्धले स्मार्ट बन्दै जाने चक्करमा मानिसहरू झन् घनचक्करमा पर्दै गएको स्थितिलाई उधिनेको छ । स्मार्ट फोनले सबै नजिक भए पनि, सबैसित सम्बन्ध बने पनि, सबै विषय जाने पनि मानवीय संवेदनालाई भने भुत्ते बनाएको छ । अघिल्लो स्टाटसमा श्रद्धाञ्जलि लेखेर पछिल्लो स्टाटसमा 'ह्याप्पी' हुने मानिसले आफूलाई अभिनयमा मात्र पोख्त बनाइरहेको छ । स्मार्ट बन्नु आजको माग, बाध्यता र आवश्यकता भएको कुरा यहाँ व्यंग्य भएर आएको छ । 

अवैधतामाथि तार्किक निराकरण ‘अवैध कुखुराको चल्ला’ निबन्धमा देख्न पाइन्छ । समाचारको शीर्षकले गरेको सूचनाको अवैध गर्भधारणप्रति यहाँ व्यंग्य गरिएको छ । भाषिक अभिव्यक्तिको अन्योलप्रति यहाँ कटाक्ष पात भएको छ । ‘असली बाजेको खोजी’ले नेपाली राजनीतिमा मौलाएको बहुपदीय प्रवृत्तिलाई उधिनेको छ । विभिन्न पदको सिर्जना गरी मानिसलाई उक्त पदमा 'सेटल' गर्नुपर्ने संस्कृति राजनीतिबाट संक्रमण भएर समाजका सबै ठाउँमा फैलिसकेको वास्तविकता यस निबन्धको कथ्य हो । यही प्रवृत्तिलाई व्यंग्यको कोर्रा हान्न खोजिएको हो । 

‘यौटा नोटको आत्मवृत्तान्त’ एउटा मजाको निबन्ध हो । भाषिक नवीनताले यसमा रौनक त थपाएको छ । नोटले आफ्नो कथा भनेको छ । नोटले दुःख पाएको छ । वर्ग, लिंग, भूगोल र धर्मविहीन नोटले सांसारिक प्रपञ्चलाई नजिकबाट चिथोरेको छ । भाषिक एकरूपता भने बाञ्छनीय देखिन्छ । ‘ओम नमो मूर्खाय’ रसिलो निबन्ध हो । मूर्ख को हो ? को होइन ? जस्ता विषयमा निबन्ध आकर्षक तरिकाले बोलेको छ । मूर्ख भएर पनि आफू मूर्ख हुँ भन्ने थाहा नपाएका मूर्खहरू यसमा सम्मानित भएका छन् । ‘नागरिकता’ले स्थानीय निर्वाचनपछि बनेका स्थानीय सरकारले बनाएका लोक हँसाउने नियम कानुनको धज्जी उडाएको छ । जसरी हुन्छ, जनतालाई कर छेराउने उद्देश्यले बनाइएका यस्ता नियम कतिसम्म थुक्नलायक थिए भन्ने कुरा यस निबन्धले देखाएको छ । 

यसरी संग्रहभित्रका सबै निबन्धका बारेमा भन्दै गएँ भने लेखक र प्रकाशक दुवै मिलेर मलाई जहाँ भेट्यो, त्यहीँ भकुर्न सक्छन् । त्यसैले निबन्धहरूको पृथक्पृथक् विषय व्याख्याबाट अब म विश्राम लिन्छु । यति संकेत गरेपछि रसिक पाठकहरूले किताब पढेर आफ्नो धारणा पनि स्थिर गर्ने नै छन् । मुख्यतः मानवीय दुष्प्रवृत्तिहरूप्रति लेखक सञ्जय साह 'मित्र' निष्ठुर बनेका छन् । राजनीति, समाज, संस्कृति, चालचलन, क्रिया व्यवहार सारा कुरामा स्रोत मानवीय प्रवृत्ति नै हो, तिनका नकारात्मक पक्षलाई उधिनेर खेदो खन्ने काम यसमा भएको छ । 

‘व्यंग्यम्’ निबन्धसंग्रह व्यंग्यका तहमा जति पेचिलो र प्रभावकारी छ, हास्यका लागि भने अलिक खडेरीमय लाग्न सक्छ । व्यंग्य जति घोचक छ, त्यसकै तुलनामा हास्य रोचक नभएको हो कि भन्ने कुराको महसुस कतैकतै हुन सक्छ । पढ्दै जाँदा पद संगति बिग्रेर दाँतमा ढुंगा पनि लाग्न खोज्छन् । तिनलाई पन्छाउँदै अघि बढ्दा निबन्धसंग्रह मधुमय अनुभूत हुन्छ । 

नियमित, अनुशासित, वैधानिक गतिविधि मात्र देशमा भइरहेका भए मित्रले विषय पाउने थिएनन् । निर्गुण भक्ति धारमा फर्किनुपर्थ्यो उनलाई तर यो भूमि हाम्रो देश नेपाल हो । यहाँ हुनुपर्ने मात्र भयो भने आठौँ आश्चर्य हुन्छ । यहाँ हुनुपर्ने काम कम र नहुनुपर्ने काम ज्यादा हुन्छ, त्यसैले हाम्रो देश व्यंग्यका लागि उर्वर छ, मलिलो छ । व्यंग्य उत्पादन कम्पनीका लागि हाम्रो समाज, संस्कृति, राजनीति उपयुक्त कच्चा पदार्थ हुन् । ती कच्चा पदार्थलाई आफ्नो चेतना, विश्लेषण र शैलीको मेसिनमा प्रशोधन गरी अकर्षक  प्यकमा बजारमा पठाइएको स्वादिष्ट खाद्य पदार्थ हो ‘व्यंग्यम्’ निबन्धसंग्रह ।